राजनीति

गगन–देउवासँग एक्लै भिड्ने शेखरको तयारी


सत्तारुढ दल नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष छरपष्ट बन्दै गएको छ । पार्टीको १५ औं महाधिवेशन आउन अझै साढे एक वर्ष बाँकी छँदै संस्थापनइतर समूहले समानान्तर गतिविधि गर्न थालेको छ । शेखर कोइराला नेतृत्वको इतर समूह पार्टीको आधिकारिक कार्यक्रम बहिस्कारदेखि छुट्टै सम्पर्क कार्यालय स्थापनासम्मको अवस्थामा पुगेको छ । आगामी महाधिवेशन केन्द्रित गतिविधिमा शेखर समूह सक्रिय हुन थालेसँगै किन हतारो गरिरहेका छन् ? भन्ने लगायतका प्रश्नसमेत उठ्न थालेको छ ।

२०७८ साल मंसिरमा पार्टीको १४ औं महाधिवेशन सम्पन्न गरेको सत्तारुढ दल नेपाली कांग्रेसले विधानत तोकिएकै समयमा महाविधेशन गरे २०८२ मंसिरभित्र १५औं महाधिवेशन गरिसक्नु पर्छ । केन्द्रीय समितिको निर्णयअनुसार चार वर्षमै गर्ने कि विधानमा भएको व्यवस्थाअनुसार एक वर्ष थप गरेर पाँच वर्षमा गर्ने वा संवैधानिक व्यवस्थाअनुसार साढे पाँच वर्षभित्र महाधिवेशन गर्ने, कांग्रेस नेतृत्वलाई त्यो सुविधा छ । गोदावरीमा सम्पन्न महासमिति बैठकले महाधिवेशनको कार्यतालिका दिने अपेक्षा गरिए पनि केन्द्रीय समिति बैठकमा पुगेर तुहियो ।

महासमितिको प्रतिवेदन अनुमोदन गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकले महाधिवेशन समयमै गर्ने निर्णय गरेको थियो । अर्थात कांग्रेसले तोकिएकै समयमा महाधिवेशन गरे पनि अझै पुरै एक वर्ष बाँकी छ । पार्टीको विधानले दिएको सुविधाअनुसार सभापतिले एक वर्ष समय थपे वा संवैधानिक व्यवस्थाअनुसार थप ६ महिना लम्ब्याउँदा महाधिवेशनको मिति अझ पछि धकेलिने छ । अझै डेढ वर्ष बाँकी छ । त्यसो त विगतलाई हेर्ने हो भने निश्चित समयसीमाभित्रै कांग्रेसको महाधिवेशन भएको इतिहास कमजोर छ । संवैधानिक बाध्यतामा मात्रै महाधिवेशन गर्ने परिपाटी हावी छ ।

सभापति देउवाले आफ्नो अन्तिम कार्यकाललाई अस्त्र बनाएर उत्तराधिकारीको लोभ देखाउँदै समय लम्ब्याउने तिकडमबाजी गर्नु स्वभाविक नै मान्नु पर्छ । केन्द्रीय समितिमा निर्णायक देउवालाई महामन्त्री गगन थापासहित संस्थापनइतर समूहकै नेताहरुको पनि साथ रहेको छ । यस्तो अवस्थामा संस्थापन इतर शेखर कोइराला समूह भने सम्पर्क कार्यालय नै स्थापना गरेर महाधिवेशनको तयारीमा जुटेको छ । सधैँ पार्टी र सत्ताको प्रतिपक्ष बनेर विरोध गर्दैै आएका कोइराला पछिल्लो समय निरन्तर पार्टीभित्र पेलानमा छन् । शेखरका हरेक गतिविधि कांग्रेस पदाधिकारीले रुचाएका छैनन् । उनीहरुले नबोल्न दवाव दिनेदेखि खण्डनमै उत्रिँदै आएका छन् ।

पछिल्लो पटक सहकारी प्रकरणमा प्रहरी अनुसन्धानमा रहेका रास्वपा सभापति रवि लामिछानेको पक्षमा शेखरले दिएको अभिव्यक्तिपछि उनीमाथि पार्टी पदाधिकारीले नै नबोल्न दबाब दिएका थिए । यस्तै कोशी प्रदेशमा शेखर समूहको पालिका भेलाको केन्द्रले खण्डन नै ग¥यो । कोइराला परिवारकै साथ नपाएका कोइराला आफैँले उपसभापति बनाएका धनराज गुरुङ सहकारी प्रकरणमा डामिएपछि गुपचुप रुपमा उनी सत्ता निकट भएका छन् ।

जसले गर्दा देउवाको विरोध गर्न सक्ने अवस्थामा उनी छैनन् । महामन्त्री गगन थापा देउवाको उत्तराधिकारी बन्ने लोभमा देउवा क्याम्पमा मिसिएका छन् । कोशी विद्रोहसँगै पार्टीको आधिकारिक कार्यक्रम बहिस्कार गर्नेदेखि गुटगत भेलासमेत भ्याएका शेखर कोइराला सम्पर्क कार्यालय खोलेरै महाधिवेशन लक्षित गतिविधिमा लागेका छन् । समयमै महाधिवेशन गर्न दबाब दिनुका साथै आफ्नो पक्षलाई बलियो बनाउन उनी अहिलेदेखि नै सक्रिय भएको बुझ्न कठिन छैन ।

पार्टीभित्र असन्तुष्टि र मतभिन्नता बढ्दै जाँदा गुट अदलबदल, समानान्तर गतिविधिमा शेखर समूह सक्रिय भएको छ । १४ औँ महाधिवेशनमा पराजित भएपछि १५ औँ महाधिवेशनमा कसैगरी सभापतिको कुर्सी हत्याउने दाउमा छन् । जसले पार्टी समीकरणमा कमजोर भएको महसुस गरेर पनि कोइराला महाधिवेशनको हतारोमा रहेको बुझ्न सकिन्छ । आफ्नै समूहका नेताहरु थप बिच्किने डरले पनि उनी छिटो महाधिवेशनको तयारीमा जुटेको अड्कल गर्न सकिन्छ । देउवालाई दोहोरिएर सभापति बन्न विधानले रोकेको अवस्थामा अहिले देउवा समूहकै नेताहरु शेखरसँग सम्बन्ध मात्र सुधारिरहेका छैनन् कि १५ औँ महाधिवेशन लक्षित गतिविधिमासमेत सघाउन थालेपछि उनी थप हौसिएका छन् । शेखरको यो हतारोलाई कतिपयले एजेन्डा सेटिङको रुपमा अथ्र्यएका छन । संवैधानिक बाध्यतापछि मात्र महाधिवेशन गर्दै आएको कांग्रेसले यसैलाई निरन्तर दिने बुझाई उनीहरुको छ ।

त्यसो त विगतमा स्वर्गीय गिरिजाप्रसाद कोइरालाले सुशील कोइरालालाई कार्यबहाकको जिम्मेवारी तोकेको इतिहास भए पनि देउवाले भने संसदको उपनेता मात्र खाली राखेका छैनन् कि कार्यबहाक सुम्पिएको इतिहास नै छैन । फलतः देउवापत्नी आरजु राणादेखि नेताहरु एनपी साउद, मोहन बस्नेत लगायतका नेता शेखरसँग संवादमा रहेको खुल्न आएको छ ।

उत्तराधिकारीबारे मुख नखोल्ने र व्यवहारमा पनि नदेखाउने रणनीतिमा देउवा छन् । गत महाधिवेशनपछि केही समय देउवा र शेखर नजिक भएको चर्चा थियो । तर, पार्टी भित्र भुसको आगो सरी सल्किएको असन्तुष्टि धेरै समय लुक्न नसक्दा अहिले कांग्रेसमा स्पष्ट दुई गुट देखिएको छ । इतर समूहबाट चुनाव जितेका महामन्त्री गगन थापा देउवा क्याम्पमा पुगे पनि शेखरसँग अलग भएकै हुन् भन्नु हतार हुनेछ । यद्यपि सभापति देउवाको पदावधी सकिनु वर्षदिन अगावै सुरु भएको महाधिवेशन केन्द्रित नेताहरुको दौडधुप र इतर समूहको दबाबले कस्तो नतिजा दिन्छ ? त्यो थाहा पाउन अझै केही समय कुर्नै पर्ने हुन्छ ।