अन्तर्राष्ट्रिय

यसरी भएको थियो दक्षिण कोरियाको भयानक दुर्घटना, धावनमार्गमा चिप्लियो


दक्षिण कोरियामा आइतबार बिहान यात्रुवाहक विमान दुर्घटना हुँदा ठूलो मानवीय क्षति भएको छ । थाइल्यान्डको बैंककबाट आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको हो ।

राजनीतिक संकटको सामना गरिरहेको दक्षिण कोरियामा अर्को बज्रपात भएको छ । आइतबार बिहान १८१ यात्रु बोकेको जेजु एयरको यात्रुवाहक विमान दक्षिण कोरियाको दक्षिण पश्चिममा रहेको एउटा विमानस्थलमा दुर्घटनाग्रस्त भएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अहिलेसम्म दुर्घटनामा परी १ सय ७६ जनाको मृत्यु भएको छ । २ जनालाई जीवितै उद्धार गरी अस्पताल भर्ना गरिएको छ । बाँकी यात्रुहरूको बाच्ने आशा निकै कम रहेको प्रहरी अधिकारीहरूले बताएका छन् । एक यात्री र चालक दलका एक सदस्यलाई जीवितै उद्धार गरिएको दक्षिण कोरियाको अग्नि नियन्त्रक अधिकारीहरुले बताएका छन् । सियोलबाट करिब २८८ किलोमिटर दक्षिण पश्चिममा रहेको मुआन काउन्टीको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको विमान अवतरणका क्रममा रनवेबाट बाहिर गएर पर्खालमा ठोक्किएसँगै ठूलो विस्फोट भएको थियो । यो घटना स्थानीय समयअनुसार बिहान ९ बजेर ७ मिनेट जाँदा भएको हो ।

अवतरणका क्रममा विमान चरासँग ठोक्किएको समेत बताइएको छ । साथै अवतरणका क्रममा विमानको ल्यान्डिङ गियरसमेत नखुलेको बताइएको छ । कतिपयले चरा ठोक्किएर विमानको ल्यान्डिङ गियर बिग्रिएर नखुलेपछि दुर्घटना भएको विश्लेषण गरेका छन् । अवतरण गर्ने क्रममा विमानको ल्यान्डिङ गियरमा खराबी आएको देखिएको थियो । विमान ल्यान्डिङ गियर बिना नै अवतरण गर्न खोज्दा रनवेमा चिप्लियो र विमानस्थलको पर्खालमा ठोक्किएर विस्फोट भएसँगै आगो लागेको भिडियो फुटेजमा देखिएको छ । अजरबैजान एयरलाइन्सको विमान कजाकस्तानको अकताउ नजिकै दुर्घटना भएको केही दिनपछि यो दुर्घटना भएको हो । उक्त दुर्घटनामा विमानमा सवार ६७ जनामध्ये ३८ जनाको मृत्यु भएको थियो । प्रारम्भिक अनुसन्धानमा रूसी वायु सुरक्षाले गल्तीले विमान खसालेको सङ्केत गरिएको थियो । यसैबीच शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि अजरबैजानका नेतासँग माफी मागेका छन् । उत्तर कोरिया र दक्षिण कोरियाबीच जारी तनावबीच दुर्घटनाको पछाडि केही षड्यन्त्र हुन सक्ने आशङ्का गरिएको छ ।

यद्यपि यसको स्वतन्त्र पुष्टि हुने कुनै आधार भेटिएको छैन । विमान अवतरणको केही समय अघि एयर ट्राफिक कन्ट्रोलले विमानस्थलमा चरा ठोक्किन सक्ने चेतावनी दिएपछि विमानलाई आकाशमै होल्ड गर्न भनिएको थियो । त्यसको दुई मिनेट पछि पाइलटले मेडे भनेका थिए । लगत्तै एयर ट्राफिक कन्ट्रोलले विमानलाई विपरीत दिशाबाट अवतरणका लागि अनुमति दिएको थियो । तर ल्यान्डिङ गियर बिना नै विमानले धावनमार्गलाई छोएको र लगत्तै धावनमार्गबाट चिप्लिदै छेउको पर्खालमा ठोक्किन पुगेको थियो । पर्खालमा ठोक्किनासाथ विमानमा ठुलो धमाकासहित आगो लागेको थियो । आगलागीको वास्तविक कारणबारे अनुसन्धान भइरहेको आपतकालीन अधिकारीहरूले बताएका छन् । अनलाइन र सामाजिक सञ्जालमा दुर्घटनाको भिडियोहरू सार्वजनिक भएका छन् । विमानमा १७५ जना यात्रु र ६ जना चालक दलका सदस्य रहेका थिए । जसमा १७३ जना दक्षिण कोरिया र दुई थाइल्यान्डका नागरिक रहेका जनाइएको छ । दुर्घटनापछि दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई साँग मोक घटनास्थल पुगेका छन् । उनले उद्धार तथा बचाउ कार्यमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । थाइल्यान्डका प्रधानमन्त्री पाएटोंगटार्न चिनावाटले यस विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

दक्षिण कोरियामा यसअघि सन् २००२ मा भएको विमान दुर्घटनामा १२९ जनाको मृत्यु भएको थियो । एयर चाइनाको विमान दक्षिण कोरियाको बुसान सहर नजिकैको पहाडी क्षेत्रमा दुर्घटना भएको थियो । यस्तै सन् १९८३ मा कोरिय एयरलाइन्सको जहाजलाई आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको भन्दै तत्कालीन सोभियत जेटले गोली हानी खसालेको थियो । सो दुर्घटनामा २६९ जनाले ज्यान गुमाएका थिए । यस्तै सन् १९९७ मा कोरिय एयरको जम्बो जेट प्यासिफिक द्वीपमा दुर्घटना हुँदा २२८ जनाको मृत्यु भएको थियो । पछिल्ला वर्षहरुमा हवाई उडान सुरक्षामा राम्रो रकर्ड रहेको दक्षिण कोरियामा आइतबार बिहान भएको दुर्घटना असामान्य रहेको बीबीसीले जनाएको छ । यस्तै २० वर्ष लामो इतिहासमा जेजु एयरको यो एक मात्र भयानक दुर्घटना मानिएको छ ।