नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरु अन्तिम चरणमा आइपुगेका छन् । प्रतियोगितामा अब दुुई खेल मात्रै बाँकी छ । यसअन्तर्गत भोलि क्वालिफायर २ को खेल हुनेछ भने फाइनल पुुस ६ गते हुुँदैछ ।
नेपाली क्रिकेट विश्वका ठूला देशहरुका लागि पनि आकर्षणमा पर्दै गएको छ । खासगरि युवा खेलाडीहरुको उत्कृष्ट प्रदर्शन र मैदानमा क्रिकेटप्रेमीहरुको उपस्थितिले नेपाली क्रिकेटको चर्चा स्वदेशमा मात्रै नभई विदेशमा पनि भइरहेको छ । गत मंसिर १५ गतेदेखि जारी नेपाल प्रिमियर लिग एनपीएलले नेपाली क्रिकेटको चर्चा झनै विश्वव्यापी बनाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी एनपीएलका खेलहरु अन्तिम चरणमा पुगेका छन् । बुधबार एलिमिनेटर र क्वालिफायर १ को खेल सकिँदा अब क्वालिफायर २ र फाइनल खेल बाँकी छन् । बुुधबार भएको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई एलिमिनेटरमा २१ रनले पराजित गर्यो ।
गर या मरको स्थितिमा रहेका दुुबै टोली मैदानमा उत्रिएका थिए । कर्णालीले प्रस्तुत गरेको १७५ रनको लक्ष्य पछ्याउन असफल चितवनले १५४ रन मात्रै बनाउन सक्यो । यो पराजयसँगै चितवनको उपाधि होड समाप्त भएको छ । चितवनलाई पराजित गरेको कर्णालीले अब फाइनल प्रवेशका लागि जनकपुरसंग क्वालिफायर २ मा प्रतिस्पर्धा गर्ने छ । चितवानमाथि सानदार जित निकालेको कर्णालीका कप्तान सोमपाल कामीले फाइनलसम्मै राम्रो खेल खेल्ने र सुखद नतिजा आउने आशा व्यक्त गरे ।
त्यस्तै बुुधबारै भएको दोस्रो खेलअन्तर्गत क्वालिफायर १ मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्समाथि ८ विकेटको सानदार जित हात पारेसँगै फाइनलको यात्रा तय गरेको छ । विनोद भण्डारी र कप्तान दीपेन्द्रसिंह ऐरी क्रमशः ५८ र २० रनमा अविजित रहँदै १८.३ ओभरमा १४१ रन बनाएर जित आफ्नो पक्षमा पारेका हुन् । टस जितेर पहिले ब्याटिङमा आएको जनकपुरले ९ विकेट गुमाएर १३९ रन बनाएको थियो । नियमित कप्तान अनिल साह बिना नै सुदूरपश्चिमविरुद्ध मैदान उत्रिएको जनकपुरले आशातित प्रदर्शन गर्न सकेन । हातको चोटका कारण उनी विश्राममा रहेका छन् । जनकपुरका जमेस निशमले सर्वाधिक ४५ रन बनाए भने शुभ कंसाकारले २६ रन जोडे ।
बाँकी बलर चल्न नसक्दा जनकपुरले सुदूरपश्चिमविरुद्ध ठूलो स्कोर बनाउन सकेन । जारी प्रतियोगितामा सुदूरपश्चिम बलियो दाबेदार देखिएको छ । लिग चरणको सातमध्ये एउटा खेलमा मात्र पराजय भोगेको सुदूरपश्चिमको ब्याटिङ र बलिङ लयमा छ । जनकपुरले लिगको सात खेलमा पाँच जित र दुई हारको नतिजा आत्मसाथ गरेको छ । जितपछि सुदूरपश्चिम प्रतियोगिताको फाइनलमा पुगेको छ भने जनकपुरले फाइनल पुग्न बिहीबार कर्णाली याक्सविरुद्ध क्वालिफायर २ मा प्रतिस्पर्धा गर्ने छ । यी दुईबीचको खेलको विजेता उपाधि भिडन्तमा पुग्दा पहिलो संस्करणको एनपीएलको ट्रफीमाथि कसले कब्जा जमाउँला ? यसले क्रिकेट समर्थकमा सर्वाधिक चासो बढिरहेको छ ।
प्रतिक्रिया