नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहका राजपुत्र प्रेमलाल सिंह अर्थात् पीएल सिंहको निधन भएको छ । भाई, बहिनीको हेरचारमा रहेका अविवाहित पीएल सिंहको गत वर्ष पेटको शल्यक्रिया गरिएको थियो । त्यसयता उनी थला परेका थिए । ८८ वर्षको उमेरमा परलोक भएका सिंहको सोमबारै अन्त्येष्टि गरिएको छ ।
ऐतिहासिक र सांस्कृतिक शहर काठमाडौंका प्रथम नगर प्रमुख प्रेमलाल सिंह अर्थात् पीएल सिंहको निधन भएको छ । लामो समयदेखि अल्सरबाट पीडित सिंहले सोमबार राति १ बजे चाक्सीबारीस्थित निवासमा आफ्नो देहत्याग गरेका हुन् । सिंहको पार्थिव शरीरलाई सोमबार बिहान ११ बजेसम्म चाक्सीबारीमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । त्यसपछि मध्याह्न १२ बजेदेखि दिउँसो २ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो ।
८८ वर्षीय सिंहको कङ्केश्वरी मन्दिर नजिक रहेको लख तीर्थमा अन्त्येष्टि गरिएसँगै सांसारिक लोकबाट इहलिला समाप्त भएको छ । उनलाई अन्तिम श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत कांग्रेसका नेता पार्टी कार्यालय पुगेका थिए भने राजनीतिक नेताप्रति खास्सै सम्मान प्रकट नगर्ने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) पनि चाक्सीबारी पुगेका थिए । सभापति देउवाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
भाई, बहिनीको हेरचारमा रहेका अविवाहित पीएल सिंहको गत वर्ष पेटको शल्यक्रिया गरिएको थियो ।
काठमाडौंका पूर्वप्रमुख सिंहको शोकमा कांग्रेसले तीन दिनसम्म देशभरका पार्टी कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको छ । यस्तै काठमाडौं महानगरपालिकाले पनि पूर्वमेयर सिंहको निधनको शोकमा सोमबार एक दिन मातहतका कार्यालयहरूमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरी शोक बिदा दिएको थियो । सन् १९३७ मा काठमाडौंमा जन्मिएका सिंह आफूलाई पीएल.एस अर्थात् ‘पिपुल लभ सर्भिस’ भनेर चिनाउन रुचाउँथे ।
नेपाली कांग्रेसका संस्थापक नेता तथा ०४६ सालको जनआन्दोलनका सर्वाेच्च कमान्डर एवं सर्वमान्य नेता गणेशमान सिंहका प्रमुख सहयोगी थिए । २०१२ सालमा नेपाल छात्र संघको केन्द्रीय सदस्य हुँदै राजनीति सुरु गरेका उनले पञ्चायतकालमा पटक–पटक जेल जीवन बिताएका थिए । जसले गर्दा सिंह कालान्तरमा कांग्रेस नेता गणेशमान सिंहका ‘राजनीतिक पुत्र’ का नामले चिनिन्थे । २०४७ सालको नेपालको संविधान अन्तर्गत २०४९ मा भएको स्थानीय निर्वाचनमा सिंह तत्कालीन काठमाडौं नगरपालिकाका प्रमुखमा निर्वाचित भएका थिए । त्यसैले पञ्चायत व्यवस्थापछि सिंहलाई काठमाडौंको पहिलो मेयरका रुपमा लिइने गरिएको छ । सिंहकै पहलमा काठमाडौं नगरपालिकालाई २०५२ साल मंसिर २९ गते महानगरपालिकासमेत घोषणा गरिएको थियो ।
त्यस्तै, २०५६ सालमा भएको आमनिर्वाचनमा प्रतिधिनिसभाको सदस्यमा निर्वाचित भएपछि वातावरण तथा जनसंख्या मन्त्रीसमेत भएका थिए । २०६३ मा वैशाखमा राजाद्वारा राजनीतिक दलहरुको दबाबमा पुनस्र्थापित प्रतिनिधिसभामा शपथ लिन नैतिकताले नदिने अडान लिने दुई सदस्यमा कृष्णप्रसाद भट्टराई र पीएल सिंह थिए । पीएल सिंहलाई काठमाडौं महानगरपालिकाले दुई दिनअघि मात्रै सम्मान गरेको थियो । ३० औं स्थापना दिवसको अवसर पारेर महानगरले सिंहलाई एक लाख पचास हजार नगदसहित सम्मानित गरेको थियो ।
यसअघि २०७६ सालमा महानगरले दिएको सम्मान भने सिंहले अस्वीकार गरेका थिए । त्यस्तै २०७८ को संविधान दिवसका अवसरमा सरकारले दिएको ‘सुप्रशिद्ध प्रबल जनसेवाश्री’ पदक पनि उनले अस्वीकार गरेका थिए । महानगर र सरकारले प्रदान गरेको सम्मानसमेत अवस्वीकार गरेका उनले अहिले जीवनको अन्तिम क्षणमा ग्रहण गरेको सम्मानलाई भने बालेनप्रतिको झुकावको रुपमा हेरिएको छ । काठमाडौं महानगर प्रमुख बालेनको शैली र काम गर्ने तरिकाबाट सिंह प्रभावित भएको बुझ्न सकिन्छ । जसले मेयर बालेनको समेत प्रशंसा भइरहेको अवस्था छ । यस्तै सिंहलाई बेलायतको लन्डन शहरका लर्ड मेयरले ‘लर्ड मेयर’ भनेर सम्बोधन गर्दा आफूलाई ‘किङ अफ स्विपर’ अर्थात्’ ‘कुचीकारका राजा’ भन्दै व्यंग्य गरेका थिए ।
सिंह नेपालमा संवैधानिक राजतन्त्र आवश्यक छ भन्ने पक्षमा वकालत गर्ने नेतासमेत हुन् । गणेशमानसँग परिवारका सदस्यभन्दा निकट मानिने पीएलको तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँगको मनमुटावपछि राजनीतिक सक्रियता सीमित हुन पुगेको थियो । राजनीतिको परम्परावादी धारलाई प्रतिनिधित्व गर्ने सिंहलाई पछिल्लो समय कांग्रेसलेसमेत बेवास्ता गर्दै आएको थियो । हक्की र निडर स्वभावका उनी पार्टी पंक्तीकै बेवास्ताका कारण वितृष्णा जागेपछि राजनीतिमा निष्क्रिय बनेका थिए । सिंहले वर्तमान पार्टी सभापति शेरबहादुर देउवालाई नेतृत्वमा पुगेदेखि भेटेका थिएनन् । देउवा पनि उनलाई भेट्न कहिल्यै गएनन् । तर, तिनै स्वाभिमानी हक्की पीएललाई पार्टी सभापति देउवाले चारतारे झन्डा ओढाएर सदाका लागि बिदाई गरे ।
प्रतिक्रिया