समाचार

कोशी प्रदेशमा सवारी दुर्घटना : पाँच महिनामा १९१ को मृत्यु


काठमाडौं — कोशी प्रदेशमा पाँच महिनामा दुई हजार ९२ मोटरसाइकल दुर्घटनाका घटना भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्ममा प्रदेशभर तीन हजार चार सय ९८ वटा सवारी दुर्घटना भएका इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।

उक्त अवधिमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएका र त्यसपछि क्रमशः टेम्पो, जिप र कार दुर्घटना भएका उक्त कार्यालयका सूचना अधिकारी रामेश्वर ट्वाटीले बताए । सवारी दुर्घटनामा परी सो अवधिमा एक सय ९१ जनाको मृत्यु भएको छ भने तीन सय २७ जना गम्भीर घाइते भएका छन् ।