काठमाडौं — जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि २७ करोड ८९ लाख रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाएको छ । साथै उनकी पत्नी निकिता पौडेललाई पनि मुद्दा दायर गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीकी सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्माले रविविरुद्ध २७ करोड ८९ लाख रुपैयाँ बिगो मागदाबी भएपनि निकिताको हकमा लागेको आरोपबारे केही बताइनन् ।
निकितासहित पाँच जनालाई उनीहरूको साथमा रहेको केही सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको हो । जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीकी सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्माले पाँच जनामाथि जफत प्रयोजनका लागि मुद्दा चलाइएको बताइन् । त्यस्ता आरोपितहरूको साथमा रहेको सम्पत्ति अपराधबाट आर्जन भएको ठहरिएमा अभियोगमा मागदाबी भएअनुसारको सम्पत्ति मात्रै जफत हुन्छ, तर अरु दण्डसजाय हुँदैन । त्यसरी प्रतिवादी बनाइएकाहरुमा पद्मा बन्जाडे, रोचक जोशी, राधा पछाईं र गीता पछाईंको सम्पत्ति जफत गर्नुपर्ने मागदाबी गर्दै प्रतिवादी बनाइएको हो ।
प्रतिक्रिया