राजनीति

एमालेलाई कसले पार्दै छ खोक्रो ?


पार्टी फुटेर एकीकृत समाजवादी बनेपछि बलियो बनेको दाबीकाबीच एमालेबाटै केपी शर्मा ओलीले त्रास भोग्न थालेका छन् । पार्टी खुम्चिदै गएको महासचिव लगायतकै नेताहरुको अभिव्यक्ति र पूर्वराष्ट्रपतिको सक्रियताको प्रश्नले ओली झस्किएका हुन् । फलत सांकेतिक रुपमा सन्देशसहित जवाफ फर्काउन उनी उद्यत हुदाँ एमालेमा भइरहेको के हो ?

प्रश्न उठाउनेहरुले नै नयाँ पार्टी बनाएर गएपछि ढुक्क बनेका एमाले अध्यक्ष केपी शर्मा ओली अहिले पार्टीभित्रैबाट त्रासको अवस्थामा छन् । पार्टी खुम्चिएको तथा उनका आसपासे बलियो भएको महासचिव लगायकै नेताहरुको भनाइले उनी झस्किएका हुन् । विशेषत स्थानीय तह उपनिर्वाचनमा आएको परिणामले सोच्न बाध्य भएको एमालेमा आफ्नै पार्टी सरकारमा हुँदा किन यस्तो अवस्था भन्ने प्रश्न बलियो बनेको छ । त्यसबाहेक एमालेप्रति शहरी मतदाता रुष्ट रहेको निष्र्कषकाबीच पार्टीले आयोजना गर्ने कार्यक्रममा घट्दो जनसहभागितासमेत अर्को प्रश्न बनेको छ ।

जसको कनेक्सन कहिँकतै सरकार र पार्टीको नेतृत्व गरिरहेका ओलीसँग नै जोडिँदा महासचिव शङ्कर पोखरेलले नै पार्टी जीवनमा समस्या देखिएको स्वीकार्दै अहिलेकै स्थितिले एमालेलाई राष्ट्रिय शक्ति बनाउन कठिन हुने बताएका छन् । त्यस्तै पार्टी र पार्टी नेतृत्वविरुद्ध हमला तथा भ्रमपूर्ण प्रचार भइरहँदा प्रतिरक्षा कमजोर भइरहेको उनको विश्लेषणलेसमेत एमालेको हालत प्रष्ट पारेको छ । जसबाट झस्किएका ओलीले विचार र नेतृत्वको पक्षमा दृढतापूर्वक उभिँदा मात्र पार्टी बलियो बन्ने भन्दै घुमाउरो पारामा आफ्नो विरोध नगर्न चेतावनी नै दिएका छन् ।

सत्ताविहीन हुँदा नागरिकमा जानुपर्ने बोध गरेको एमाले मिसन ग्रासरुटदेखि मध्यपहाडी संकल्प यात्राहुँदै अहिले पनि मिसन– ८४ कै अभियानमा छ । तर यहीवेला पार्टीको खुम्चिदो हालतले प्रतिरक्षा गर्ने अवस्थामा कार्यकर्ता देखिँदैनन् । बरु यसले कम्युनिष्ट एकता मागेको भन्दै एक हिस्सा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमा साझा नेतृत्वको छायाँ देखिरहेको छ । जसका लागि आगामी निर्वाचन एक्लै भिड्न नसकिने बुझेको माओवादीसमेत तयार रहँदा ओली निकट भनिएकाहरु नै धेरैजना भण्डारी गुटमा गइसकेका छन् । त्यसबाहेक उत्तराधिकारी हुने दौडले विष्णु पौडेल र शंकर पोखरेलमा देखिएको प्रतिस्पर्धालेसमेत एमालेमा देखिएको गुट छर्लङ हुन्छ ।

यी सबै कार्यले प्रहारमा भने ओली नै पर्ने देखिँदाओलीले पार्टीभित्र हुर्किंदै गएको गुटबन्दीबारे पनि प्रस्ट पार्ने कोसिस गरेका छन् । ऐतिहासिककालदेखि पार्टीमा वैचारिक स्पष्टता र एकता हुन नसक्दा वाञ्छित उपलब्धि हासिल हुन नसकेको निष्कर्ष सुनाउँदै उनले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा सक्रिय गराउन दौडधुप नगर्न चेतावनी नै दिएका छन् । जब कि कम्युनिष्ट एक बनाउन खोज्नेहरु भने विद्यालाई अघि सारेर जाने रोडम्याप नै बनाइरहेका छन् ।

हुन त ओलीले नै एमालेमा महिला नेतृत्व चाहिने बहस चलाएका थिए भने अहिले पनि छलफल गर्न गाह्रो नभएको बताएका छन् । त्यस्तै ओलीले पौडेल र पोखरेल दुवैजना बराबर रहेको अर्थपूर्ण अभिव्यक्तिसमेत दिएका छन् । यसले गुट नभएको उनको दाबी नै त्रासको उपज रहेको प्रष्ट हुँदा उनी निकट भनिएका धेरै रुष्ट बनेका छन् । जो अहिले भण्डारी पक्षमा पुगेर बाहिर नबोल्ने र भित्रभित्रै नेतृत्वको भण्डाफोर गर्ने बाटोमा छन् । के ओलीले महसुस गरेको डर यही हो त ?

जिम्मेवारी नदिने तथा आफ्ना च्याप्ने प्रवृत्तिकै कारण अहिले एमालेमा नेता निष्क्रिय बन्ने क्रम बढ्दो छ । यही कारण पृथ्वीसुब्बा गुरुङ जस्ता नेताले ओलीमाथि सार्वजनिक मञ्चमै प्रश्न उठाउँदा नेतृत्वकर्ताका हिसाबले यो निष्क्रियताको उत्तरसमेत ओलीले नै दिनुपर्ने छ । यसको अर्थ पार्टी एक ढिक्का रहेको ओलीको दाबीमाथि नै प्रश्न उठ्दा उनी चौतर्फी घेराबन्दीमा छन् । जसको निकास चेतावनी दिएर भन्दा चेतिएर मात्रै निस्कने पक्का हुँदा भीम रावल हुने डर देखाएर ओली सधँै बलियो हुने सम्भावना कमजोर हुँदै गएको छ ।