समाचार

सहकारी प्रकरण : रविसहित ५१ जना प्रतिवादी, १ अर्ब ५१ करोड बिगो मागदाबी


काठमाडौं —पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ५१ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला प्रहरी कार्यालय कास्कीले बुझाएको छ । कास्की प्रहरीले सोमबार जिल्ला सरकारी वकि कार्यालयमा उक्त प्रतिवेदन बुझाएको छ । जसमा ५१ जनालाई प्रतिवादी बनाउन माग गरिएका कास्की प्रहरीका प्रवक्ता तथा डीएसपी वसन्तकुमार शर्माले बताए । अहिले प्रतिवादी बनाउन सिफारिस गरिएका मध्ये १४ जना मात्रै पक्राउ परेका छन् । बाँकी ३७ जना फरार रहेकाले उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

५१ जनाविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो मागदाबी गरिएको डीएसपी शर्माले बताए । सोबार सरकारी वकिल कार्यालयमा पुगेको उक्त प्रतिवेदन अध्ययन पश्चात जिल्दा अदालत कास्कीमा दर्ता हुनेछ । ५१ जनालाई प्रतिवादी बनाउन माग गरिएकाहरुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने, नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलगायत छन् । जोशीलाई ६ असोजमा प्रहरीले पक्राउ गरेको थियो भने लामिछानेलाई २ कात्तिकमा पक्राउ गरिएको थियो । यसका साथै नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, जीबी राईलगायतलाई पनि प्रतिवादी बनाइएको छ ।