ताइवानलाई अमेरिकाले सैन्य सहयोग गरेपछि चीन भड्किएको छ । ताइवान आफ्नो भूभाग भएको दाबी गर्दै आएको चीन अमेरिकाले सैन्य सहयोग गरेपछि भड्किएको हो । अमेरिकी सहयोग ‘एक चीन’ नीतिविरुद्धमा रहेको भन्दै आगोसँग नखेल्न उसले चेतावनीसमेत दिएको छ ।
विश्वको शक्तिशाली राष्ट्रहरु चीन र अमेरिका सम्बन्ध बेलाबेलामा चर्किने गरेको छ । चीनले आफ्नो भूमिको रुपमा दाबी गर्दै आएको ताइवानको विषयलाई लिएर अमेरिकासँग बेइजिङले खरो आलोचना गर्दै आएको छ । जसका कारण दुई मुलुकबीच वाक युद्ध उत्कर्षमा पुग्ने गरेका घटना पुरानै हुन् । यसैक्रममा पछिल्लो समय अमेरिकाले ताइवानलाई सैन्य सहयोग दिने सहमति गरेसँगै चीन थप भड्किएको छ भने दुई देशबीचको सम्बन्ध चिसिने सम्भावना बढेर गएको छ ।
चीन–अमेरिकाबीच व्यापार युद्धकै अवस्था रहँदा अमेरिकाले ताइवानसँग गरेको सैन्य सहयोग तथा हतियार बिक्रीको सहमतिलाई लिएर बेइजिङले कडा शब्दमा आलोचना गरेको छ । अमेरिकी सहयोग ‘एक चीन’ नीतिविरुद्ध रहेको भन्दै आगोसँग नखेल्न चेतावनीसमेत दिएको छ । शुक्रबार अमेरिकाले ताइवानलाई ५७ करोड डलरभन्दा बढीको सैन्य सहायता र साढे २९ करोड डलर बराबरको हतियार बिक्रीको सहमति गरेको थियो ।
यसपछि चिनियाँ विदेश मन्त्रालय र स्टेट काउन्सिलको ताइवान मामिला कार्यालयले अमेरिकाको चर्को आलोचना गरेको छ । चिनियाँ रक्षा मन्त्रालयले पनि ताइवानलाई हतियार बेच्ने र आर्थिक मद्दत गर्ने निर्णयको निन्दा गरेको छ । चिनियाँ रक्षा मन्त्रालयले ताइवानलाई सहयोग गर्ने अमेरिकी घोषणाको आलोचना गर्दै यस्तो निर्णय स्वीकार्य नहुने बताएको हो । तर, अमेरिकाले ताइवानलाई यसअघि पनि हतियार बेच्दै आएको छ । अमेरिकाले सबैभन्दा बढी हतियार बेच्ने देशको चौथो नम्बरमा ताइवान पर्छ ।
अमेरिकासँग हतियार खरिद गर्ने पहिलो मुलुकको सूचीमा साउद अरब पर्दछ । यस्तै इजरायल दोस्रो, जापान तेस्रो र चौथो नम्बरमा ताइवान पर्दछ । चीनले ताइवानमा दुई वर्षयता आफ्नो सक्रियता बढाएको छ भने पटकपटक ताइवानको जल तथा हवाई क्षेत्रमा सैन्य अभ्यास गर्दै आएको छ । चीनले ताइवानलाई आफ्नो हिस्साको रुपमा हेर्दै आएको छ । डब्ल्यूएचओमा संयुक्त राष्ट्रसंघको सदस्य भएका मुलुकले मात्र सामेल हुन पाउँछन् । ताइवानले भने स्वतन्त्र र सार्वभौम मुलुकको रुपमा आफूलाई प्रस्तुत गर्दै आएको छ । चीनले आफ्नो एक चीन नीति अन्तर्गत ताइवानलाई आफ्नो एउटा हिस्साको रुपमा लिन आफूसँग दौत्य सम्बन्ध कायम रहेका मुलुकलाई आग्रह गर्दै आएको छ । तर, अमेरिकाले भने उक्त नीति अस्वीकार गर्दै आएको छ ।
जसले दुई मुलुकको सम्बन्ध थप चिसिँदै गएको छ । ताइवान मामिलामा अमेरिकाले राख्दै आएको चासो प्रति चीनले सधैँ कडा प्रतिवाद गर्दै आएको छ । जसले गर्दा ताइवानमाथि चीनले हस्तक्षेपकारी नीति अवलम्बन गर्दा ताइवानकै कारण अमेरिका र चीन आसनेसामने हुने गरेका छन् । बेलाबेला दुई मुलुकबीच बढ्दो दूरीका कारण युद्ध चर्किन सक्नेसम्मका सम्भावना देखा पर्ने गरेका छन् । यस्तै, अमेरिकामा केही समयअघि सम्पन्न निर्वाचनबाट डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएका छन् । चीनप्रति कडा टिप्पणी गर्दै आएका र चीन विरोधी छवि बनाएका ट्रम्पको ह्वाइट हाउस पुनरागमनसँगै चीनसँगको सम्बन्ध थप बिग्रिन सक्ने आकलनसमेत भइरहेको छ । यस्तो अवस्थामा अमेरिकाले ताइवानलाई सैन्य सहयोग तथा हतियार बिक्रीका लागि अनुमति दिनुले विशेष अर्थ राख्ने विश्लेषणसमेत भइरहेको छ ।
प्रतिक्रिया