सरकार हस्तान्तरण गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको दिनगन्तीपछि कांग्रेस महामन्त्री गगन थापाले सरकार नढल्ने रटान लगाइरहेका छन् । विगतमा नतिजा दिन नसक्दा आफ्नै सरकारको आलोचना गर्ने गगन अहिले सरकारको अपजसको समेत भागिदार हुन तयार भइरहेका छन् । बुढ्यौली नेतृत्वको विरोध गरेर नथाक्ने गगन किन सरकारका प्रवक्तालाई समेत टप्ने गरिका अभिव्यक्ति दिइरहेका छन् त ?
गणतन्त्र ल्याउन दरबारमा ढुंगा हान्ने पात्र गगन थापा मिडिया देख्दैमा भाग्ने पात्र होइनन् । तर, कांग्रेस–एमाले नेतृत्वको सरकार बनेयता उनलाई यतिसम्म अफ्ठ्यारो छ कि प्रतिपक्षमा हुँदा आफैँले उठाएका प्रश्नको अब सामना गर्नुभन्दा मुन्टो लुकाउनु ठिक लागिरहेको छ । एकोहोरो सरकारको प्रतिरक्षा गरेका गगनमाथि पत्रकारका प्रश्न भारी पर्न थालेका छन् । सरकार बनेको केही दिनमै कांग्रेस केन्द्रीय कार्यालयमा हिजो कीर्तेप्रसाद भन्ने केपी ओलीलाई प्रधानमन्त्री मान्नुप¥यो नि ? भन्दै प्रश्नको तीर सोझिएपछि नाजवाफ बन्नु परेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेको मुद्दा अदालतमा दर्ता भइसक्दासमेत गगनले दिने भनेको ठगीको प्रमाण माग्न छाडेको छैन । ओलीमाथि गिरीबन्धु जग्गा प्रकरणदेखि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि नक्कली भुुटानी शरणार्थी र धनराज गुरुङमाथि सहकारी ठगीको आरोपका प्रश्नमा उनीसँग जवाफ छैन । यीनै प्रश्नको भुंग्रोमा गगन फेरि एकपटक पुस पाँच गते परे । जवाफ दिने मुड नहुँदानहुँदै पनि पत्रकारले घेरेपछि जवाफ दिन बाध्य बने । जब कि चित्तबुझ्दो जवाफ दिन सकेनन् । बरु पटक–पटक प्रश्नबाट भाग्न खोजे ।
गगनका यी गतिविधिले आफ्नै परिचय गुमाएर प्रश्नसँग भाग्नुपर्ने अवस्था किन आउँदैछ ? र सरकारको बचाउ यतिसम्म किन गरिरहेका छन् ? भन्ने प्रश्न जन्माएको छ । जब कि यसअघि आफ्नै पार्टी सरकारमा रहँदा उनले सरकारमा जाने कदमकै आलोचना गर्दथे । अहिले सरकारका अपजसमा समेत काँध थाप्नुपरेको छ । कांग्रेस सरकारमा गएका बेला आफ्नै पार्टी सभापति र सरकारमा सहभागी मन्त्रीहरुको आलोचना गरेका थिए । ०८४ सम्म सरकारमै जान नहुने अडान राख्थे । अहिले ०८४ सम्म देउवालाई जसरी पनि प्रधानमन्त्री बनाइ छाड्नुपर्ने मिसनमा लागेका छन् । केही दिन अघिसम्म प्रधानमन्त्री ओलीको दिन नै सरकार हस्तान्तरणका दिन गनेर बित्थे । अहिले त्यसैगरी सरकार नढल्ने प्रस्टीकरण दिएर गगनका दिन कटिरहेका छन् ।
बरु सरकार विरोधी आवाजको खण्डन गर्न नसकेको भन्दै प्रधानमन्त्री ओली सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङसँग सन्तुष्ट छैनन् । तर, गगनले अघोषित प्रवक्ताका रुपमा त्यो ड्युटी यसरी निभाएका छन् कि उनीसँग गुनासो गर्ने कुनै ठाउँ छैन । सरकारले आशा अनुसारको काम गर्न नसकेको स्वीकार गरे पनि पहिलेजस्तो डेलिभरी दिन नसक्ने भए कांग्रेसले सरकार छाड्नुपर्छ भन्न सक्ने सामथ्र्य गगनसँग छैन । बरु संविधान संशोधनको प्रक्रिया सुरु भइसकेको भन्दै सरकार लामै समय टिक्ने सुनिश्चितता दिलाउन थालेका छन् ।
पाँच महिना अघिसम्म पनि पार्टी सभापति देउवासँग गगनको एक्लाएक्लै लडाईं थियो । फलतः उनी आफ्नै पार्टी सहभागी भएको सरकारकोसमेत विरोध गर्थे । अहिले उनै देउवालाई प्रधामन्त्रीको आशनमा पु¥याएर देउवाकै उत्तराधिकारी बन्नु छ । त्यसका लागि पहिले ओलीको कुर्सी टिकाइदिनु पर्नेछ । अर्थात, पूर्व प्रधानमन्त्रीको क्लबबाट देशलाई बाहिर निकाल्नुुपर्छ भन्ने गगन नै पूर्वप्रधानमन्त्रीकै क्लबको प्रवक्ता नभई आफ्नो राजनीति अघि नबढ्ने निश्कर्षमा पुगेका छन् ।
हुन त कांग्रेसमा उत्तराधिकारीको लडाईं अझै सकिएको छैन । शेखर कोइरालासँग हाकाहाकी विद्रोह गरेका गगनलाई देउवा नफकाइ सुख छैन । तर, देउवाले उत्तराधिकारीको स्पष्ट संकेत नदिँदा कांग्रेसमा उकुसमुकुस छ । त्यही उकुसमुकुसको भुंग्रोमा परेका गगनले सरकारका गलत कामको पनि अपजस बोक्न तयार भएको हुनपर्छ । कांग्रेस–एमालेप्रति वितृष्णा भए पनि पूर्वप्रधानमन्त्रीको क्लबलाई गगनले फ्लप गराउने आश एक तप्कामा अझै बाँकी छ । तर, विद्रोही स्वभावका गगन गलत काममा पनि नतमस्तक हुँदा उनले आफ्नै विगत र बाँकी रहेको साखसमेत धुलीसात पारिरहेका छन् ।
प्रतिक्रिया