डोनाल्ड ट्रम्पले अबको केही दिन पछि अमेरिकाको राष्ट्रपतिको पदभार सम्हाल्दै छन् । आगामी जनवरी २० मा शक्ति राष्ट्र अमेरिकाको प्रमुुख पदमा बस्नु अघि नै ट्रम्पले विभिन्न निर्णय गर्दै तरंगित पार्ने काम गरिरहेका छन् ।
डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औँ राष्ट्रपति बन्दै कार्यभार सम्हाल्ने तयारीमा छन् । अमेरिकाको पछिल्लो १०० वर्षको इतिहासमा चुनाव हारेपछि ह्वाइट हाउस फर्किने उनी पहिलो राष्ट्रपति हुन् । ट्रम्प यसअघि अमेरिकाको ४५ औँ राष्ट्रपति भएका थिए । पहिलो पटक राष्ट्रपतिमा उनले जेजे काम गरे पनि दोस्रो कार्यकालमा भने उनले अत्यन्तै हैरानी व्यहोर्नुका साथै कठिन निर्यणहरु लिने संकेत गरिसकेका छन् ।
नम्बर एक, नागरिकता नीति
डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मेकाहरूलाई स्वतः नागरिकता दिने नीति अन्त्य गर्ने भएका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछिको पहिलो अन्तरवार्तामा उनले यस्तो बताएका हुन् । अमेरिकामा जन्मिएकै आधारमा नागरिकता दिने नीतिलाई अन्त्य गर्ने उनको भनाइ छ । तर अमेरिकामा बालबालिकाका रुपमा ल्याइएका कागजातविहीन आप्रवासीलाई मद्दत गर्न डेमोक्रेटहरूसँग मिलेर काम गर्ने पनि बताएका छन् । आगामी जनवरी २० मा कार्यभार सम्हालेको पहिलो दिन आप्रवासन, ऊर्जा, अर्थतन्त्र समेतका अनगिन्ती कार्यकारी आदेश जारी गर्ने प्रतिबद्धता उनले जनाइसकेका छन् ।
नम्बर दुुई, मेक्सिकोसँगको सिमाना
ट्रम्पले मेक्सिकोसँगको सिमानामा थप कडाइ गर्ने नीति लिने संकेत गरिसकेका छन् । सीमाक्षेत्रमा मध्यअमेरिकी देशहरूबाट आप्रवासीको आगमनका क्रममा शान्ति सुरक्षामा बाधा पुगेमा मेक्सिकोसँगको व्यापारसमेत बन्द गरिदिने चेतावनी ट्रम्पले दिएका छन् । आवश्यक परेमा सीमास्थित सुरक्षा फौजलाई घातक शक्तिको प्रयोग गर्न आफूले अनुमति दिने उनले बताएका छन् । तारबारको थप नयाँ संरचना बनाउनेसमेत ट्रम्पको भनाइ छ ।
नम्बर तीन, चीनसंगको व्यापार
ट्रम्पको आगमनले चीनसंग थप तनावको स्थिति सिर्जना हुने छाँटकाँट देखिएको छ । चुनावी अभियानकै क्रममा ट्रम्पले बारम्बार चीनको हरेक सामानमा ६० प्रतिशत कर लगाउने जनाउँदै आएका छन् । यसले ट्रम्पको कार्यकालमा चीनसंग व्यापार युद्ध थप चर्किने सम्भावना छ ।
नम्बर चार, मध्यपूूर्वको युुद्ध
ट्रम्पले चुनावी अभियानकै क्रममा विश्वमा भइरहेको युद्धलाई रोक्ने बाचा गरेका थिए । खासगरी मध्यपूर्वमा बढेको द्वन्द्वमा ह्वाइट हाउसका नयाँ कमाण्डरको निर्णयले केही बदलाव ल्याउन सक्नेछ । उनको यो भनाइलाई विश्व समुदायले स्वागत गरेका छन् ।
नम्बर पाँच, तेस्रो लिङ्गीले सेनामा काम गर्न नपाउने
ट्रम्पले तेस्रो लिङ्गी व्यक्तिलाई कुनै पनि पदमा रहेर अमेरिकी सेनामा काम गर्न नदिने बताएका छन् । वरिष्ठ सैनिक अधिकारीहरु तथा विज्ञहरुसंगको सरसल्लाह पश्चात आफूले सो निर्णय लिएको ट्रम्पको भनाइ छ । तेस्रो लिङ्गीले सेनालाई औषधि खर्च तथा अन्य कारणले धेरै बोझ थप्ने उनले बताएका छन् ।
राष्ट्रपतिको कार्यभार सम्हाल्नु अगाडि नै ट्रम्पले गरेका विभिन्न निर्णयले यतिबेला अमेरिकाका साथै विश्व समुदायलाई तरंगित बनाइरहेको छ । उनले कार्यभार सम्हाले लगत्तै यी निर्णयहरु कार्यान्वयनको चरणमा जाने भएकाले अमेरिकाको नीतिमा ठूलो बदलाव हुने सम्भावना छ । यद्यपि, यसको असर के कस्तो देखिन्छ ? त्यो भने हेर्न बाँकी छ ।
प्रतिक्रिया