सरकार सञ्चालन र पार्टी महाधिवेशनको कलहले कांग्रेस स्पष्ट दुई भागमा बाँडिएको छ । कोशी प्रदेश भेलापछि बढेको विवादले कांग्रेसमा भुसको आगो सल्किएको स्पष्ट छ । त्यसमाथि आन्तरिक शक्ति संघर्षकै क्रममा बेलगाम बोलीले कांग्रेसकै बहुरुप प्रदर्शन हुन थालेको छ ।
अरु पार्टीमा नेतृत्वविरुद्ध बोलेकै भरमा कारबाहीको डर पाल्नु पर्ने अवस्थामा कांग्रेसमा भने त्यो छुट छ । तर, छुट यति धेरै छ कि पछिल्ला केही व्यवहारले असली कांग्रेस कुुन हो भन्ने छुट्याउनै हम्मे परेको छ । त्यसमाथि संस्थापन इतर पक्षका नेताहरुलाई एक वर्ष पहिल्यै महाधिवेशनले छुँदा अवस्था झनै भद्रगोल बनेको छ ।
एक पक्षलाई यो सरकार टिकाएर जसरी भए पनि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु छ । अर्को पक्षलाई सरकारका कामै मन परेका छैनन् । अर्कोतर्फ बीआरआई विवाद र गुटको झगडामा कांग्रेसका बहुरुपले हैरान पारेको छ ।
१. गुटको कलह
विधानअनुसार कांग्रेसको १५ औँ महाधिवेशन २०८२ सालको मंसिरमा हुुनुपर्छ । अर्थात महाधिवेशन आउन अब करिब एक वर्ष छ । तर, सभापतिलाई थप एक वर्षसम्म कार्यकाल लम्ब्याउन पाउने अधिकार पनि छ । संस्थापन इतर पक्षले समयमै महाधिवेशन गराउन दवाव दिइरहेको छ । यसलाई स्वभाविक मान्न सकिए पनि महामन्त्री गगन थापाले गुट फेरेपछि इतर पक्ष झनै आक्रामक बनेको छ ।
शेखर कोइरालाले गत मंसिर १८ गते कोशी प्रदेशको आफू पक्षका पालिका सभापतिहरुलाई मोरङ बोलाएर भेला गरेका थिए । भेला रोक्न गगन थापाले नै पत्राचार गर्नुपरेको थियो । तर शेखरले भेला राखी छाडे । समानान्तर गतिविधिको अभ्यास गरिसकेका शेखरले गत शनिबार सभापति देउवासमेत सहभागी भएको कोशी प्रदेश सम्मेलन नै बहिस्कार गरेपछि कांग्रेसमा भित्रभित्रै आगो सल्किरहेको बुझ्न समस्या छैन । यसको निशानामा गुट फेरेका गगन परेका छन् ।
बाइट… लोकेश ढकाल, नेता, नेपाली कांग्रेस
२. बीआरआई फ्रेमवर्क अर्को निहुँ
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा हस्ताक्षर भएको बीआरआई सम्झौता गोप्य राखिएको भन्दै शेखर पक्षले संसदमा छलफल गराउनुपर्ने माग राखेका छन् । कांग्रेसले आफ्नो अडान छाडेर कम्युनिस्टको लाइनमा हिंडेको भन्दै एक पक्ष आक्रोशित बन्दा बीआरआईमा ऋण ल्याए त्यसको जिम्मा प्रधानमन्त्रीले नै लिने भन्दै संस्थापन पक्ष पन्छिरहेको छ ।
३. सरकारको काममै दुईधार
एक पक्ष काम जे जस्तो भए पनि शेरबहादुर देउवाकै मुख हेरेर सरकार टिकाइ राख्नुपर्ने र गलत कामलाई समेत सही भन्नुपर्ने अवस्थामा रहँदा अर्को पक्ष भने अहिलेको सरकारबाट आशसम्म गर्न नसकिने बताइरहेको छ । सोमबार मात्रै नेता विमलेन्द्र निधिले सरकारले धेरै काम नगर्ने संकेत देखाइसक्दा काम गरोस् भन्नका लागि सहानुभूति समेत नभएको बताएका थिए ।
४. अर्का विरोधी सुनिल शर्मा
मेडिकल व्यवसायी तथा सांसद सुनिल शर्मा सुरुवातदेखि नै कांग्रेसको संस्थागत निर्णयको विरोधमा उत्रिँदै आएका छन् । पछिल्लो समय उनै शर्माले सरकार निरंकुश बन्दै गइरहेको सन्देश दिन बुधबार पत्रकार सम्मेलनको आयोजना नै गरेका थिए । जहाँ रवि लामिछानेमाथि सरकारले ज्यादती गरेकोसम्म आरोप लगाएका थिए । यतिमात्र नभई प्रतिपक्षमा हुँदा जीबी राई खोई ? भन्दै नारा लगाएका रमेश लेखक नै गृहमन्त्री बन्दा जीबी खोज्नुपर्छ कि पर्दैन भन्दै आफ्नै दलका नेतामाथि प्रहार गरेका छन् ।
बाइट.. सुनिल शर्मा, सांसद, नेपाली कांग्रेस
५. रवि प्रकरणमा उही चाल
अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको अड्डासारबारे विभिन्न प्रश्न उठेका छन् । मध्यरातमा जबरजस्ती शैलीमा चितवनबाट पोखरा लगिएको भन्दै मानव अधिकार हनन् भएको विषय सार्वजनिक हुँदा शेखर पक्षले प्रश्न उठाउँदा संस्थापक्षबाट गृहमन्त्री बनेका रमेश लेखक भने यो तर्कलाई हावादारी भनिरहेका छन् ।
६. मोहन बस्नेत– अर्का अराजक
पूर्वमन्त्रीसमेत रहेका कांग्रेसका सांसद मोहन बस्नेतले अर्को अराजक ताण्डव नृत्य देखाइरहेका छन् । आफ्नो निर्वाचन क्षेत्र सिन्धुपाल्चोक पुगेका बेला उनले माओवादीका अर्का सांसद माधव सापकोटालाई गर्धनमुनी रुख पारेर सखाप पार्ने धम्की नै दिएका छन् ।
तर, उत्तेजक भाषण दिएर गाउँ डुलिरहेका यीनलाई कांग्रेसले बोल्न छुट भएकै भरमा उन्मुक्ति दिइरहेको छ । कांग्रेस नेतृत्वले सत्ताको एकलौटी फेरो समात्दा पार्टी भद्रगोल बन्न थालेको छ । नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी त हो । तर, फरक फरक बोली रहेको दुई जिब्रे कांग्रेसको कुन कुरा पत्याउने ? स्वयं कांग्रेसकै कार्यकर्ता दोधारमा छन् ।
प्रतिक्रिया