काठमाडौं — पश्चिमी वायु र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आजदेखि दुई दिन बदली, वर्षा र हिमपात हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । आज शुक्रबार अपराह्न सुदूरपश्चिमबाट सुरु हुने यो अवस्था आइतबारदेखि मात्रै क्रमिक रुपमा सुधार हुने सम्भावना छ । यसको प्रभावले काठमाडौं उपत्यकामा पनि हल्का वर्षा हुने हुनेछ ।
आज अपराह्नदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा हुने वरिष्ठ मौसमविद मीन कुमार अर्यालले जानकारी दिएका छन् ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भेगका थोरै स्थानमा हिमपातको पनि सम्भावना छ । आज राति भने सुदूरपश्चिमका केही स्थानहरु, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा हुने पूर्वानुमान छ । यो प्रणाली क्रमशः पूर्वतिर सर्दै जानेछ र काठमाडौं उपत्यकामा पनि यसको प्रभाव देखिने छ । काठमाडौं उपत्यकाको हकमा आज पानी पर्ने सम्भावना देखिँदैन । आज राति काठमाडौंमा बादल लाग्ने र शनिबार हल्का वर्षा हुने वरिष्ठ मौसमविद मीन कुमार अर्यालले जानकारी दिए ।
प्रतिक्रिया