देशको सबैभन्दा ठुलो र पुरानो दल नेपाली कांग्रेस काण्ड र विवादमा पनि अगाडि देखिन्छ । आफूलाई सबैभन्दा बढी समाजवादी र लोकतान्त्रिक पार्टी भन्न रुचाउने कांग्रस आन्तरिक रुपमा भने विभिन्न गुट उपगुटको चंगुलमा फसेको आरोप लाग्दै आएको छ ।
दश लाख कार्यकर्तासहित झण्डै आठ दशक यात्रा पुरा गरेकोनेपाली कांग्रेस देशकै सबैभन्दा ठुलो र पुरानो दल हो । समाजवाद र लोकतान्त्रिक प्रणालीलाई अंगिकार गर्ने दल नेपाली कांग्रेसको इतिहास जति गर्भिलो छ वर्तमान अवस्था भनेत्यति नै बद्नामी र विवादित बनेको छ ।सबैभन्दा धेरै पटक सरकारको बागडोर सम्हालेको कांग्रेसले देश र जनताको जीवनस्तर उकास्नेभन्दा पनि व्यक्तिगत स्वार्थ लाभ र आफन्त उकास्ने काम गरेको आरोप लाग्ने गरेको छ ।
वर्तमान सभापति शेरबहादुर देउवादेखि महामन्त्री हुँदै विभिन्न शीर्ष नेताहरु नै यस कार्यमाअग्रपंक्तिमा देखिन्छन् । हिजो चप्पल पड्काउँदै काठमाडौं छिरेका कांग्रेसका नेताहरु आजचिल्लो कारमा धुलो उडाउँदै राजकीय ठाँटका साथ सवार हुने गर्छन् ।
कांग्रेसमा निष्कलंकित र निष्ठावान व्यक्ति खोज्नु परे कांग्रेस पार्टी कार्यालयको भित्तामा झुण्डाइएको फोटोमा मात्र भेट्न सकिन्छ । औँलामा गन्न सकिने केहीबाहेक कांग्रेसमा विवादरहित नेताहरुभेट्टाउनै मुश्किल छ । कांग्रेस भनेको काण्ड र काण्ड भनेकै कांग्रेस हो भन्ने भाष्य जबरजस्त रुपमा जनतामा पर्दै गएको छ । कांग्रेस भ्रष्टाचारमा मात्र चुर्लुम्म डुबेको छैन कि आफू निकट भ्रष्ट्रहरुलाई समेत संरक्षण गर्न अब्बल पार्टी देखिन्छ । हाल सत्तामा रहेको कांग्रेसले सरकारको दोस्रो ठुलो मन्त्रालय गृह सम्हाली रहेको छ । तर जनताको दैनिकीसंग प्रत्यक्ष जोडिएको मन्त्रालय सम्हालेका कांग्रेस मन्त्री रमेश लेखकको बोलाई र काम गराईमा समानता देखिँदैन ।
भ्रष्टाचार र गुटको चंगुलमा फसेको कांग्रेसमामेलम्ची काण्ड,टेरामक्स काण्ड, भुटानी शरणार्थी काण्ड, बाख्रा काण्ड, स्काउटको जग्गा काण्ड, क्यासिनो काण्ड हँुदै सहकारी काण्डसम्मको बेथिति मौलाएको देखिन्छ । काण्डको फेहरिस्त हेर्दा कांग्रेसकोसंख्या लामै देखिन्छ । तर कांग्रेस नेताका जति पनि विवाद र काण्ड बाहिरिए पनि उनीहरु नेतृत्वबाट सधैँ संरक्षित हुने गरेका छन् । विवादमा तानिएका नेताहरुमाथि छानविन र कारबाहीभन्दा पनि ढाकछोप र संरक्षण गर्ने परिपाटी बढ्दो छ । यो कांग्रेसको मूल नीति जस्तै बनेको छ।
मोहम्मद आफ्ताब आलम, बालकृष्ण खाणदेखि धनराज गुरुङसम्म नेतृत्वबाट संरक्षित नेतामा पर्दछन् ।बोलेरै राजनीतिमा उदाएका महामन्त्री गगन थापा पनि एकपछि अर्कोविवादमा तानिएका नेता हुन् ।हाल उनलाई आफ्नै बोली भारी पर्दै आएको छ । पछिल्लो समय कीर्तिपुरको डाँडामा ल्यापटप चलाएरै महिनाको दुई÷चार लाख कमाउन सकिने भनेर उनलेदिएको अभिव्यक्ति उनका लागि भारी प¥यो ।सो अभिव्यक्तिले सामाजिक सञ्जालमा उनी ट्रोलको सिकार नै बने । जसले उनको चौतर्फी आलोचनासमेत हुन पुग्यो ।
महामन्त्री थापाले केही महिनाअघि संसदमै सहकारी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको संलग्नता पुष्टि गर्ने प्रमाणहरु आफूसँग रहेको दाबी गरेका थिए ।तर हाल उनले कुनै पनि प्रमाण अनुसन्धानमा संलग्न निकायलाई दिएको देखिँदैन । लामिछानेमाथि अनुसन्धान गरिरहेको प्रहरीले सहकारी ठगीमा उनको संलग्नतारहेको प्रमाण कमजोर रहेको भन्दै संगठित अपराधमा मुद्दा अगाडि बढाउने तयारी थालेको छ ।
त्यस्तै टेरामक्स खरिदमा कमिसन खाई योजनाबद्ध तरिकाले लेबनानको कम्पनी भेन्राइजलाई ठेक्का दिलाउन कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की र मोहनबहादुर बस्नेतले भूमिका खेलेको तथ्य केही समय पहिले बाहिरिएको थियो । विभिन्न काण्डमा आफ्नै दलका नेता जोडिँदा कांग्रेसकै केही नेताहरु भने अब कांग्रेस सच्चिनु पर्ने पक्षमा उभिएका छन् ।
कांग्रेस भित्र आरोपप्रत्यारोप र गुट उपगुट हुनु कुनै नौलोकुरो होइन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई आफ्नै पार्टीका सांसद राजेन्द्र बजगाईंले करोडौं घुस लिएर एक क्यासिनो सञ्चालनको लाइसेन्स दिएको आरोप लगाएका थिए । पछि बजगाईंले मामाफी मागे पछि सो काण्ड सामसुम बनेको थियो । त्यस्तै बालुवाटार जग्गा प्रकरणमा कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।
चौतर्फी चर्चाको विषय बनेको सहकारी प्रकरणमा कांग्रेसका उपसभापति धनराज गुरुङको नाम पनि मुछिएको छ । गुरुङ जोडिएको ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाको १४ करोड ८१ लाख रुपैयाँ गुरुङकी पूर्वपत्नी ज्योति गुरुङले अपचलन गरेकोसंसदीय छानबिन समितिको प्रतिवेदनले उल्लेख गरेको छ ।यही प्रकरणमा गुरुङसँग सीआईबीले एकपटक मात्र सोधपुछ गरेको छ । गुरुङमाथि अनुसन्धान गरिरहेको डीएसपीलाई नै सरुवा गरेर अनुसन्धान कमजोर बनाउन खोजेको आरोप कांग्रसमाथि लाग्दै आएको छ ।
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाबालकृष्ण खाणलाई बचाउन कांग्रेसकै नेताहरुको दबाबमा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा पुनरावेदनका लागि माथिल्लो तहमा नलैजाने निर्णय गरेको थियो ।यस्तै जिउँदै मान्छेलाई इटाभट्टाको चिम्नीमा हालेर हत्या गरेको घटनामा दोषी ठहर भएका मोहम्मद अफताब आलमलाई प्रहरीले समात्दा पनि कांग्रेस सभापति देउवाले बचाउ गर्न पुगेका थिए । यसैगरी पछिल्लो समय बहालवाला ऊर्जामन्त्री दीपक खड्कासमेत स्काउटको जग्गा प्रकरणमा मुछिएका छन् । स्काउटको जग्गाको भाडा नतिरेको आरोप खेप्दै आएका मन्त्री खड्काले उक्त आरोपको भने खण्डन गरेका छन् । आफ्नो चरित्र हत्या गर्न र मन्त्री पदबाट हटाउन गरिएको चलखेल भएको भन्दै उनले आफ्नो संलग्नता नरहेको प्रष्टीकरण दिएका छन् ।
करिब १० लाख क्रियाशील सदस्य रहेको दाबी गर्ने नेपाली कांग्रेसदेशको सबैभन्दा ठुलो दल भए पनि भ्रष्टाचार र विवादका काण्डबाट माथि उठ्न सकेको देखिँदैन । यसले कांग्रेसको भविष्यमाथि नै संकटको भुमरी मडारिन सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।।
प्रतिक्रिया