काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच तिक्तता बढ्न थालेको छ । विगतमा तिक्तताकैबीच कांग्रेसलाई धोका दिएका उनीहरु अहिले फेरि सत्ता र प्रतिपक्षमा बसेर एकअर्कालाई गाली गरिरहेका छन् । तल्लोस्तरमा पुगेर उनीहरुबीच आरोपप्रत्यारोप जारी रहँदा प्रचण्डले ओलीमाथि चीन कार्ड खेलेकोसम्म आरोप लगाउन भ्याएका थिए । भलै ओलीसँगको भेटमा यो कुरा सच्याएका प्रचण्डले कहिले रवि लामिछाने बोकेर त कहिले कुलमान घिसिङ बोकेर ओलीमाथि प्रहार गरिरहेका छन् ।
ओली सरकार ढाल्न फेरि ढोक्सामा पार्न सकिने रणनीतिका साथ कांग्रेससँग भने नरम नै सुनिने उनी सरकार अधिनायकवादतर्फ उन्मुख भएको दाबी गरिरहेका छन् । यो सरकार भ्रष्टाचारका फाइल खोल्न थालेपछि नै बनेकोदाबी गरेका उनले प्रधानमन्त्री ओलीको नाम जोडिएको गिरीबन्धु टी–इस्टेटको भ्रष्टाचार लुकाउन सरकार सम्पूर्ण शक्तिका साथ लागिरहेको आरोपसमेत लगाए । यसबाहेक ओलीलाई संघीयता, समावेशी र गणतन्त्र मन नपरेको बताउने प्रचण्डलेदुई तिहाइको सरकार असफलतातर्फ गएको भन्दै सरकारको कामप्रति प्रश्नसमेत उठाएका छन् ।
यता प्रधानमन्त्री ओलीको आरोप पनि कम छैन । एमाले पार्टीले नै प्रचण्डले दुस्प्रचारका लागि युट्युबर पाल्ने गरेको निष्कर्ष निकाल्दा ओलीले उनलाई पहिलेबाटै राष्ट्रिय समस्या भन्दै आएका छन् । अहिले आएर देशमा नराम्रा कामहरुको नेतृत्व नै प्रचण्डले गरिरहेको आरोप लगाएका ओलीले आफू र एमालेविरुद्ध प्रचण्ड नेतृत्वको गिरोह नै लागिरहेको दाबी गरेका छन् ।
नेपाली राजनीतिमा सँगै हुँदा रामराम गर्ने र छुटिएपछि हराम करार गर्ने नौलो विषय भने होइन । त्यसमा पनि ओली प्रचण्डको सम्बन्धमा झन् यस्ता प्रवृत्ति बारम्बार दोहोरिँदै आएका कुरा हुन् । जुन कांग्रेसले चाहेको कम्युनिष्टबीचको तिक्ततालाई पूरा गर्ने आधारका रुपमा स्थापित हुने गरेको छ । यद्यपि यसअघि ओली प्रचण्डको आरोपप्रत्यारोप उत्कर्षमा पुगेकैबेला मिलनसमेत भएका उदाहरणहरु छन् । यसले अहिले उनीहरुको भिडन्त मुसुमुसु हेरिरहेको कांग्रेसले चाहे आफूविरुद्धको अवस्था सिर्जना गर्ने त होइन भन्ने प्रश्नसमेत उब्जाएको छ ।
यद्यपि राजनीतिक विश्लेषकहरु भने यसलाई नेताहरुको निचताको पराकाष्ठा भएको बताउँछन् । तर्क,विचार र विषयगत बहस सक्किएपछि जसले पनि छान्ने बाटो गालीगलौज नै भएको उनीहरुको तर्क छ । फलतः विचारविहीन र एजेण्डाविहीन तथा सत्ता लोलपुतामा रमाइरहेकाहरुले एकले अर्काको इज्जत उतार्नु नौलो विषय नभएको उनीहरुको टिप्पणी छ ।
(बाँकि भिडियोसहित)
प्रतिक्रिया