काठमाडौं —नेपाल–भारत सीमा नदी महाकालीको नेपालतर्फको धार परिवर्तन गर्दै गरेको भारतीय एस्क्याभेटरका चालकलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । दार्चुला सदरमुकाम नजिक महाकाली नगरपालिका– ५ स्थित वीरेन्द्र वन नजिक धार परिवर्तन गर्दै गरेको भारतीय एस्क्याभेटरका चालकलाई स्थानीयले नियन्त्रणमा लिएका हुन् ।
आइतबार बिहान साढे ११ बजे अनुमतिविना भारतीय ठेकेदार कम्पनीको एस्क्याभेटर महाकाली नदी तरेर नेपालतर्फ आएको थियो । स्थानीयले मेसिनसहित चालकलाई नियन्त्रणमा लिएपछि प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारी नदी किनारमा पुगेका छन् ।
प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले घटना सम्बन्धमा सोधपुछ भइरहेको जानकारी दिएका छन् । महाकाली नगरपालिका दार्चुला मेयर नरसिंह चैसिरले भारतले महाकाली पारि तटबन्ध गरिरहेको हुँदा पानीको धार परिवर्तन गर्न नेपालतर्फ एस्क्याभेटर ल्याएको हुनसक्ने बताए । विनासमन्वय नेपालतर्फ भारतीय स्क्याभेटर ल्याउने कुरा गलत रहेको उनले बताए । यसअघिको छलफलमा दुई देशले एक–अर्कालाई असर नगर्ने गरी निर्माण गर्ने समझदारी भएको भन्दै उनले समझदारीविपरीत नेपालतर्फ एस्क्याभेटर ल्याएको बताए ।
प्रतिक्रिया