माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले महाधिवेशन सम्पन्न भएको करिब ६ महिनापछि नेताहरूको कार्यविभाजन गरेको छ । केन्द्रीय नेतृत्वले टिका लगाएर छानेका नेताहरुले चुनेका पदाधिकारीहरुलाई त्यही अनुसार जिम्मेवारी प्रदान गरिएको छ । महाधिवेशनको म्यान्डेटविपरीत पदाधिकारी चयन भएपछि थप भद्रगोल बनेको नेकपा एसभित्रको कार्यविभाजनसँगै पार्टीले गति लिने विश्वास गरिएको छ । कार्यविभाजन गरेर पार्टी एकढिक्का भएको सन्देश दिए पनि अन्य दलहरुसँगको सम्बन्धमा भने शंका उब्जाएको छ ।
कम्युनिष्ट नेता वामदेव गौतमलाई भित्र्याएर पार्टीको ओझ बढाउने ध्याउन्नमा रहेका माधवकुमार नेपालले महाधिवेशन सम्पन्न गरेको करिब ६ महिनापछि पहिलो स्थायी कमिटी बैठक सम्पन्न गरे । पदाधिकारी निर्वाचनमा हारेका व्यक्तिहरुलाई पार्टीमा बढुवा गरेपछि वैबक राख्न सफल भएका हुन् । पहिलो स्थायी कमिटी बैठकले सचिवालय गठन गरेको छ भने नेताहरुको कार्यविभाजन पनि गरेको छ । सम्मानित नेता झलनाथ खनाललाई स्कुल विभाग प्रमुख, संगठन विभाग प्रमुखमा बेदुराम भुसाल, महासचिव घनश्याम भुसालले अनुगमन विभाग, स्थायी समितिमा बढुवा हुनासाथ रामकुमारी झाँक्रीले विद्यार्थी विभाग इन्चार्जको जिम्मेवारी पाएकी छन् । पहिलो स्थायी समिति बैठकले नै नेकपा एकीकृत समाजवादीले तत्काल कुनै पनि दलसँग पार्टी एकता नगर्ने, चुनावमा गठबन्धन नगर्ने निर्णयदेखि संविधान संशोधन सुझाव कार्यदलसमेत गठन गरेको छ ।
नयाँ नीति र नयाँ नेतृत्व चयनका लागि महाधिवेशन कर्मकाण्डी ढंगले सम्पन्न गरिएको थियो । महाधिवेशन भयो तर प्रतिनिधिहरुले आफ्ना प्रतिनिधि छान्न पाएनन् । सहमतिमै नेतृत्व चयन हुने विश्वास दिलाएर प्रतिनिधिहरुलाई घर पठाइयो । महाधिवेशनको म्यान्डेटविपरीत गएर दुई महिनापछि केन्द्रीय नेताहरुले छानेका नेताहरुबाट चुनाव नै गरेर पदाधिकारी छान्ने काम भयो । त्यसक्रममा आफू निकट र खल्तीका मान्छे अटाउन चिट काण्ड नै मच्चाएको चर्चा अझै सेलाएको छैन ।
यद्यपि, सर्वसम्मत आफ्नो पद सुरक्षित गरेका अध्यक्ष नेपाल र महासचिव घनश्यास भुसालको गुटगत प्रतिस्पर्धाले पार्टीका प्रभावशाली र भाइरल नेताहरुको अवस्था कन्तविजोग भएन । रामकुमारी झाँक्री, विरोध खतिवडा लगायत प्रभावशाली नेताहरु नै चुनावी प्रतिस्पर्धामा पराजित हुँदा पार्टी नेतृत्वमै पत्तासाफ भए । जसका कारण असन्तुष्टि बढ्दा अस्तित्व नै संकटमा पर्ने अवस्थामा रहेको पार्टीले झन्डै फुटको सामना गर्नुप¥यो । रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, प्रेम आले लगायतले पार्टी फुटाउनेसम्मको आन्तरिक तयारी गरेका थिए । यद्यपि झाँक्रीसहित हारेका नेताहरुलाई स्थायी समितिमा समेटेपछि तत्काल नेकपा एसको अन्तरद्वन्द्व साम्य भएको बुभ्mन सकिन्छ ।
यस्तै तल्लो तहमा माधवको पार्टीको हालत कस्तो छ ? भन्ने कुरा उपनिर्वाचनको नतिजा नियाले पुग्छ । यसअघिका निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोकेर केही साख जोगाइ दिए पनि राष्ट्रिय पार्टी बन्न नसकेको नेकपा एस अझै एक्लै चुनाव लड्ने आँट गर्न सक्ने अवस्थामा छैन । यद्यपि चुनावमा कुनै पार्टीसँग गठबन्धन नगरी एक्लै लड्ने निर्णय भने गरेको छ ।
अर्कोतिर सांसद प्रेम आलेले पार्टीसँगको साइनो नै तोडिसकेका छन् । पछिल्लो समय उनी पार्टीको कुनै पनि गवितिधिमा सहभागी छैनन् । साथै नेकपा एसका नेताहरु मूल पार्टी एमालेमा फर्किने लहर पनि रोकिएको छैन । माधवको पार्टी सिध्याउन एमाले लागी परेको आरोप नै लाग्दै आएको छ । यता माओवादीले पनि बम्पर अफर सुरु गरेको छ । अर्को पार्टीमा जुन पद छोडेको त्यही पद दिने माओवादी केन्द्रको अफर चलिरहेको छ । यी सबै परिदृश्यले ओली बाहेकको कम्युनिष्ट एकता गर्न तम्सिएका माधव प्रचण्डबीच पनि दूरी बढेको बुझ्न कठिन छैन ।
पार्टी दर्ता गर्न तम्सिएका विप्लव र तत्काल पार्टी एकता नगर्ने नेकपा एसको निर्णयले यही संकेत गरेको छ । महाधिवेशनपछि प्रचण्ड, उपेन्द्र यादवदेखि विप्लवसँगसम्मै पार्टी एकता गर्ने अवस्थामा पुगेका माधव अहिले एकता नगर्ने पक्षमा किन पुगे विस्तारै खुल्दै जानेछ । यद्यपि ठुला पार्टीहरु नै एक्लै चुनाव लड्ने अवस्था कमजोर हुँदै गएका बेला माधवको यो चुरीफुरी चुनावसम्मै टिक्छ वा नेता कार्यकर्ताका लागि ढाडस मात्र हो ? त्यो हेर्न भने पर्खनै पर्ने हुन्छ ।
प्रतिक्रिया