पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगीमा अनुसन्धानको घेरामा उभ्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको प्रतिशोध देख्यो । प्रहरी अनुसन्धानको एक महिनासम्म माओवादी र रास्वपा बाहेकका दलहरु रविमाथि अनुसन्धान हुनुपर्ने पक्षमै रहे पनि मुद्दा सम्पत्ति शुद्धीकरणतर्फ मोडिएपछि धेरैको बोली पनि फेरिएको छ । यसमा कांग्रेसी तप्कासमेत समावेश भइरहेको छ ।
रवि लामिछानेको हिरासत यात्रा नेपाली कांग्रेसका लागि तीन महिनासम्म संसद अवरोध गरेको प्रतिफल थियो । जुन प्रतिफल पाउन उनीहरुले सरकार नै परिवर्तन गरेकोसम्मका आरोपले अझै छोडेको छैन । तर, उनीमाथि न्यायिक निरुपणको प्रकृया सुरु भएको दुई महिनामै जसले रविलाई हिरासतकोे हावा खुवाउन संसदमै धक्कामुक्की गरे उनीहरु नै पछिल्ला केही गतिविधिप्रति सन्तुष्ट छैनन् । फलतः कांग्रेसकै केही नेताहरु खुलेरै सरकारको विरोध र लामिछानेको समर्थन गर्न थालेका छन् । यतिमात्र नभई यो विषयमा कांग्रेसमै अहिले मत बाझिन थालेको छ ।
सभापति शेरबहादुुर देउवाविरुद्ध महाधिवेशन केन्द्रित देश दौडाहमा रहेका नेता शेखर कोइराला र उनको पक्षले सरकारको यो कदमलाई गलत भन्दै आइरहेको छ । उनीबाहेक देउवा पक्षकै नेताहरुसमेत रवि लामिछानेमाथि भइरहेको व्यवहारको विपक्षमा उभिइरहेका छन् । तर, विषय बल्झाएर लामिछानेलाई हिरासतसम्म पु¥याउने महामन्त्री गगन थापा भने चुपचाप छन् । किनकी सहकारी ठगीमा लामिछानेको दरिलो प्रमाण नभेटिँदा सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइएको भन्दै आलोचना भएपछि गगनलाई आफ्नै बोली हजम भइरहेको छैन ।
लामिछानेमाथि अनुसन्धान हुनुपर्ने पक्षमा नारा लगाएका शेखर कोइराला नै अहिले कार्यकर्तासँग साक्षात्कार गर्न देश दौडाहामा छन् । उनी र उनी पक्षका नेताहरु खुलेरै लामिछानेको पक्षमा देखिएका छन् । स्वयं शेखरले नै चितवनबाट लामिछानेको पोखरा अड्डासारका क्रममा सत्ताको आडमा उनीमाथि अन्याय भएको बताएका थिए । केही दिनअघि धनगढी पुुगेका शेखरले फेरि त्यही अभिव्यक्ति दोहो¥याए ।
यसअघि शेखर पक्षकै सांसद सुुनील शर्माले पत्रकार सम्मेलन गरेर रविमाथि सरकारले दादागिरी देखाएको भन्दै सरकारको आलोचना गरेका थिए । यतिमात्र नभई जीबी राई किन नल्याएको ? भन्दै आफ्नै दलका गृहमन्त्रीमाथिसमेत प्रश्न उठाएका थिए । कांग्रेसमा संस्थापनको विरोधमा बोल्ने डा. चन्द्र भण्डारीले समेत न्यायीक निरुपणका क्रममा भएका केही गतिविधिमाथि प्रश्न उठाएका छन् । खासगरी सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाएकोमा प्रश्न गर्दै भण्डारीले यसरी नै गए कोही पनि बाँकी नरहने र प्रतिक्रियामा रमाउनेहरुलाई हतार नगर्न सचेत गराएका छन् । लामिछानेको हकमा कानुनको बढी प्रयोग भएको उनको बुझाइ छ ।
साच्चै रविप्रति अन्याय भएर हो वा इतरपक्ष कमजोर बन्दै गएको डरले हो, कांग्रेसको शेखर पक्षले संस्थापन पक्षसँग भिड्ने महत्वपूर्ण अस्त्र नै रवि प्रकरणलाई बनाएको छ । यतिमात्र नभई देउवा पक्षकै नेताहरुसमेत उनीमाथिको अभियोजनको प्रक्रियामा प्रश्न उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीले भनेजस्तो प्रतिशोधको आरोपलाई प्रश्रय दिइरहेका छन् ।
नेताहरुमात्र नभई लामिछाने पक्राउ परेका बेला कानुन सबैमाथि बराबर हुने भन्दै लामिछानेलाई छुट दिनुपर्ने कुनै कारण नभएको बताउनेहरुसमेत अहिले उनीमाथि अत्याचार भएको भाषा बोल्न थालेका छन् । पूर्व प्रधानन्यायाधीश लगायत नागरिक समाजका अगुवाहरुले मकै पोलेर जम्मा गरेको रकम ठग्नेहरुमाथि सरकार निर्मम बन्नुपर्ने अभिव्यक्ति दिँदै आएका थिए । तर, अहिले लामिछानेलाई पाँच जिल्लाको चक्कर कटाउनेदेखि सहकारी ठगीको पर्याप्त आधार नदेखेपछि सम्पत्ति शुद्धीकरणको कसुर आकर्षित गराएकोमा सरकारको बदनियत देखिरहेका छन् । तर, कांग्रेसको विरोध भने आन्तरिक शक्ति सन्तुलतका लागि देखावटी ताण्डप मात्र भएको विश्लेषकहरु बताउँछन् ।
लामिछानेलाई संसदमै सहकारी ठग करार गर्न तम्सिएको कांग्रेस अहिले उनीमाथि कारबाहीको प्रक्रिया अघि बढाउँदा विभाजित मानसिकतामा छ । रवि ठग हुन् वा कांग्रेसको नियत खराब थियो त्यो न्यायालयले छिनोफानो गर्नेछ । तर, कांग्रेसको एक पक्ष भने रविको मायाले नभई नेतृत्वमाथि पार्टी सन्तुलनको दबाब बढाउन सार्वजनिक खपतका आधारमा बोलिरहेको देखिन्छ ।
प्रतिक्रिया