सन् २०२२ को फेब्रुु्रवरी २४ देखि सुरु भएको रुस युक्रेन युद्ध अझै रोकिएको छैन । झन्डै तीन बर्षदेखि लगातार युद्धमा होमिएका रुस–युक्रेन युद्धविराम गरेर हारको सन्देश दिनुभन्दा सबै शक्ति खर्चेर युद्ध लडिरहने तर हार नमान्ने हठमा छन् । रुस अन्य मुलुकसँग खुलेआम शैन्य सहायता लिएर युक्रेनसँग युद्ध लडिरहेको छ भने अमेरिका र पश्चिमा शक्तिको आर्थिक एवम् सुरक्षा सहायता पाइरहेको युक्रेन थप रणनीतिक आक्रमणमा जुटेको छ । यसक्रममा रुसी वरिष्ठ शैन्य अधिकारीको हत्यापछि रुस–युक्रेन युद्धले कस्तो रुप लिन्छ ? भन्ने चासो सर्वत्र बढिरहेको छ ।
सन् २०२२ को फेब्रुु्रअरी २४ देखि जारी रुस युक्रेन युद्धमा यकिन तथ्याङ्क नभए पनि दुवैतर्फ हजारौँ शैन्य अधिकारीहरुको मृत्यु भइसकेको छ । रुसी हमालामा परि हजारौँ युक्रेनी नागरिक हताहत भएका छन् । राजधानी किभसहित सिंगो युक्रेन अशान्त छ । फलतः दैनिक हजारौँ युक्रेनी नागरिक शरणार्थीको रुपमा अर्को देश पलायन भइरहेका छन् । युरोपेली मुलुकहरुमा पुगेर शरणार्थी जिवन बिताउन उनीहरु बाध्य छन् । तर युक्रेन अझै रुससँग घुँडा टेक्ने पक्षमा छैन । देशको आत्मानिर्भरता र स्वाधिनताका लागि कुनै पनि हालतमा पछि नहट्ने पक्षमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की छन् ।
अमेरिका र युरोपेली मुलुकहरुको आर्थिक एवं शैन्य सहायताले रुससँगको युद्ध थेगिरहेको युक्रेनले पछिल्लो समय रुसलाई नै झस्काउने गरी रणनीतिक हमला गर्न थालेको छ । युक्रेनको पछिल्लो हमालापछि मस्को पनि झस्किएको छ । करिब तीन वर्षदेखि देशले युद्ध लडिरहे पनि शान्त रुपमा जनजीवन चलिरहेको मस्कोमा बम आक्रमण भएको छ । मस्कोस्थित एउटा आवासीय क्षेत्रको द्वारमा दुईपाङ्ग्रे विद्युतीय स्कुटरमा बम विस्फोट हुँदा रुसी वरिष्ठ शैन्य अधिकारी लेफ्टिनन्ट जनरल इगोर किरिलोभको मृत्यु भयो ।
मस्कोको हवाई प्रतिरक्षा प्रणाली नै नाघेर युक्रेनले ड्रोन हमला गरेर वरिष्ठ शैन्य अधिकारीको हत्या गरेको हो । यसैबीच सो आक्रमणमा संलग्न रहेको आशंकामा एक उज्बेक नागरिक पक्राउ परेका छन् । उज्वेकिस्तानका २९ वर्षीय युवकलाई हिरासतमा लिइएको रुसी सुरक्षा सेवाले जनाएको छ । युक्रेनको निर्देशनमा उनी मस्को आइपुगेको र घरमै बनाइएको विस्फोटक पदार्थ प्राप्त गरेको उल्लेख छ ।
युक्रेनी हमालामा परि रुसको कुस्र्क क्षेत्रमा तैनाथ ३० भन्दा बढी उत्तर कोरियाली सेनाको पनि मृत्यु भइसकेको छ । युक्रेनी सुरक्षा निकाय ‘एसबीयू’ले आफूहरुले किरिलोभमाथि आक्रमण गर्न विशेष कारबाही गरेको दाबी गरेको छ । विकीरण, रासायनिक तथा जैविक सुरक्षा फौजका प्रमुख किरिलोभको हत्याले रुस झस्किएको छ । किरिलोभको मृत्युलाई अपूरणीय क्षतिको रुपमा लिएको रुसले उनको मृत्युको बदला लिने उद्घोष गरिसकेको छ । रुसले युक्रेनले ठुलो मुल्य चुकाउनुपर्ने भनेको छ । रुस युक्रेन युद्ध अन्त्य गर्न चौतर्फी दवावकैबीच अमेरिकासहित युरोपेली मुलुकहरुले युक्रेनलाई सघाउँदै आएका छन् ।
अमेरिकामा डोनाल्ड ट्रम्पको पुनरागमनसँगै युद्ध रोकिने विश्वास थियो । बाइडेन प्रशासनले युक्रेनलाई दिँदै आएको सहयोग व्यर्थ खर्चको रुपमा व्याख्या गरेका ट्रम्पले युद्ध रोक्ने उद्घोषसमेत गरेका थिए । यद्यपि तत्काल दुई मुलुकबीच जारी युद्ध रोकिने छाँटकाँट देखिँदैन । युद्ध अझै कति लम्बिने हो अड्कल गर्न मुस्किल छ । रुस युक्रेन युद्धको चेपटामा आर्थिक एवं कुटनीतिक हिसाबले विश्व समुदाय नै प्रताडित बनिरहेको विश्लेषण भइरहँदा मस्कोमा भएको आक्रमणले झनै युद्धको आगोमा घ्यू थप्ने काम गरेको देखिन्छ ।
प्रतिक्रिया