बङ्गलादेशमा विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत गरेपछि गत अगस्ट ५ मा देश छाडेर भारत पुगेकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन बंगलादेश सरकारले भारतलाई औपचारिक आग्रह गरेको छ । भारत सरकारलाई कुटनीतिक नोटमार्फत हसिनालाई स्वदेश फिर्ता पठाउन बंगलादेशले आग्रह गरेको हो । योसँगै भारत निर्वासनमा रहेकी हसिनाको भविष्यलाई लिएरसमेत चर्चा चुलिएको छ ।
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना हाल भारत निर्वासनमा छिन् । विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत गरेपछि भारतको शरणमा पुुगेकी हसिनालाई बंगलादेश फर्काउन विभिन्न पहलहरु भइरहेका छन् । बङ्गलादेशमा करिब २० वर्ष लामो शासन गरेकी हसिनालाई विद्यार्थी आन्दोलनले सत्ताबाट मात्र हटाएन कि देशै छाडेर भाग्न बाध्य बनाएको थियो । अहिले भारत निर्वासनमा रहेकी हसिनालाई सुपुर्दगी गर्न बंगलादेशले नयाँ दिल्लीलाई लिखित आग्रह गरेको छ ।
बंगलादेशको अन्तरिम सरकारले भारतीय विदेश मन्त्रालयलाई कुटनीतिक नोट पठाउँदै ७७ वर्षीया हसिनालाई ढाका फिर्ता पठाउन औपचारिक आग्रह गरेको हो । सोमबार अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार मोहम्मद तौहिद हुसैनले न्यायिक प्रक्रियाका लागि हसिनालाई बंगलादेश फिर्ता पठाउन कुटनीतिक नोटमार्फत भारतलाई आग्रह गरेका हुन् ।
बंगलादेश र भारतबीच सुपुर्दगी सन्धी रहेकाले सोको प्रावधान अन्तर्गत हसिनालाई फिर्ता ल्याउन सकिने हुसैनको भनाइ छ । दुई साताअघि मात्रै भारतीय विदेश सचिव विक्रम मिश्रीले बंगलादेशको भ्रमण गरी अन्तरिम सरकार प्रमुख मोहम्मद यूनसकासाथै विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरुसँग भेट गरेका थिए । त्यतिखेर युनुसको सचिवालयले एक विज्ञप्ति जारी गर्दै भारतीय विदेश सचिसँगको भेटमा हसिनाको भारत बसाईंका सम्बन्धमा पनि छलफल भएको जनाएको थियो । विद्यार्थी नेतृत्वको आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री हसिना यसैवर्षको अगस्ट ५ मा देशबाट भागेर भारत पुुगेकी थिइन् ।
भारत पुगेकी उनी तेस्रो मुलुक जान सक्ने अड्लबाजीका बीच भारतमै शरण लिएर निर्वासित जीवन बिताइरहेकी छन् । ढाकास्थित अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरण आईसीटीले मानवताविरुद्धको अपराध र नरसंहार गरेको अभियोगमा हसिनाविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी गरिसकेको छ भने द हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीमा पनि यससम्बन्धी मुद्दा विचाराधीन रहेको छ । यसका अतिरिक्त हसिना र उनका छोराविरुद्ध करोडौं डलरको सम्पत्ति शुद्धीकरण र थुप्रै परियोजनामा भ्रष्टाचार गरेको आरोपमा अनुसन्धान भइरहेका छन् ।
देश छाडेर भागेकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध देशभित्र भ्रष्टाचार लगायत थुप्रै आरोपमा मुद्दा चलिरहेको अवस्थामा बंगलादेशले आफूलाई सम्पन भारतलाई आग्रह गरेको हो । बंगलादेशले दुई मुलुकबीचको भएको सुपुर्दगी सन्धि मातहत रही हसिनालाई फिर्ता पठाउन आग्रह गरेको छ । भारत र बंगलादेशबीच सन् २०१३ जनवरी २८ मा सुपुर्दगी सन्धि भएको थियो । तत्कालीन भारतका गृहमन्त्री सुशील कुमार शिन्दे र बंगलादेशका गृहमन्त्री मोहिउद्दीन खान आलमगीरले ढाकामा यो सन्धिमा हस्ताक्षर गरेका थिए ।
तर, सन्धिको धारा ६ मा कुनै व्यक्तिलाई सुपुर्दगी गर्न नसकिने अवस्थाहरू पनि उल्लेख गरिएको छ । यो सन्धि राजनीतिक अपराधको अभियोगमा लागु नहुने तथा हत्या र अन्य गम्भीर अपराधका अभियोग लागेका व्यक्तिहरू मात्र यो सन्धिको दायरामा आउने स्पष्ट उल्लेख छ । यस्तो अवस्थामा भारतले हसिनालाई बंगलादेश पठाउछ या पठाउन अस्वीकार गर्छ ?
अहिले नै अनुमान गर्न मुस्किल छ । हसिनालाई शरण दिएको भारतले बंगलादेशको अन्तरिम सरकारले गरेको आग्रहमा कस्तो प्रतिक्रिया जनाउँछ ? त्यो भने हेर्न बाँकी छ । साथै भारतले हसिनालाई सुपुर्दगी गरेको खण्डमा हसिनाको आगामी भविष्य के हुन्छ ? भन्ने चासो पनि बढिरहेको छ ।
उनी स्वदेश फर्किइन् भने पुनः राजनीतिक जीवनमा सक्रिय हुने सम्भावना कति छ ? यो विषय पनि उठिरहेको छ । तर उनीमाथि लागेका कयौँ आरोप तथा विचाराधीन मुद्दाका कारण उनी पक्राउ पर्ने निश्चित जस्तै भएकाले बंगलादेश फर्किनु त्यति सहज भने देखिँदैन । यद्यपि, भारतले सुपुर्दगी गर्न चाहेको अवस्थामा भने स्वदेश फर्किनु र आफूमाथि लागेका आरोप तथा मुद्दाको सामना गर्नुको विकल्प हसिनाको अगाडि देखिँदैन । यीसबै कुरामा अब भारतले गर्ने निर्णयमा निर्भर हुने देखिन्छ ।
प्रतिक्रिया