खेलकुद

सन्दीप र रोहित एनपीएलमा असफल


नेपाल प्रिमियर लिग(एनपीएल) सुरु भएको १३ दिन बितेको छ । अब यसको समापन हुन ९ दिन बाँकी छ । एनपीएलको यात्रा यहाँसम्म आइपुग्दा प्रतियोगितामा कुन टिमको अवस्था कस्तो छ त ?

नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण सुरु भएको १३ दिन बितिसकेको छ । १३ दिनसम्म आइपुग्दा लिगमा हुने २८ खेलमध्ये २१ वटा खेल भइसकेका छन् । जसमा सबैभन्दा धेरै ६ खेल खेल्दै दश अङ्क बटुलेर जनकपुर बोल्ड्स पहिलो स्थानमा छ । पाँचौ जित हात पारेको जनकपुरले लिगको अन्तिम खेल खेल्नुअघि नै प्लेअफमा स्थान पक्का गरेको छ । एनपीएलको प्लेअफमा पुुग्ने जनकपुुर पहिलो टोली हो ।

दोस्रो स्थानमा ५ खेल खेल्दै आठ अङ्कसहित सुदूरपश्चिम रोयल्स दोस्रो स्थानमा छ । यस्तै पाँचमा तीन खेल जितेको चितवन राइनोज पनि छ अङ्कसंगै तेस्रो स्थानमा छ । यता कर्णाली याक्स पनि ५ खेलमा समान तीन खेल जित्दै ६ अंकका साथ चौथो स्थानमा छ ।

६ खेलमा २ खेल मात्रै जित हात पारेको काठमाडौँ गुर्खाज पाँचौ स्थानमा छ । पोखरा एभेन्जर्स ५ खेलमा २ खेल जित्दै छैटौँ स्थानमा छ । क्रमशः साताँै र आठौँमा रहेका लुम्बिनी लायन्स र विराटनगर किंग्सको प्लेअफमा पुुग्ने चाहना सकिएको छ । प्रतियोगितामा एक खेल खेल्न बाँकी भए पनि खराव प्रदर्शन गरेका यी दुुई टोलीको एनपीएलको पहिलो संस्करणमा नै उपाधि उचाल्ने सपनासमेत समाप्त भएको छ ।

बिहीबार भएको पहिलो खेलमा विराटनगर र पोखराबीच प्रतिस्पर्धा भएको थियो । विराटनगरले दिएको १३९ रनको लक्ष्य पछ्याएको पोखराले पनि ६ विकेट गुमाएर १३९ रन नै बनाएपछि खेल एनपीएलकै पहिलो सुपर ओभरमा पुग्यो । सुुपर ओभरमा विराटनगरका तर्फबाट कप्तान सन्दीप लामिछानेको फितलो बलिङ र पोखराका रेमर रेफरको विष्फोटक व्याटिङले पोखरा विजयी भयो । सुपर ओभरमा लामिछानेको बलमा रेफरले लगातार दुई छक्का एक चौकासहित १७ र आन्देश गोसको एक रनसँगै १८ रन बनाएको थियो ।

१९ रनको लक्ष्य पछ्याएको विराटनगरले जवाफी ब्याटिङमा ५ रन मात्र बनाउन सक्यो । विराटनगरका लागि मार्टिन गप्टिल र निकोलस किर्तनले दुई÷दुई रन बनाए भने वाइडबलका कारण अतिरिक्त एक रन प्राप्त गरेको थियो । यसैगरी बिहीबारै भएको दोस्रो खेलमा काठमान्डुले दिएको १०२ रनको लक्ष्य पछ्याएको जनकपुरले १५.५ ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाउँदै लक्ष्य पूरा ग¥यो । यता कर्णाली याक्सको भने प्लेअफमा पुग्ने सम्भावना कायमै छ । प्रत्येक टोलीको अङ्क तालिकामा त्यति धेरै अन्तर नहुँदा प्रतियोगिताका आगामी खेलहरू थप उत्सुकताले भरिने पक्का छ । एकपछि अर्को रोमाञ्चक खेलका लागि क्यानले पनि कुुनै कसुर बाँकी राखेको छैन । एनपीएलका खेलहरु अन्तिम चरणमा पुग्दै गर्दा विदेशी खेलाडीको आगमन भने अझै रोकिएको छैन ।

एनपीएल खेल्न आएका भारतीय क्रिकेटर शिखर धवन र युएईका क्रिकेटर रोहन मस्तफा केही खेल खेलेर स्वदेश फर्किदा वेस्ट इन्डिजका पूर्वक्रिकेटर ब्रायन लारा भने नेपाल आउँदैछन् । आफ्नो असाधारण ब्याटिङ अनि ठूलो स्कोर बनाउने क्षमताले संसारभर चर्चित दिग्गज क्रिकेटर लारा नेपाल आउन लागेको चर्चाले नेपाली क्रिकेटरका साथै समर्थकहरु थप उत्साहित बनेका छन् । एनपीएल खेल्नका लागि नभए पनि उनी खेल हेर्न मैदानमा उपस्थित हुनेछन् । वेस्ट इन्डिजका चर्चित क्रिकेटर लारा टेस्ट क्रिकेटको एकै इनिङमा ४०० रन बनाउने हालसम्मकै एक मात्र कीर्तिमानी ब्याट्सम्यान हुन् । उनको आगमनले नेपाली क्रिकेट जगतका लागि थप उत्साह र हौसला मिल्ने निश्चित छ ।