अन्तर्राष्ट्रिय

ट्रम्पसँग पुटिन र जेलेन्स्कीको हारगुहार, युद्ध अन्त्य होला ?


सन् २०२२ को फेब्रुअरी २४ देखि सुरु भएको रुस युक्रेन अझै युद्ध रोकिएको छैन । तर युद्ध सुरु भएको तीन वर्ष पुग्नै लाग्दा युद्धरत मुलुकहरु युद्धदेखि वाक्क हुँदै गएको देखिन्छ । युद्धविराम गरेर आफू हारेको सन्देश दिन हिचकिचाई रहेका रुस–युक्रेनले पछिल्लो समय मध्यस्थता खोजी गर्न थालेका छन् ।

सन् २०२२ को फेब्रुु्रअरी २४ देखि रुससँगको युद्ध थेगिरहेको युक्रेनले मंगलबार मस्को झस्काउने हमला ग¥यो । परमाणु, जैविक र रासायनिक सुरक्षा फौजका प्रमुख रुसी वरिष्ठ शैन्य अधिकारी लेफ्टिनन्ट जेनरल इगोर किरिलोफको आफ्नै निवासमा स्कुटर बम विस्फोट गराएर हत्या ग¥यो । मस्कोको हवाई प्रतिरक्षा प्रणाली नै नाघेर गरिएको आक्रमणलाई युक्रेनले रणनीतिक हमाला भनेको छ । यसपछि रुसी सुरक्षा निकायले यसको बदला लिने र युक्रेनले ठुलो मुल्य चुकाउनु पर्ने अभिव्यक्ति दिएका थिए । उक्त घटना भएको तीन दिनपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस युक्रेन युद्धबारे मुख खोलेका छन् । विहीवार भएको वार्षिक पत्रकार सम्मेलनमा पुटिनले वार्तामा बस्न युक्रेनले अस्वीकार गरेको बताए ।

रुस–युक्रेन युद्ध अन्त्यका लागि वार्ता गर्न पुटिन अमेरिकी मध्यस्थताको खोजीमा देखिन्छन् । डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनासाथ बधाई दिएका पुटिनले कुनै पनि समय ट्रम्पसँग वार्तामा बस्न तयार रहेको बताएका छन् । युक्रेनसँग वार्ता गर्न तयार पुटिनले युक्रेनमा नवनिर्वाचित सरकार हुनु पर्ने सर्त अघि सारेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको निर्वाचनलाई पछाडि धकेलेकोप्रति खण्डन गर्दै निर्वाचनपछिको सरकारसँग रुस वार्तामा बस्न तयार रहेको उल्लेख गरे । युक्रेनमा गत मार्च महिनामा राष्ट्रपति निर्वाचन हुनु पर्ने थियो ।

तर रुससँगको जारी युद्धका कारण युक्रेनको निर्वाचन पछाडि धकेलिँदै गएको छ । निर्वाचनपछि जेलेन्स्की नै निर्वाचित भए पनि आफू वार्तामा बस्ने तयार रहेको स्पष्ट पारेका पुटिनले अहिले युक्रेनको निर्वाचनलाई सर्त बनाएका छन् । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पले दुई देशबीच वार्ता सुरु गर्न आह्वान गरेपछि पुटिनको यस्तो प्रतिक्रिया आएको हो । पुटिन मात्र नभई युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि आउँदो जनवरीमा ह्वाइट हाउस फर्कने तयारीमा रहेका ट्रम्पको खोजी गरिरहेका छन् ।

विहीबार युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बेल्जियमको ब्रसेल्समा भएको युरोपेली नेताहरुको भेलालाई सम्बोधन गर्दै युक्रेनलाई बचाउन रुसी राष्ट्रपति पुटिनलाई रोक्न अपिल गरिरहेका थिए । युरोपेली मुलुकका नेताहरुमाझ युक्रेनले रुससँगको युद्ध अन्त्यपछि युक्रेनको सुरक्षा सुनिश्चितासमेत खोजेका छन् । यसका लागि ट्रम्प र अमेरिकाको समर्थन बिना सम्भव नरहेको उनको भनाइ थियो । जेलेस्सिकीले ट्रम्पको समर्थन जुटाउन युरोपेली मुलुकको नेताहरुसँग आग्रह पनि गरेका छन् । युक्रेनले अमेरिका र युरोपको आर्थिक एवं शैन्य सहायतामा रुससँगको युद्ध थेगिरहेको छ । ट्रम्पले यो खर्चलाई व्यर्थ भन्दै आएका छन् । जसले गर्दा ट्रम्पको आह्वानमा युक्रेनलाई मस्कोको अनुकूल सर्तमा शान्ति स्वीकार गर्न बाध्य पार्न सक्ने आशङ्कासमेत बढेको छ । पश्चिमले रुससँग आधुनिक हतियारमा प्रतिस्पर्धा गर्न नसक्ने दाबीसमेत पुटिनले गरेका छन् । पुटिन उत्तर कोरियालगायतका मुलुकसँग शैन्य सहायता लिएर युद्ध लडिरहेका छन् । विदेशी सेनालाईसमेत आफ्नो सैन्य संगठनमा आबद्ध गर्दै रुसले युद्ध लडिरहँदा युक्रेनसमेत आक्रामक देखिँदै गएको छ । तर, पछिल्लो समय विकसित घटनाक्रमले रुस युक्रेन युद्ध थप चर्किनेभन्दा पनि मत्थर हुँदै जाने र शान्ति सम्झौता प्रक्रिया अगाडि बढ्ने सम्भावना बढ्दै गएको संकेत मिलेको छ ।