काठमाडौं — कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले च्याउको बीउमा आत्मनिर्भर हुनेगरी सरकारले काम अघि बढाएको बताएका छन् । सोमवार राष्ट्रिय च्याउ दिवसको अवसरमा च्याउ उत्पादक किसान संघ नेपालले काठमाडौंमा आयोजना गरेको च्याउ महोत्सवमा मन्त्री अधिकारीले काभ्रेको खोपासीमा च्याउ स्रोत केन्द्रको स्थापनाका लागि डिपिआर सम्पन्न भइ कार्य अघि बढिसकेको जानकारी दिएका छन् । उनले उक्त केन्द्रको निर्माण पश्चात नेपाल गुणस्तरीय च्याउको बीउ निर्माणमा आत्मनिर्भर हुने विश्वास व्यक्त गरे ।
उनले च्याउ खेतिबाट किसानको आयआर्जन बढाउन, पोषणयुक्त खाद्यपदार्थको उपलब्धता बढाउन र निर्यातको सम्भावना बढाउन समेत टेवा पुग्ने समेत बताएका छन् । मन्त्री अधिकारीले च्याउको गुणस्तरीय बीउको समस्याको कारण उत्पादक र उत्पादकत्व कम भएको उल्लेख गर्दै स्वदेशमै च्याउको गुणस्तरीय बीउ उत्पादनतर्फ सबैको ध्यान जान जरुरी रहेको उनको भनाइ छ । उनले च्याउ खेतिको सुदृढिकरणका लागि सरकार, निजी क्षेत्र र किसानहरुको संयुक्त प्रयास आवश्यक रहेको समेत बताए । काठमाडौंको भृकुटीमण्डपमा जारी मेलामा विभिन्न ४० वटा स्टलहरु रहेका छन् । मेलाले किसानलाई च्याउखेतीतर्फ आकर्षित गर्ने विश्वास लिइएको छ ।
प्रतिक्रिया