काठमाडौं– टी–२० क्रिकेट भत्रे बित्तिकै चौका, छक्का जस्ता ठूला प्रहारको अपेक्षा हुन्छ । हेर्न र मनोरञ्जनका लागि पनि यस्तैमा नै मज्जा आउँछ । नेपाल प्रिमियर लिग एनपीएलमा पनि केही यस्तै दृश्य देखिने अपेक्षा गरिएको थियो । एक त तुलनात्मक रुपमा त्रिवि क्रिकेट मैदानको बाउण्ड्री पनि सानो र अर्काे विदेशी लिगमा ठूला ठूला प्रहार गर्ने खेलाडीहरूको आबद्धताले दर्शकहरू चौका र छक्काको तुफानी व्याटिङ हेर्ने पाइनेमा आशावादी थिए । आफूलाई ‘बिग हिटर’को रुपमा प्रमाणित गरिसकेका खेलाडीहरूको उक्त खेल कौशल हेर्न नेपाली क्रिकेट समर्थकहरू घरबाट त्यही अभिलाषाका साथ मैदान पुगिरहेका छन् । तर, जारी एनपीएलको लिग चरणसम्ममा दर्शकले सोचेअनुरुपको जस्तो खेल हुन सकेको छैन । एकाधबाहेक अधिकांश खेलहरू ‘लो स्कोरिङ’ कै भएका छन् ।
एनपीएलका लिग चरणमा हुने सबै २८ वटा खेल सम्पन्न भईसकेका छन् । तर, कुनै पनि टोलीले दुई सय रनको आँकडा छुन सकेन । पहिले ब्याटिङ गरेर १८० रन कटाउने जम्मा पाँच वटा खेल मात्रै भए । जसमा विराटनगर किंग्सले चेज गर्दै १९३ बनाउनु नै सबैभन्दा बढी योगफल रह्यो । यसबाहेक प्रतियोगितामा खास्सै हाई स्कोरको म्याच देख्न पाइएन । पाँच वटा खेलमा भने पहिले ब्याटिङ गर्दै १६० देखि १७० रनसम्म बनेको छ । चितवन र पोखराको म्याचमा १६१, सुदूरपश्चिम र काठमाण्डूको म्याचमा १६७, लुम्बिनी र पोखराबीचको म्याचमा १७०, चितवन र सुदूरपश्चिमको १६४, लुम्बिनी र चितवनको म्याचमा १६७ रन बनेको थियो । जसमा पोखराले मात्रै लुम्बिनीविरुद्ध १७६ रन बनाएर खेल जित्न सफल भएको थियो । त्यस्तै प्रतियोगितमा पहिले ब्याटिङ गर्ने १२ टोलीले १५० रनको आँकडा पनि छुन सकेन । २६ औं खेलमा विराटनगरले दिएको ११७ रनको लक्ष्य पच्छ्याएको काठमाण्डूले मात्र एक विकेटले जित दर्ता गराएको थियो, भने २७ औं खेलमा सुदूर पश्चिमले १५३ बनाउँदा पोखरा पाँच रनले पराजित भएको थियो । जन्मथलो विराटनगर भए पनि चितवन बस्दै आएका विराटनगरका समर्थक कल्याणकृष्ण तिमिल्सिना एउटै पिचमा धेरै खेल भएका कारण हाईस्कोरिङको म्याच धेरै हुन नसकेको बताउँछन् । “टि–२० भनेकै ब्याट्स्म्यान नायक र बलरलाई भिलेन जसरी हेर्न भए पनि एनपीएलमा त्यो देख्न पाएको छैन”, उनी भन्छन् । प्रतियोगिताकै लागि भनेर बनाईएको नयाँ पीच नै बलरलाई सहयोग पुग्ने भएकाले ब्याट्स्म्यानहरू सोचोअनुसार चल्न नसकेको सुदूरपश्चिमका समर्थक भूपेन्द्र बटालाको बुझाई छ । “मेन कण्डिसन भनेको पीच परिवर्तन हो”, बटाला बताउँछन् ।
त्यस्तै पाँच वटा लो स्कोरिङको खेल डिफेण्ड गरेर जितेको छ । एनपीएलको १३ औँ खेलमा कर्णाली याक्सले बनाएको १३३ रनलाई भेट्टाउने क्रममा विराटनगर १२६ रनमै समेटिएको थियो भने १४ औं खेलमा जनकपुरले १३६ रन बनाउँदा लुम्बिनी १३५ रनमा सीमित बत्र पुग्यो । त्यस्तै १८ औं खेलमा सुदूरपश्चिमले बनाएको १२३ रन पच्छ्याएको जनकपुरले ५१ रन मात्रै बनाउन सक्यो । जुन यस प्रतियोगितकै सबैभन्दा कम रनसमेत हो । १९ औं खेलमा काठमाडौंले दिएको १०४ रनको लक्ष्य पच्छ्याएको लुम्बिनी १९.२ ओभर खेल्दै ८५ रनमै अल आउट हुनपुग्यो । २२ औं म्याचमा कर्णालीले पहिले ब्याटिङ गरेर १२८ रन बनाउँदा लुम्बिनी १२३ रनमा सीमित बन्दा पाँच रनले स्तब्ध हुनु परेको थियो ।
२० औं खेलमा विराटनगरले टस जितेर ब्याटिङ गर्दै १४० रनको लक्ष्य दिएकोमा पोखराले पनि निर्धारित ओभरमा १३९ रन बनाउँदा खेल सुपर ओभरमा पुगेको थियो । यस्तै १० औँ खेलमा चितवनले पहिले ब्याटिङ गरेर १३१ रनको चुनौती दिँदा कर्णालीले एक बल बाँकी छँदामात्रै भेटायो । यद्यपि, घरबाट चौका छक्काको मज्जा लिन खेल हैन आएको भए पनि यदाकदा टी–२० मा ‘लो स्कोरिङ’ खेलहरू पनि रोमाञ्चक नै हुने कर्णाली याक्सका समर्थक कालीकोट घर भएका देवेन्द्र शाहीले महसुस गरेका छन् । “बलरहरूले राम्रो प्रदर्शन गरिरहेको देखिदा, ब्याटिङमा भने कमजोरी नै भएको छ ।” शाही अघि थप्छन्, हाईस्कोरिङ म्याच हेर्न भनेर आईन्छ तर, लो स्कोरिङमा नै डिफिट गर्दाको मज्जा नै भने फरक हुन्छ ।” सुदूरपश्चिम घर भएका जयेन्द्र राईंगाईं खेलाडीहरूले बिग हिट मात्र भन्दा पनि खेलको कण्डिसन हेरेर खेलेको टिप्पणी गर्छन् ।
लो स्कोरिङको खेल भएर लिग चरणका खेलहरू सकिदासम्म २९० वटा छक्का प्रहार भएका छन् । सात खेलमा ६ खेल जित्दै १२ अङ्क जोडेर पहिलो स्थानमा रहेर प्ले अफको यात्रा तय गरेको सुदूरपश्चिमले समान खेल खलेर १० अङ्क जोड्दै दोस्रो भएको जनकपुरसँग पहिलो क्वालिफायरका लागि भेट पक्का गरेको छ । सात खेलबाट चितवन, कर्णाली र काठमाण्डूले समान आठ अङ्क जोडे । तर, काठमाण्डू रन रेटमा पछि पर्दाको फाइदा कर्णालीले उठाउँदै चिवतसँगको एलिमिनेटरमा खेल्ने मौका सुरक्षित गरेको छ । त्यस्तै सबै खेल खेलेका विराटनगर र पोखराको समान चार÷चार अङ्क बटुलेर पाँचौ र छैठौं स्थानमा रहँदा एउटामा मात्रै जित निकालेको लुम्बिनीले अन्तिममा रहेर पहिलो संस्करणको याात्रा टुंग्याएको छ । अपेक्षाकृत रुपमा एनपीएलमा हाई स्कोर नबने पनि क्रिकेट समर्थकहरुमा देखिएको उत्साहले भने त्रिवि मैदानको रौनकमा कुनै कमी देखिँदैन । बेला बेलाको छक्का र चौकामा समर्थकको हुटिङले अहिलेको चिसो मौसममा पनि मैदानको माहोल भने गर्माउने गरेको छ ।
प्रतिक्रिया