समाचार

रविविरुद्धको अनुसन्धान प्रतिवेदन पेस गरिँदै


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । प्रहरीले उनीविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धान प्रतिवेदन तयार गरिरहेको छ । सोमबार उनीविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिने छ।
अनुसन्धान प्रतिवेदन तयार गर्ने काम भइरहेको कास्कीका एसपी श्यामबावु ओलियाले बताए ।

उनीविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी तथा किर्ते र संगठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउँदै छ । उनीविरुद्ध सम्बद्ध कसुरको सम्पत्ति शुद्धीकरण मुद्दा दायर हुनेछ ।

संसदीय विशेष छानबिन समितिले सूर्यदर्शन सहकारीको रकम गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको निष्कर्ष निकालेको छ । अपचलनमा संलग्न आरोपमा लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्ण गुरुङ पक्राउ परेका हुन् । पूर्वडीआईजी जोशी असोज ६ मा पक्राउ परेका थिए । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा ९० दिनभित्र उनीहरुविरुद्ध अदालतमा मुद्दा दर्ता गरिसक्नुपर्छ ।