समाचार

शंकर र पीएसको चिन्ता : पार्टी डुब्न लाग्यो


एक महिना अघिसम्म आफ्नो लोकप्रियतामा रत्तिभर कमी नआएको बताउने एमालेमा एकाएक पार्टी जीवनको चिन्ता हुन थालेको छ । खासगरी स्थानीय तह उपनिर्वाचनको नतिजाले एमाले झस्किएको छ । महासचिवलगायका एमाले पदाधिकारीहरु नै यही शैलीले गए एमालेको भविष्य अन्धकारमा धकेलिने टिप्पणी दिनदिनै किन गरिरहेका छन् त ?

केपी शर्मा ओली प्रधानमन्त्री बन्नु र स्थानीय तहको उपनिर्वाचनसम्म एमालेको मनोबल उच्च थियो । मिसन–०८४ का विभिन्न अभियानमार्फत आगामी संसदीय निर्वाचनबाट बहुमत ल्याउने उसको तयारी थियो । तर, सरकारमा सहभागिता र उपनिर्वाचनको नतिजा नै उसका लागि भारी पर्दा पार्टीको जीवनमै उठाउने गरिएको प्रश्न थप सशक्त बन्न थालेको छ ।

पार्टीकै पदाधिकारी निष्क्रिय अवस्थामा पुग्नु, नयाँ र युवा पुस्ताको आकर्षण नहुनु तथा तल्लो तहका सक्रिय कार्यकर्ताहरु समेत नयाँ पार्टी र स्वतन्त्र शब्दको वकालत गर्नेहरुको पछि दौडदा एमालेजस्ता पुराना पार्टीहरु निकै संकटमा पर्न थालेका छन् । मंसिर २५ गते बसेको सचिवालय बैठकपछि एमाले यी सबै पक्षमा बल्ल झस्किएको छ । अपेक्षित परिणाम प्राप्त गर्न नसकेको निष्कर्ष निकालेको एमालेका महासचिव नै पार्टीको जीवनमा समस्या आइरहेको स्वीकार गर्दै यही शैली रहे राष्ट्रिय शक्ति बन्न समस्या हुने निचोडमा पुगेका छन् ।

गत मंसिर ७ गते मात्र एमालेले काठमाडौंको दरबारमार्गमा जागरण सभाको नाममा शक्ति प्रदर्शन गरेको थियो । त्यहाँ एमालेले एक लाख कार्यकर्ता उतार्ने दाबी गरेको थियो । तर ६ हजारको हाराहारीमा कार्यकर्ता उपस्थित भए । त्यलगत्तै प्रदेश स्तरका नेताहरुले एक लाखकै हाराहारीमा कार्यकर्ता उतारोको दाबी गरे पनि उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भने सभाहरुमा नेता कार्यकर्ताको न्यून उपस्थिति हुन थालेकोमा असन्तुष्टी जनाएका छन् । गुरुङले त घुमाउरो शैलीमा एकीकृत समाजवादी पार्टीजत्तिको हैसियत समेत नदेखिएको भन्दै असन्तोष जनाएका थिए ।

अर्थात, एमालेलाई तल्लो तहका आफ्नै नेता कार्यकर्तालेसमेत पत्याउन छाडेका छन् । शहरी क्षेत्रमा जनमत घटेको निष्कर्ष स्वयं एमालेले नै निकालेको छ । यस्तो अवस्थामा वैकल्पिक शक्तिहरुलाई विश्वास गरिहाल्ने अवस्था नबने पनि ग्रामिण परिवेशमा समेत एमालेको साख गिर्दै गएकोतर्फ एमाले नेतृत्व बल्ल हच्किएको देखिन्छ । अर्थात २०७९ सालको स्थानीय र आमनिर्वाचनमा एक्लै लड्दासमेत कांग्रेस माओवादीसहितको पाँच दलीय गठबन्धनसँग टक्कर लिएको एमाले २०८१ बैशाखमा इलाम–२ को उपनिर्वाचनमा विजयी भएपछि झनै हौसिएको थियो । यसलाई मिसन–०८४ सफलताकै रुपमा हेरेको एमाले त्यसको आठ महिनामै यही अवस्थामा गए बाटो सहज नभएको निष्कर्ष निकालिरहेको छ ।

तर, अध्यक्ष केपी शर्मा ओलीको भने अझै पनि समीक्षा र त्यसको गाम्भिर्यतामा ध्यान गएको देखिँदैन । किन कि सिद्धान्त नमिल्ने कांग्रेससँग केही नेता र आफू जोगिन गठबन्धन गरेको आरोपलाई उनले चिर्न सकिरहेका छैनन् । केही पपुलर जनप्रतिनिधिसँग अनावश्यक पंगा लिनेदेखि कुलमान घिसिङ लगायतहरुलाई चलाउनेसम्मका गतिविधिहरुले उनकै नेता कार्यकर्ताले उति मन पराएका छैनन् । फलतः नस्वीकारे पनि सत्तामा पुगेपछि पार्टी संकटमा परेको बुझेका ओलीले केही दिनअघि मात्रै आफ्नै कार्यकर्ता घण्टी हल्लाउँदै किन हिँड्छन् भन्दै प्रश्न गरेका थिए । तर, पदाधिकारीकै असन्तुष्टी सुन्न नसकेका ओली भने चिनियाँ कम्युनिस्ट पार्टीको श्रेष्ठतालाई नेपालसँग दाज्न खोज्दैछन् ।

एमालेको यो असफलताको ग्राफ हेर्दा, ०८४ मा एकल सरकार बनाउनेदेखि, साना दलहरु तह लगाउने र आफू एक नम्बरको पार्टी बन्ने सपना खण्डित गरिरहेको छ । माधव नेपालको पार्टी फुटाएर नेता तान्ने प्रयास गर्दा पार्टीकै नेतालाई सन्तुष्ट बनाउन नसक्नु, विरोधी आवाज ठेगान लगाउनु, इगोका भरमा पदाधिकारीहरुलाई जिम्मेवारीविहीन बनाइनु, सरकारमा बसेर पनि जनताका मुद्दा सम्बोधन गर्न नसक्नु, अझ कांग्रेस बोकेर जनवादी चीनको आर्थिक समृद्धिको सपना देखाउनु आफैँमा एमाले स्खलित हुनको अर्को कारण हो ।