गत साउनमा संसदमा विश्वासको मत जुटाउन नसक्दा सत्ताच्युत हुन पुगेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्ष कित्ताको नेतृत्व गरेको झन्डै पाँच महिना पुग्न लाग्यो । सत्ता उथलपुथल र धोकाधडीपूर्ण राजनीतिक छवि बनाएका प्रचण्ड अहिले सत्ताभन्दा जनता केन्द्रित बनेका देखिन्छ । प्रचण्डको गतिविधि र अभिव्यक्तिहरुले प्रचण्ड साँच्चै सुध्रिएका हुन् कि सत्ता हत्याउने खेलोफाँडोमा छन् ? सबैको चासो बढेको छ ।
राष्ट्रिय राजनीतिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षी मोर्चा सम्हालेको लगभग पाँच महिना पुग्न लाग्यो । यत्तिका समय प्रचण्ड सत्ताबिना बस्न सकेका छन् । सत्ता हत्याउने चलखेलमा लागेको चर्चाका बीच यसको ठाडो विरोधसँगै आरोप पुष्टि गर्नसमेत चुनौती दिइरहेका छन् । अझ विकल्प भनिएका वैकल्पिक शक्तिहरु नै कमजोर हुँदा प्रचण्ड स्वयम् वैकल्पिक धारको नेतृत्व गर्न बाध्य छन् । गत साउन ६ गते संसदमा विश्वासको मत बटुल्न नसक्दा सत्ताच्युत भएका प्रचण्ड प्रतिपक्ष मोर्चामा समेत गतिलो सहयात्रीको अभाव झेलिरहेका छन् । उनी एक्लै दुई तिहाइ बहुमत प्राप्त सरकारको निगरानी गरिरहेका छन् ।
सडकदेखि सार्वजनिक मञ्चसम्मै कांग्रेस एमाले नेतृत्वको सरकारको बेथितिविरुद्ध खबरदारी गर्ने, ध्यानाकर्षण गराउने काम गरिरहेका छन् । दिन बिराएर जनतामाझ धाइरहेका प्रचण्डको अहिले आफू प्रधानमन्त्री हुँदा गरेका कामहरुको प्रचार र वर्तमान सरकारविरुद्ध आगो ओकल्ने दैनिकी बनेको छ । मंगलबार चितवन पुगेका प्रचण्डले आफूले गिरीबन्धुको फाइल खोल्न थालेसँगै सरकार फेरिएको दाबी गरे । गिरीबन्धुमा सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्ने र भ्रष्टाचारको फाइल खोलिनुपर्ने उनको जोड छ । अहिलेको सरकारको नेतृत्व गर्ने राजनीतिक दलमा सम्बन्धित मानिसहरु नै सबैभन्दा बढी सहकारी ठगीमा संलग्न रहेकोसमेत उनले आरोप लगाउन भ्याए ।
भ्रष्टाचारविरुद्ध सरकारको खेदो खनिरहेका प्रचण्ड प्रतिपक्षी दललाई बोक्नसमेत तयार भएका छन् । सहकारी प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको पक्षमा उनी खुलेरै उभिएका छन् । उनले लामिछाने सहकारी प्रकरणमा निर्दोष रहेको दाबी गर्दै आएका छन् ।
शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेयता संधै सत्तावरिपरि चक्कर लगाइरहेका प्रचण्ड २०७९ को आम निर्वाचनपछि सदनको तेस्रो शक्ति भएर पनि कहिले एमाले त कहिले कांग्रेसलाई आलोपालो प्रयोग गर्दै झन्डै डेढ वर्ष सत्तामा रजगज गरे । आफ्नो पटक पटकको सत्ता उलटफेर र धोकाधडीलाई राजनीतिक उथलपुथलको रुपमा उनले व्याख्या गरे । सत्ता गुमेपछि अब सत्ताको पछि नलाग्ने सत्ता केन्द्रित नभई जनता केन्द्रित हुने उद्घोष गरेका प्रचण्ड पछिल्लो समय हरहिसाबले वर्तमान सरकार खुइल्याउन सक्रिय देखिन्छन् । संधै सत्ताको दाउपेचमै लिप्त प्रचण्ड प्रतिपक्षमा पुगेपछि जसरी जनतामाझ पुगिरहेका छन् यो विषयलाई जनतालेसमेत सकारात्मक रुपमा लिएका छन् । जसको जवाफ मतमार्फत जनताले जाहेर गरेका छन् । हालै सम्पन्न स्थानीय तहको उपचुनावमा माओवादीले पाएको सफलता यसैको उपज हो । उपचुनावबाट हौसिएका प्रचण्ड जनताको मुद्दादेखि राष्ट्रिय राजनीति एवम् कुटनीतिक विषयका एजेन्डा लिएर सडकमै उत्रिन भ्याएका छन् । इजरायल प्यालेस्टाइनबीच लामो समयदेखि जारी युद्धको विषयमा सरकार चुप बसेको भन्दै उनले सडकमै उत्रिएर खबरदारी गरे । तर जब आफैँ सत्ता उथलपुथलको सिकार भए त्यस यता सत्ताको लोभ छोडेर प्रखर प्रतिपक्ष बन्ने होडमा प्रचण्ड देखिन्छन् । पार्टीका नेताहरुलाईसमेत त्यही ढंगले प्रशिक्षित गरेको बुझ्न कठिन छैन ।
सत्ता मोह त्यागेर खरो प्रतिपक्ष बन्न उद्यत प्रचण्डको यो रुप चुनावसम्मै कि क्षणिक वा मौका नपाएर ? भन्ने सवाल पनि उठ्ने गरेको छ । प्रचण्ड साँच्चै सुध्रिएका हुन् कि सस्तो लोकप्रियताको पछि दौडिरहेका हुन् ? यसतर्फ पनि चासो स्वभाविक रुपमा बढिरहेको छ । बीआरआई सहकार्य फ्रेमवर्कलाई लिएर सत्तारुढ गठबन्धनमा बढेको खटपटमा प्रचण्ड चुप बस्नु आफैँमा सामान्य विषय होइन । आन्तरिक राजनीतिक खटपटमा भूराजनीतिक दबाबले प्रचण्डलाई सहज बनाएको छ तर प्रचण्ड आफँै तत्काल उथलपुथलको मनस्थितिमा देखिँदैनन् । सत्तारुढ गठबन्धनकै आयुमाथि प्रश्न खडा हुँदासमेत प्रचण्ड प्रतिपक्षको वकालतमा रमाइरहेका छन् । उनी प्रतिपक्षी कित्तामा रहेका दलहरुलाई एकताबद्ध गर्ने कार्यमा समेत उति सक्रिय देखिएका छैनन् । यद्यपि, नयाँ शक्तिका रुपमा उदाएको रास्वपाप्रति भने उनको सान्त्वना बढ्दो देखिन्छ । रास्वपा सभापति लामिछानेको विषयमा प्रचण्डको अडानलाई कतिपयले राजनीतिक स्वार्थका रुपमा विश्लेषण गरेका छन् ।
रविप्रति साच्चिकै प्रचण्डको सान्त्वना जागेको हो कि रवि सकिँदा चितवनमा माओवादीको जनमत फर्किने र रास्वपाका समर्थकलाई आकर्षित गर्ने रणनीति अनुसार उनले त्यस्तो अभिव्यक्ति दिएका होइनन् ? यहाँ पनि प्रश्न उब्जाएको छ । साथै, बीआरआई सहकार्य फ्रेमवर्कमा भएको हस्ताक्षरपछि सत्ता गठबन्धनमा देखिएको खटपट र परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवाको सम्भावित दिल्ली दौडले प्रचण्ड बाहिरी रुपमा जति मौन छन्, भित्रभित्रै सरकार ढाल्न गोटी चाल्दै त छैनन् ? यसले पनि शंका बढाएको छ । युरोप यात्रामा रहेकी परराष्ट्रमन्त्री राणा त्यतैबाट सिधै दिल्ली जाने सम्भावित कार्यतालिका रहेको छ । परराष्ट्रमन्त्री राणाले दिल्लीबाट कस्तो सन्देश लिएर आउँछिन् ? र त्यसले आन्तरिक राजनीतिमा कस्तो प्रभाव पर्छ ? त्यो भने कुर्नै पर्ने हुन्छ ।
प्रतिक्रिया