समाचार

निर्मला हत्या प्रकरण : अनुसन्धान अधिकृतसँग सीआइबीले थाल्यो छलफल


काठमाडौं —कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूसँग छलफल सुरु गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पन्तको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरूसँग छलफल थालेको हो । अनुसन्धानमा खटिएका अधिकृतहरूसँग छलफल गरेर एउटा निष्कर्ष निकालेर नयाँ कोणबाट फेरि अनुसन्धान अघि बढाउन लागिएको हो ।

मंगलबार मात्रै केही प्रहरी अधिकारीलाई सीआईबीको लाजिम्पाटस्थित कार्यालयमा बोलाएर छलफल गरिएको थियो । छलफल सकेर एउटा निचोड निकालेपछि अनुसन्धानका लागि नयाँ टोली पठाइने सीआईबीले जनाएको छ । गत साउन १० गते मात्रै पन्तको बलात्कार–हत्या भएको ६ वर्ष पूरा भएको छ । तर अहिलेसम्म हत्यारा पत्ता लगाउन प्रहरीले सकेको छैन । १० साउन २०७५ मा साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी पन्त भोलिपल्ट भीमत्त नगरपालिकाकै निम्बुखेडा खोला किनारको उखुबारीमा मृत भेटिएकी थिइन् ।