कांग्रेसले पटक पटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई ढुक्क भएर काम गर्न आश्वस्त पारिरहेको छ । तर, ओली भने पटक–पटक कांग्रेस सभापति शेरबहादुर देउवालाई १८ महिनापछि सत्ता हस्तान्तरण गर्ने अभिव्यक्ति अस्वभाविक रुपमा दिइरहेका छन् । प्रधानमन्त्री बनेपछि ओलीले ५ पटकसम्म समयावधि नै तोकेर सत्ता हस्तान्तरणको विषय उठाउँदा देउवाले पनि उत्तिकै तारिफ गरेका छन् । तर पनि सत्तारुढ दलभित्र किन एकअर्कामै विश्वास छैन त ?
सत्ता सहयात्री कांग्रेसले पटक पटक ढुक्क भएर काम गर्न भनिरहँदासमेत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने सरकार ढल्ने डरले तर्साइरहेको देखिन्छ । फलतः हरेक सार्वजनिक कार्यक्रममा उनले शेरबहादुुर देउवालाई सत्ता हस्तान्तरण गर्ने समयसीमा नै तोक्दै आएका छन् । कसैले नसोधेको प्रश्नको जवाफ तारन्तार दिइरहेका ओलीमा केको बेचैनी छ र आफ्नै कार्यकालको काउन्ट डाउन गरिरहेका छन् भन्ने प्रश्न उठेको छ ।
पछिल्लो पटक चीनमा भएको बीआरआई सम्झौतापछि कांग्रेसले ओलीको साथ छाड्न सक्ने आकलन गरिएको थियो । तर, ओली चीनबाट फर्किएको भोलिपल्टै देउवाले सबैलाई चकित पार्दै सरका नढल्ने ठोकुवा गरे । तर सोमबार मात्रै झापा पुगेर ओलीले फेरि १८ महिनापछि देउवालाई सत्ता हस्तान्तरण गर्ने वचन दोहो¥याए । यसले कांग्रेसले चिन्ता नगर्नु भन्दा पनि एमाले कोसँग झस्किरहेको छ भन्ने प्रश्न उब्जाएको छ ।
प्रधानमन्त्री बनेयता ६ पटकसम्म ओलीको एउटै अभिव्यक्ति
प्रधानमन्त्री ओलीले प्रधानमन्त्री नियुक्त भएयता पहिलोपटक साउन १५ गते सचिवहरुलाई निर्देशन दिँदै आफ्नो नेतृत्वमा दुई वर्ष सरकार चल्ने भएकाले दुई वर्ष पुग्नु एक हप्ता अघि नै राजीनामा दिने बताएका थिए ।
दोस्रोपटक प्रहरी दिवसका अवसरमा असोज ३० गते ओलीले दशैँ तिहारपछि सरकार ढल्ने हल्ला सुनिरहेको भन्दै एक वर्ष नामै महिनापछि देउवालाई सत्ता हस्तान्तरण गर्ने र त्यही समयमा सरकार आफैँ ढल्ने बताएका थिए ।
तेस्रोपटक कान्तिपुर कन्क्लेभमा ओलीले एक वर्ष आठ महिनापछि देउवालाई सत्ता हस्तान्तरण गर्ने र आगामी चुनाव उनैले गराउने बताएका थिए ।
चौथोपटक मंसिर ७ गते दरबारमार्गमा आयोजित जनसभामा ओलीले १८ महिना आफूर १८ महिना देउवाले सरकार चलाउने बताएका थिए ।
पाचौँँपटक ओलीले चीन भ्रमणबाट फर्कने क्रममा मंसिर २४ गते पन डेढ वर्षपछि देउवालाई सत्ता बुझाउने बताएका थिए । पछिल्लो समय छौठौँ पटक ओलीले आफ्नै गृहजिल्ला झापामा मंसिर २४ गते सहमतिअनुसार नै अघि बढ्ने र १८ महिनापछि सत्ता हस्तान्तरण गर्ने बताएका थिए । आन्तरिक कारण ओली सुरक्षित नै रहे पनि भारतीय आशीर्वादमा ओलीको सत्ता टिकेको भूराजनीतिका जानकारहरु बताउँछन् ।
जसरी ओलीले १८ महिनापछि सत्ता हस्तान्तरण गर्ने अभिव्यक्तिको श्रृंखला चलाएका छन् त्यसैगरी देउवाले पनि ओलीलाई विश्वासमा राख्ने प्रयास गरेका छन् । सय दिनको समीक्षापछि कात्तिक ९ गते ओलीको तारिफमा कुनै कसर बाँकी नराखेका देउवाले ओलीले धेरै राम्रो काम गरिरहेको भन्दै प्रशंसा नै गरेका थिए । कात्तिक १७ गते पनि देउवाले ओलीले साँच्चै राम्रो काम गरिरहेको दोहो¥याएका थिए । बीआरआईले सत्ता ढल्ने आशंकाका बीच ओली चीनबाट स्वदेश फर्किए लगत्तै पनि देउवाले सरकार पुुरै अवधि जाने बताएका थिए ।
तर, भूराजनीतिक विश्लेषक पौडेलको भनाइमा समर्थन जनाउन सकिने केही तथ्यहरु पनि भेटिएका छन् । अर्थात, चीन हाबी भइरहेका बेला पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति भारतीय झुकाव निकै बढिरहेको छ । अर्थात, ओलीलाई भ्रमणका लागि समेत निम्तो नपठाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रचण्डकी नातिनी स्मिताको विवाहमा आफ्नै हस्ताक्षरमा शुुभकामना सन्देश पठाएर प्रचण्ड आफ्नो विश्वास पात्र रहेको अप्रत्यक्ष सन्देश प्रवाह गरेका छन् । यसले भारतका लागि कम्फर्टेबल प्रचण्डमार्फत आन्तरिक मामिलामा मोदीले नै खेल्न खोजिरहेको स्पष्ट हुन्छ । त्यसमाथि प्रचण्डले फेरि कम्युनिस्ट मिल्न सक्ने संकेत गरेकोमा कांग्रेस झस्किएको छ ।
अब यहाँ प्रचण्डले ओलीलाई प्रधानमन्त्री मानेर समर्थन दिइहाले कसरी छैटौँ पटक प्रधानमन्त्री हुने भन्ने चिन्ता देउवामा रहँदा देउवाले प्रचण्डलाई नै फेरि प्रधानमन्त्री बनाइदिए के हुन्छ भन्नेमा ओलीको संशय देखिन्छ । विगतमा कांग्रेस एमाले मिलेर बनेका सरकारमा सहज सत्ता हस्तान्तरणको रेकर्ड नहुँदा ओलीले पटक पटक दिन गनेरै आश्वस्त पार्न खोजेको रुपमा कांग्रेसका नेताहरुले बुझेका छन् ।
ओलीमाथि कांग्रेसको पेलान, कांग्रेसकै संस्थापन इतर पक्षको असन्तुष्टि, नेपाल भारत सम्बन्धमा देखिएको सन्नाटा लगायतका कारण ओलीको डर स्वभाविक पनि देखिन्छ । तर, सत्ता हस्तान्तरण गर्ने इमान्दारिता नबोलीकन व्यवहारमै देखाउन पनि उनले सक्छन् । यसरी दिनैपिच्छै बोल्दै हिँड्नुले भित्रभित्रै केही पाकिरहेको छ भन्ने संकेत गर्दा सरकार ढाल्ने दिन गनेर बसेका विपक्षीलाई बल थपेको छ ।
प्रतिक्रिया