Breaking

सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन


काठमाडौँ – सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ । पारिवारिक एवं अस्पताल स्रोतका अनुसार, हृदयघातका कारण शुक्रबार राति उनको निधन भएको हो । हृदयघातपछि उनलाई थापाथलीस्थित नर्भीक अस्पतालमा लगिएको थियो ।

उनी करिब ६ वर्ष सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश थिए । २२ भदौं २०६५ मा नियुक्त भएका उनी पदावधि नथपिएपछि २९ चैत, २०७० मा अस्थाथी न्यायाधीशबाटै अवकाश भएका थिए ।

सर्वोच्च अदालतबाट अवकाश भएपछि उनी ६ वर्ष मानव अधिकार आयोगको सदस्य बने । पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा नेतृत्वको आयोगमा उनी २ कात्तिक २०७१ देखि १ कात्तिक २०७७ सम्म सदस्यको रुपमा काम गरेका थिए । त्यसपछि अवकाशयुक्त जीवन बिताइरहेका उनी न्याय र कानूनको क्षेत्रमा अध्ययन, अनुसन्धान एवं पुस्तक लेखनमा संलग्न थिए ।

२०६४ सालमा सर्वोच्च अदालत बार एशोसिएसनले गठन गरेको ‘न्यायपालिका जनआस्था अभिवृद्धि अध्ययन समिति’का सदस्य समेत रहेका उनी सहितको टोलीले त्यतिबेला अड्डाअदालतमा विचौलियाहरु हावी रहेको भनी प्रतिवेदन दिएको थियो । सर्वोच्च अदालतले २०६६ सालमा गठन गरेको विकृतीविहीन न्यायपालिका विकास अध्ययन कार्यदलमा पनि उनी सदस्य थिए ।