काठमाडौं —म्यान्चेस्टर युनाइटेडलाई पराजित गर्दै टोटनहाम इंग्लिस फुटबल लिग (इएफएल) कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको रोमाञ्चक क्वाटरफाइनलमा टोटनहामले युनाइटेडलाई ४–३ गोलअन्तरले हराएको हो । टोटनहामको जितमा डोमिनिक सोलान्केले २ गोल गर्दा डेजान कुलुसेभ्स्की र सन ह्युङमिनले १–१ गोल गरे । युनाइटेडका जोसुआ जर्क्जी, अमाद दियालो र जोनी इभान्सले १–१ गोल गरे । खेलको १५औं मिनेटमा सोलान्केले गोल गर्दै टोटनहामलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोल मात्र भएपनि दोस्रो हाफ रोमाञ्चक बनेको थियो जहाँ थप ६ गोल भए ।
दोस्रो हाफको ४६औं मिनेटमा कुलुसेभ्स्कीले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । ५४औं मिनेटमा सोलान्केले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनहामलाई ३–० ले अगाडि राखे । तर ६३औं मिनेटमा जर्क्जीले गोल गर्दा ७०औं मिनेटमा दियालोले अर्को गोल थपेपछि युनाइटेड खेलमा फर्कने संकेत गरेको थियो । ८८औं मिनेटमा सनले गोल गरेपछि टोटनहामको अग्रता फेरि बढ्यो । इन्जुरी समयमा इभान्सले गोल गरेपछि खेल ४–३ को अवस्थामा पुगेको थियो । त्यसपछि भने थप गोल भएन र टोटनहाम सेमिफाइनलमा स्थान बनाउन सफल भयो । टोटनहामले अब फाइनल प्रवेशका लागि लिभरपुलसँग खेल्ने छ । लिभरपुलले पनि हिजोको खेलमा साउथह्याम्पटनलाई २–१ गोलअन्तरले हराएको छ ।
प्रतिक्रिया