राजनीति

रवि जेल जाने पक्का, यस्ता छन् ६ आधार


क्लिन चिट पाएको दाबीका बीच पूर्वगृहमन्त्री रवि लामिछानेको मुद्दा अदालत पुुगेको छ । ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा दायर भएको अभियोजन पत्रको ४५ पेजमा रविसँग जोडिएको हिनामिनाको फेहरिस्त उल्लेख छ । अझै चार जिल्लामा उनीमाथि अनुसन्धानको प्रक्रिया चलिरहेको छ । कास्की अदालतमा दायर गरिएको मुद्दामा लामिछाने फस्न सक्ने आधार के के हुन् त ?

झण्डै एक वर्षदेखिका प्रश्न र ९० दिनको पूरक अनुसन्धान सकाएर पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दा अदालत प्रवेश गरेको छ । दोस्रो पटक गृहमन्त्री भएका बेला कुनै प्रमाण नरहेको भन्दै महान्यायाधिवक्ताबाट क्लिन चिट पाएको भनेर देखाउँदै हिँडेका लामिछानेमाथि ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा थुनछेक बहस सुरु भएको छ । उनीमाथि ठगीमा ३ करोड ३७ लाख ६५ हजार, सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार ७ सय ५ रुपैयाँ बिगो कायम गरी १५ वर्षसम्म कैद सजायको माग गरिएको छ । ४२७ पेजको प्रतिवेदनको ४५ पेजमा रविसँग जोडिएको हिनामिनाको फेहरिस्त, ६ पृष्ठमा बयान र १२ पृष्ठमा सम्पत्ति शुद्धीकरणको फेहरिस्त उल्लेख छ ।
रवि फस्न सक्ने बलिया आधारहरु ः

१. सूर्यदर्शन सहकारीबाट रवि लामिछानेकै नाममा १४.७५ प्रतिशत ब्याजदर हुनेगरी कर्जा ५०–५० लाख गरी एक करोड ऋण प्रवाह भएको देखिएको छ । योसहित अरु कर्जा तिर्न लामिछाने स्वयंले हस्ताक्षर गरेर चेक काटेकाले उनले जानीबुझी गैरकानुनी रकम स्थानान्तरण गरेको पुष्टि भएको छ ।
२. सहकारीबाट आएको रकमबारे अनविज्ञ रहेको बयान दिएका रविले नै सहकारीहरुको किस्ता तिर्न ४५ वटा चेक काटेको र सूर्यदर्शनको किस्ता एक वर्षसम्म हरेक महिना उनैकै हस्ताक्षरको चेकमार्फत तिरेको प्रमाण भेटिएको छ ।

३. लामिछाने फस्न सक्ने बलियो आधार हो, छविलाल जोशीको बयान । उनले ग्यालेक्सी फोरके टिभी खोल्ने लगानीको प्रबन्ध गर्न रवि र छवी सँगै भौतारिएको बताएका छन् । अर्थात जीबीसँगै लगानीको जोहो गर्न भौतारिएका रविले थाहा छैन भन्नु बदनियत हुने प्रहरीको निष्कर्ष छ । बचत अपचलन गरी प्राप्त भएको रकम गोर्खा मिडिया सञ्चालन गरी रविलेसमेत लाभ लिएको अभियोजनमा उल्लेख छ ।
४. प्रहरीको प्रतिवेदनबाट अर्को नयाँ तथ्य पनि खुलेको छ । जहाँ रविले सहकारीबाट अपचलन भई आएको रकम गोर्खा मिडियाको चेकमार्फत पत्नी निकिता पौडेललाई ३५ लाख र उनी आबद्ध गोपीकृष्ण मुभिजको नाममा दुई पटक गरेर ९१ लाख दिएका छन् ।

५. रवि लामिछानेले गोर्खा मिडिया नेटवर्कमा आबद्ध भएर शेयर प्राप्त गर्न सुरूआतमा बुझाएको ७५ लाख रकम नै सूर्यदर्शन सहकारीको रकम भएको दाबी गरिएको छ । सूर्यदर्शन सहकारीबाट २ करोड रकम जीबी राईको स्ट्याण्डर्ड चाटर्ड बैंकको खातामा ट्रान्सफर गरिएको र त्यसको ३ दिनपछि रवि लामिछानेको खातामा ७५ लाख ट्रान्सफर गरिएको अभियोगपत्रमा उल्लेख छ । त्यसको ठीक भोलिपल्ट रवि लामिछानेले सो ७५ लाख गोर्खा मिडिया नेटवर्कमा पठाएको देखिन्छ ।

६. लामिछानेले गोर्खा मिडिया छाडेपछि समेत संस्थाको नाममा चेक काटेका छन् । २०७९ असार ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी खोलेका उनले असार १२ मा गोर्खा मिडियाको खाताबाट ७१ लाखको चेक काटेका छन् । त्यसमध्ये आफ्नै नाममा पनि ९ लाख ८५ हजार ७४९ को चेक काटेर रकम लिएको भेटिएको छ । यी आधारहरु हेर्दा रवि उम्किने ठाउँ नदेखिने कानुनका जानकारहरु बताउँछन् ।

योसँगै देशभरबाट क्लिन चिट पाएको दाबी गरेका लामिछानेमाथि पोखराबाट मुद्दाको श्रृंखला सुरु भएको छ । किन कि रूपन्देही, चितवन, काठमाडौं र पर्सामा पनि उनीमाथि मुद्दा चल्नेछ । योसँगै पूर्वगृहमन्त्रीसमेत रहेका रवि र उनी आबद्ध राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ मोडमा उभिएको छ । अब लामिछाने कारागार चलान हुने वा छुट्ने भन्ने विषय थुनछेक बहसपछि टुंगो लाग्नेछ ।