बंगलादेशमा अन्तरिम सरकारको नेतृत्व गरेका नेता मोहम्मद युनुसले सन् २०२६ को सुरुमा आमनिर्वाचन गर्ने घोषणा गरेका छन् । गत अगस्टमा बृहत विद्यार्थी आन्दोलनले पूर्वप्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गरेपछि कामचलाउ सरकारमा रहेका युनुस निर्वाचनको तयारीमा जुटेका हुन् ।
बंगलादेशमा आगामी एक वर्षभित्र निर्वाचन गर्ने अन्तरिम सरकारको नेतृत्वले घोषणा गरेको छ । बंलादेशमा विद्यार्थी आन्दोलनले गत अगस्टमा तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि अहिले त्यहाँ कामचलाउ सरकारको नेतृत्व छ । अन्तरिम नेता मोहम्मद युनुसले आगामी वर्षको अन्त्य वा सन् २०२६ को सुरुमा आमनिर्वाचन गर्ने घोषणा गरेका हुन् । हसिनाको सत्ताच्युत लगत्तै अस्थायी प्रशासनको नेतृत्व सम्हालेका उनले निर्वाचन गर्ने जिम्मेवारी स्वीकारेका थिए । उनका अनुसार बंलादेशमा अझै निर्वाचन हुन एक वर्ष लाग्ने छ ।
युनुसले एक सरकारी टेलिभिजनसँगको कुराकानीमा सन् २०२५ को अन्त्य वा सन् २०२६ को पूर्वाद्धसम्ममा निर्वाचनको मिति तय गर्न सकिने बताएका हुन् । गत अगस्टमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गर्ने विद्यार्थी नेतृत्वको विद्रोहपछि नोबेल शान्ति पुरस्कार विजेता युनुसलाई बङ्गलादेशको सरकारको नेतृत्व सुम्पिइएको थियो । उनले करिब १७ करोड जनसङ्ख्या रहेको बङ्गलादेशमा लोकतान्त्रिक संस्थाहरूको पुनःस्थापना गर्ने ‘अत्यन्त कठिन’ चुनौतीको सामना गरिरहेका छन् ।
युनुसले अहिले प्रशासन सुधारका लागि अनुगमन गर्न आयोग गठनमासमेत सक्रिय रुपमा लागिपरेका छन् । उपनिर्वाचनको मिति तोक्ने विषयमा राजनीतिक दलहरूसँग छलफलमा सक्रिय भएका छन् । उनले राजनीतिक दलले त्रुटिरहित मतदाता नामावली जस्ता न्यूनतम सुधारका साथ पहिलेकै मितिमा निर्वाचन गर्न सहमत भएमा नोभेम्बरको अन्त्यसम्ममा निर्वाचन गर्न सकिने बताएका छन् तर निर्वाचन सुधारको पूर्ण सूची समावेश गर्न केही समय लाग्ने हुँदा निर्वाचनको मिति नतोकिएको र ढिलाइ हुने उनको तर्क छ ।
हजारौं विद्यार्थी प्रदर्शनकारीले आन्दोलन चर्काएपछि ७७ वर्षीया हसिना देश छाडेर भारतको शरणमा पुगेकी छन् । यद्यपि, छिमेकी मुलुक भारत पुगेकी उनी पछिल्लो समय के गर्दै छिन् ? र कस्तो रणनीति बुन्दै छिन् भन्ने चासो सर्वत्र बढिरहेको छ । गत अगस्टमा भएको आन्दोलनमा सयौं नागरिकले ज्यान गुमाएका थिए । हसिनाको अवामी लिग पार्टीका प्रमुख समर्थकहरूविरुद्ध प्रतिशोधपूर्ण हत्यामा उनको पलायन पछिको केही घण्टामा कैयौं अवामी लिग समर्थक कार्यकर्ता पनि मारिएका थिए । उनको सरकारमाथि अदालत र निजामती सेवाको राजनीतिकरण गर्नुका साथै लोकतान्त्रिक नियन्त्रणलाई ध्वस्त पार्न एकतर्फी निर्वाचन गराएको आरोप पनि लागेको थियो । हसिनाको १५ वर्षे शासनकालमा व्यापक रूपमा मानव अधिकार उल्लङ्घन भएको आरोप लागेको बेला अहिले उनीमाथि बंगलादेशका ३५ सय व्यक्ति बेपत्ता पारेको प्रतिवेदन पेश भएको छ । यसले भारतको शरणमा निर्वासन जीवन बिताइरहेकी हसिना थप समस्यामा परेकी छन् ।
बंगलादेशमा मोहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले ३५ सय व्यक्ति बेपत्ता हुनुमा शेख हसिनालाई दोषी देखाएको छ । यो अनुसन्धानले प्रमाणित भएको जनाइएको छ । एक घटनाक्रममा जबरजस्ती बेपत्ता छानबिन आयोगले पूर्व प्रधानमन्त्री हसिना र धेरै वरिष्ठ अधिकारीहरू संलग्न रहेको पुष्टि गर्दै अन्तरिम प्रतिवेदन पेश गरेको छ । ‘सत्य खुलासा’ शीर्षकको प्रतिवेदनले यी मामिलाहरूमा ¥यापिड एक्सन बटालियनको भूमिका विवादास्पद भएकाले यसलाई खारेज गर्न पनि सिफारिस गरेको छ । बृहत् विद्यार्थी आन्दोलनपछि बंगलादेशकी प्रधानमन्त्री हसिना पदबाट राजीनामा दिँदै सैन्य विमान चढेर भारत भागेको करिब तीन महिना बितिसकेको छ ।
त्यसयता उनी सार्वजनिक रूपमा देखा परेकी छैनन् । सामाजिक सञ्जालमासमेत उनको कुनै पनि तस्वीर आएको छैन । यसले अब हसिनाको राजनीतिक भविष्य कसरी अघि बढ्ला ? उनी भारतकै शरणमा बस्छिन् वा स्वदेश फर्किएर राजनीतिमा पुनः सक्रिय हुन्छिन् ? भन्ने चासो बढिरहेको छ । यद्यपि, उनीविरुद्ध विभिन्न आरोपमा मुद्दा चल्ने भएकाले उनको स्वदेश फिर्ती त्यति सहज नभएको विश्लेषणसमेत भइरहेको छ ।
प्रतिक्रिया