अन्तर्राष्ट्रिय

भारतका पुर्वप्रधानमन्त्री सिहंलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने


भारतका पूर्वप्रधानमन्त्री तथा कांग्रेसका वरिष्ठ नेता मनमोहन सिंहको निधन भएको छ । उनी सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतका प्रधानमन्त्री थिए । राजधानी नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस अस्पतालमा गएराति सवा ९ बजे उनको निधन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । लामो समयदेखि बिरामी उनी बिहीबार साँझ बेहोस भएपछि अस्पताल भर्ना गरिएको थियो ।

भारतलाई आर्थिक उदारीकरणमा लैजान महत्वपूर्ण भूमिका खेलेका सिंहको जन्म सन् १९३२ सेप्टेम्बर २६ मा भएको थियो । सिंहलाई भारतीय अर्थतन्त्रको विकासमा बलियो जग बसाएको भन्दै सुदृढ आर्थिक परिवर्तनको श्रेय दिने गरिन्छ । साधारण किसान परिवारमा जन्मिएका सिंहले अर्थशास्त्र र राजनीतिमा ठूलो उपलब्धि हासिले गरेका थिए । यसैबीच, पूर्वप्रधानमन्त्री सिंहको निधनमा भारत सरकारले सात दिनसम्म राष्ट्रिय शोक घोषणा गरेको छ । सिंहको अन्त्येष्टि राजकीय सम्मानका साथ शनिबार गर्ने निर्णय भारत सरकारले गरेको छ ।