प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी मुलुक भारतको औपचारिक भ्रमणको आन्तरिक तयारीमा जुटेका छन् । उत्तरी छिमेकी मुलुक चीनको भ्रमण सकिए लगत्तै छिट्टै भारतको भ्रमण गर्ने उद्घोष गरेका प्रधानमन्त्री ओलीले भारत भ्रमणको चाँजोपाँजो मिलाउन सिंगो संयन्त्र सक्रिय बनाएका छन् । मिति सार्वजनिक नगरिए पनि यही पुस महिनाभित्र प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने बुझिएको छ ।
गत असार ३१ गते राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गर्दै तेस्रो पटक प्रधानमन्त्री बनेका प्रधानमन्त्री केपी शर्मा ओली पहिलो औपचारिक विदेश भ्रमण भारतबाट नै गर्न चाहान्थे । भारतको विरोध गरेरै राष्ट्रवादी नेताको छवि बनाएर राष्ट्रिय राजनीतिमा स्थापित भएका ओली यो पटक पटक्कै रिस्क लिने पक्षमा थिएनन् । तेस्रो पटक प्रधानमन्त्री बनेपछि कांग्रेस सभापति शेरबहादुर देउवाको दवाव भए पनि मुख्यतः भारतसँग सम्बन्ध सुधार्नकै लागि प्रधानमन्त्री ओलीले भारत निकट कांग्रेस नेतृ डाक्टर आरजु राणा देउवालाई परराष्ट्रमन्त्रीमा रोजे ।
सत्तारोहणको सुरुवातदेखि नै भारत भ्रमण तयारीको जोडबल चल्यो । प्रधानमन्त्री बनेको ३३ औँ दिनमा परराष्ट्रमन्त्री राणालाई भारतीय समकक्षी नरेन्द्र मोदीलाई आफ्नो सन्देश र निमन्त्रणापत्र बोकाएर दिल्ली पठाए । परराष्ट्रमन्त्री राणालाई दिल्लीले प्रधानमन्त्री हाराहारीकै अनपेक्षित सम्मान दिएपछि भारतले भ्रमणको निम्तो पठाउनेमा ओली थप ढुक्क थिए । तर ओलीको आरजु कार्ड सफल भएन । भदौ दुई देखि ६ गतेसम्म भएको परराष्ट्रमन्त्री राणाको दिल्ली दौडले प्रधानमन्त्री ओलीको भारत भ्रमणको साइत जुराउन सकेन । त्यसको एक महिनापछि संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका प्रधानमन्त्री ओलीले न्युयोर्कमा भारतीय प्रधानमन्त्री मोदीसँग साइटलाइन भेटको अवसर पाए ।
त्यहाँ पनि ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिए तर मोदी मौन रहे । दुईपक्षीय चरणबद्ध संवादपछि पनि भारतले निम्तो दिने संकेत नदिएपछि प्रधानमन्त्री ओली आफैँ चीन भ्रमणको चाँजोबाँजो मिलाउन बाध्य भए । प्रधानमन्त्री हुनासाथ चीनले भ्रमणको ताकेता गरे पनि भारतको निम्तो कुरेर बसेका ओली भारतले बेवास्ता गरेपछि एमाले उपाध्यक्षसमेत रहेका अर्थमन्त्री विष्णु पौडेललाई चीनa पठाएर चीन भ्रमण तय गरे । प्रधानमन्त्री बनेपछि पहिलो औपचारिक विदेश भ्रमणका रुपमा दिल्ली जाने प्रचलन तोडेर मंसिर १७ देखि २० गतेसम्म उत्तरी छिमेकी चीनको दुईपक्षीय भ्रमण गरे । यद्यपि भारत रिझाउन भने ओलीले छाडेनन् । भारत थप नबिच्कियोस् भन्ने रणनीतिसहित भ्रमणको सूत्रधार विष्णु पौडेललाई पाखा लगाएर आरजुलाई भ्रमणको कमाण्डर बनाए । भारत रिझाउनकै लागि नेपाल ओर्लिनासाथ बीआरआई सहकार्य फ्रेमवर्कमा भएको सम्झौता ऋण नभएको रटान लगाए । नेपाल र चीनबीचको प्रगाढ सम्बन्ध कसैको विरुद्ध नभएको प्रष्टीकरण नै दिँदै छिट्टै भारत भ्रमणमा जाने बताएका थिए । गृह जिल्ला ै भारत जाने सुनाएका थिए ।
प्रधानमन्त्री भएयता लगातार भारत भ्रमणको ताकेता गरिरहेका प्रधानमन्त्री ओली चीनबाट फर्किएपछि फेरि भारत भ्रमणको साइत जुराउन सक्रिय भएका हुन् । परराष्ट्रमन्त्री राणा, आफ्नै क्याविनेटका मन्त्री तथा नेताहरुलाई भारत पठाएर उनले भारत भ्रमणको व्यवस्थापन मिलाइरहेका छन् । ओली चीनमा हुँदा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारत पुगेका थिए । भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसहित उच्च पदस्थ अधिकारीहरुसँग भेट गरेर फर्किएका उनले छिट्टै प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्ने खुलासा गरेका थिए । यही महिनाको अन्त्यतिर अर्थात अंग्रेजी नयाँ वर्ष २०२५ को जनवरी मध्यतिर प्रधानमन्त्री ओली दिल्ली जाने तयारी तीव्र तयारी भइरहेको छ । अहिले भने भारतीय पक्ष नै प्रधानमन्त्री ओलीको भ्रमणको तयारीमा जुटेको बुझिएको छ । भ्रमणको चाँजोपाँजो मिलाउन नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव नै नयाँ दिल्ली पुगेका छन् । युरोप भ्रमणमा रहेकी परराष्ट्रमन्त्री राणा यसै साता दिल्ली पुग्ने तयारीमा छिन् । दिल्लीमा आयोजना हुने इन्डो–नेपाल इकोनोमिक कन्फरेन्समा सहभागी हुने क्रममा दिल्ली पुग्ने कार्यक्रम रहे पनि परराष्ट्रमन्त्री राणाको मुख्य एजेन्डा भने प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी रहेको आकलन गरिएको छ । त्यसक्रममा भारतीय विदेशमन्त्री एस जयशंकरलगायत उच्च अधिकारीहरुसँग भेटवार्ता हुने बताइएको छ । परराष्ट्रमन्त्री डा. राणा नयाँ दिल्ली ओर्लिएपछि भ्रमणको मिति तय गर्ने भारतीय पक्षको तयारी रहेको चर्चा छ । यद्यपि धेरैले यो भ्रमणलाई औपचारिकता कै रुपमा मात्र लिएका छन् । कांग्रेस–एमाले समीकरण टिक्ने संकेतपछि भारत ओलीलाई स्वागत गर्न तयार भएको बुझाइ कतिपयको छ ।
चीन भ्रमण पछि ओलीलाई स्वागत गर्न दिल्ली तयार हुनुलाई पनि कतिपयले विभिन्न कोणबाट टिप्पणी गरेका छन् । भारतको इच्छा विपरीत बीआरआई अघि बढाएपछि ओलीको नाडी छाम्नकै लागि भारतले उनलाई स्वागत गर्न तयार भएको अड्कल काट्नेहरु पनि छन् । यही पेरिफेरिमा भारत भ्रमणमा जान खुट्टा उचालेर बसेका प्रधानमन्त्री ओलीले कस्तो एजेन्डा बोकेर दिल्ली जाने छन् ? त्यो भने पर्खनुको विकल्प छैन ।
प्रतिक्रिया