काठमाडौं — इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लेस्टर सिटीलाई पराजित गर्दै लिभरपुलले शीर्ष स्थानमा फराकिलो अग्रता बनाएको छ। गएराति एन्फिल्डमा भएको खेलमा लिभरपुलले लेस्टरलाई ३–१ गोलले हराएको हो। लिभरपुलको जितमा कोडी गाक्पो, कर्टिस जोन्स र मोहम्मद सलाहले गोल गरे। घरेलु मैदानमा छैटौं मिनेटमै लिभरपुलले गोल खाएको थियो। स्टेफी एल्भारो मविडिडीको पासमा जोर्डन आयुले गोल गरेका थिए।
लिभपरपुलका गाक्पोले पहिलो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा बराबरी गोल फर्काएका थिए। दोस्रो हाफको ४९ मिनेटमा कर्टिस जोन्सले गोल गरेर लिभरपुललाई अग्रता दिलाए। ८२ मिनेटमा मोहम्मद सलाहले गरेको गोल निर्णायक बनेपछि लिभरपुलले घरेलु मैदानमा जित हात पारेको हो। जितसँगै शीर्ष स्थानमा लिभरपुलले ७ अंकको अग्रता लिएको छ। उसले १७ खेलबाट ४२ अंक बनाउँदा १८ खेल खेलेको चेल्सी ३५ अंकका साथ दोस्रो स्थानमा छ।
प्रतिक्रिया