राजनीति

ओलीको चिन भ्रमण सफल भएन : प्रचण्ड


काठमाडौं — प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल नभएको निष्कर्ष निकालेको छ । शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले ओलीको चीन भ्रमणको क्रममा केही नयाँ सहमति नभएको निष्कर्ष निकालेको हो ।

बैठकको प्रारम्भ गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीनबिच भएको १० बुँदे ‘बीआरआई फ्रेमवर्क’ सहमति आफ्नो नेतृत्वको सरकारले अगाडि बढाएको योजनामा ओलीले सहमति गरेको बताएका थिए ।

यस्तै प्रचण्डले ओली सरकार चौतर्फी अलोकप्रिय बन्दै गएको, देश र जनताको हितमा भन्दा पनि भ्रष्टाचारीलाई संरक्षण गर्न बनेको पुष्टि भएकाले सरकारविरुद्ध सशक्त रूपमा खबरदारी गर्न निर्देशन दिएको गजुरेलले जानकारी दिए । यसअघि २० गते बसेको पदाधिकारी बैठकमा प्रचण्डले बीआरआई सम्झौताबारे अध्ययन गरेरमात्रै जवाफ दिने बताएका थिए ।