गत मंसिर २२ गते विदेश भ्रमणमा निस्किएकी परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवा १७ औँ दिनमा स्वदेश फर्किएकी छन् । नेदरल्यान्ड्स, जर्मनी, बेल्जियम हुँदै दिल्ली पुगेर भ्रमणको बिट मार्दै सोमबार उनी स्वदेश फर्किएकी हुन् । परराष्ट्रमन्त्रीको हैसियतमा गत भदौमा भारत पुग्दा प्रधानमन्त्री सरह सम्मान पाएकी आरजुले दोस्रो पटक चार–चार दिन दिल्लीमा बिताइन् । तर यो पटक भने उनले अघिल्लो भ्रमणमा जस्तो भारतको आतिथ्यता पाइनन् । यसले भारत जान खुट्टो उचालेर बसेका प्रधानमन्त्री केपी शर्मा ओलीको दिल्ली भ्रमणसमेत थप अनिश्चित बनेको छ ।
गत मंसिर २२ गते नेदरल्यान्ड्स प्रस्थान गरेकी परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवा झन्डै दुई साता लामो युरोप भ्रमण सक्काएर विहीवार जर्मनीको बर्लिनबाट सिधै छिमेकी मुलुक भारतको नयाँदिल्ली ओर्लिइन् । परराष्ट्रमन्त्री राणाको दिल्ली दौडलाई प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको टुंगो लगाउने कडीको रुपमा हेरिएको थियो । मंसिर १७ देखि २० गतेसम्म उत्तरी छिमेकी चीनको भ्रमण गरेका प्रधानमन्त्री ओलीले स्वदेश फर्किनासाथ विमानस्थलमै अब भारततिरको पनि भ्रमण हुने बताएका थिए । उनले भारत भ्रमणबारे छिट्टै एरेन्ज हुन्छ भनेका थिए । त्यसको केही दिनपछि गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री ओलीले सोही कुरा दोहो¥याएका थिए । उनले चाँडै भारत भ्रमणमा जाने बताएका थिए ।
परराष्ट्रमन्त्री राणा भारत जाने चर्चासँगै पुसको अन्तिम साता अंग्रेजी महिनाको जनवरी पहिलो साता भारत भ्रमण तय हुने अड्कलसमेत गरिएको थियो । तर, बिडम्बना प्रधानमन्त्री ओलीको भारत भ्रमण मिलाउन युरोपबाट सिधै नयाँ दिल्ली हानिएकी परराष्ट्रमन्त्री आरजुले चार–चार दिन दिल्लीमा बिताए पनि भारतको आतिथ्यतासमेत पाउन सकिनन् । परराष्ट्रमन्त्रीको हेसियतमा दोस्रो पटक दिल्ली पुगेकी उनले कुनै औपचारिक भेटघाटपनि गरिनन् ।
अझ स्पष्ट रुपमा भन्ने हो भने भारतीय पक्षले आरजुलाई भेट नै दिएन । भारतीय पक्षसँग भेटघाट गर्न राणाको अथक प्रयास असफल भयो । राणाले मिलेसम्म प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह नभए पनि विदेशमन्त्री एस.जयशंकर, प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश मन्त्रालयका सचिव विक्रम मिश्री लगायतसँग भेट्ने प्रयत्न गरेको बुझिएको छ । तर,उनीहरु सबैले समय अभाव रहेको भन्दै राणालाई भेट नदिएको बुझिएको छ । चीनसँग सम्झौता भएको बीआरआईको सन्देश बोकेर दिल्ली पुगेकी मन्त्री राणाले प्रधानमन्त्री ओलीको भारत भ्रमणको तिथि मिति तय गर्ने विश्वास गरिएको थियो । भारतीय समकक्षी एस. जयशंकरसँग भेटेर यही पुस २५ गतेदेखि प्रधानमन्त्री ओलीको भारत भ्रमणको तालिका मिलाउने दाबी गरिएको थियो ।
नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव पनि दिल्लीमै हुनुले थप आशा जगाएको थियो । गत भदौमा पहिलो पटक परराष्ट्रमन्त्रीको हैसियतमा भारत पुग्दा प्रधानमन्त्री सरहकै सम्मान पाएकी राणाले प्रधानमन्त्री ओलीको भ्रमणको साइत सहजै मिलाउने अपेक्षा गरिनु स्वभाविक थियो । भदौको भ्रमणमा समकक्षीसँग मात्र भेटवार्ता गर्ने योजनासहित दिल्ली पुगे पनि आफ्नो निकटताको फाइदा उठाएरै अनपेक्षित ढंगले प्रधानमन्त्री मोदीसँग दुईपक्षीय भेटवार्ता गरेकी थिइन् । राणाप्रति भारतले देखाएको सम्मानका कारण यो पटकको भ्रमणमा सबैसँग भेटेर प्रधानमन्त्री ओलीको भ्रमणको मिति तय गरेर फर्किने रणनीतिसहित उनी दिल्ली पुगेकी थिइन् । तर यो पटक आरजुको रणनीति फेल भयो । भारतीय पक्षले दिल्लीमा आरजुको उपस्थितिलाई बेवास्ता गरेपछि लज्जित अनुहारका साथ स्वदेश फर्किएकी उनले आफ्नो भ्रमणलाई स्वास्थ्य उपचारसँग जोडेकी छन् ।
भारत बसाईंका क्रममा उनले नयाँ दिल्लीमा आयोजित भारत नेपाल आर्थिक सम्मेलन (इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स) लाई सम्बोधन गरेकी थिइन् । राणाले नेपालले भारतबाट थप हवाई रुटको अपेक्षा गरेको बताएकी थिइन् । यसबाहेक उनी कुनै औपचारिक कार्यक्रममा सहभागी भइनन् । बरु, भाजपाका विदेश विभाग प्रमुख विजय चौथाईवालेसँग पारिवारिक भेट गरेर स्वदेश फर्किन् । पहिलो पटक परराष्ट्रमन्त्रीको हैसियतमा दिल्ली पुगेकी राणालाई भारतले दिएको उच्च महत्व प्रधानमन्त्री ओलीप्रतिको असन्तुष्टिका रुपमा गरिएको विश्लेषणलाई यसपटक थप प्रश्रय मिलेको छ ।
राजदूत नियुक्तिमा ढिलाइका साथै ओली र भारतको चेपुवामा आरजु परेको बुझ्न सकिन्छ । आरजुको प्रयास विफल भएसँगै प्रधानमन्त्री ओलीको भारत भ्रमण थप अन्योल बनेको छ । दुई तिहाइ बहुमतको सरकार गठन भए पनि भारत उत्साहित नदेखिँदा तत्काल ओलीलाई स्वागत गर्ने पक्षमा नरहेको बुझ्न कठिन छैन ।।
प्रतिक्रिया