Breaking

दुई मुद्दामा रवि लामिछानेसँग ३१ करोड रूपैयाँ बिगो दावी,छविलालको ७४ करोड जफत गर्न माग


काठमाडौं — सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनीविरुद्ध सम्पत्ति शुद्धिकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ र सहकारी ठगीतर्फ ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो दावीसहित मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले जनाएको छ । रास्वपा सभापति लामिछानेसहित उक्त सहकारी ठगी प्रकरणमा जोडिएका रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध सम्पत्ति शुद्धिकरणमा आज मुद्दा दायर गरिएको हो।

प्रतिवादी खनालसँग १४ करोड ३० लाख ९१ हजार ९११ रुपैयाँ, जोशीसँग ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ, पछाइसँग २४ करोड ६७ लाख ७ हजार २४ रुपैयाँ बिगो दावी गरिको सहायक जिल्ला न्यायाधिवक्ता शर्माले जानकारी दिए। सहकारी ठगीमा जोशीविरुद्ध ५ करोड २६ लाख ६५ हजार रुपैयाँ र दीपेश पुनसँग २ करोड १४ लाख ८ हजार ८४३ रुपैयाँ बिगो माग गरिएको छ। सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता भएको सरकारी वकिलको कार्यालयले जनाएको छ। लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा पनि आजै मुद्दा दर्ता भएको छ। सहकारी ठगी मुद्दामा पनि लामिछानेसहित ३१ जनाविरुद्ध मुद्दा दायर भएको हो।