सिरियामा पूर्वराष्ट्रपति बसर अल असदका समर्थकहरुको आक्रमणबाट १४ सुरक्षाकर्मीसहित १७ जनाको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् । सिरियाको टार्टस प्रान्तमा बुधबार पूर्वराष्ट्रपति बसर अल असद निकटका एक अधिकारीलाई गिरफ्तार गर्न गएका सुरक्षाकर्मीहरु माथि घात लगाएर (एम्बुसमा पारेर) आक्रमण भएको थियो । बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स (एसओएचआर)ले आक्रमणमा १४ सुरक्षाकर्मी र ३ जना असद समर्थक आक्रमणकारीसहित १७ जना मारिएको जनाएको छ ।
सुरक्षाकर्मीहरु असद निकट मोम्मद कन्जो हसनलाई गिरफ्तार गर्न गएका थिए । हसनमाथि सैदनया जेलका बन्दीहरुमाथि अत्याचार गरेको आरोप छ । असद परिवारको ५० वर्ष लामो सत्ता एचटिएस विद्रोहीले ढालेको थियो । एचटिएसलाई संयुक्त राष्ट्र संघ, अमेरिका, युरोपेली संघ र बेलायतले आतंकवादी संगठनको सूचीमा राखेका छन् । तर, रुस समर्थित असदको सत्ता ढलाउन अमेरिकाले त्यही विद्रोही समूह एचटिएसलाई सघाएको आरोप छ । असदको सत्ता ढलेपछि उनका समर्थक र विरोधीहरुबीच झडप हुँदै आएको छ ।
प्रतिक्रिया