खेलकुद

NPLमा कस्ता रेकर्ड बने ? कुन टिम बलियो ?


नेपाल प्रिमियर लिग(एनपीएल) सुरु भएको ११ दिन बित्यो । अब यसको समापन हुन पनि ११ दिन नै बाँकी छ । एनपीएलको पहिलो हाफसम्म आइपुग्दा प्रतियोगितामा केके भए र कुन टिमको अवस्था कस्तो छ त ?

नेपाल क्रिकेट सङ्घ (क्यान)ले पहिलो पटक आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको ११ दिन बितिसकेको छ । ११ दिनसम्म आइपुग्दा लिगमा हुने २८ खेलमध्ये १७ वटा खेल भइसकेका छन् । जसमा सबैभन्दा धेरै चितवन राइनोज, कर्णाली याक्स र लुम्बिनी लायन्सले पाँच खेल खेल्दा सबैभन्दा कम काठमाण्डू गुर्खाजले तीन खेल मात्रै खेलेको छ । बाँकी चार फ्रेन्चाइज टोली जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स र विराटनगर किंग्सले समान चार÷चार खेल खेलेका छन् ।

जनकपुरले खेलेका सबै चारै खेलमा जित निकाल्दै आठ अङ्कसहित अङ्क तालिकाको शीर्षस्थानमा छ भने एक खेल हारेको सुदूरपश्चिम छ अङ्क बटुलेर दोस्रो स्थानमा छ । त्यस्तै पाँचमा तीन खेल जितेको चितवनको पनि छ अङ्क नै भए पनि रनरेटमा पछि पर्दा तेस्रो स्थानमा छ । कर्णाली पनि समान अङ्कसहित चौथो स्थानमा छ । एक खेल मात्रै जितेर दुई अङ्क जोडेको काठमाण्डू, पोखरा, विराटनगर र लुम्बिनी क्रमशः पाँचौ, छैठौं, साताँै र पुछारमा छन् ।

प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको लिस्टमा चितवनका दुई खेलाडी छन् । पाकिस्तानी बलर सोहेल तन्वीर र नेपालका युवा पेस बलर रिजन ढकालले समान नौ÷नौ विकेट लिएका छन् । तन्वीरले पाँच इनिङमा १८.२ ओभर बलिङ गर्दा एक मेडनसहित ५.१२ को इकोनोमीले ९४ रन खर्चेका छन् । त्यस्तै रिजनले १७.५ ओभरमा एक मेडन राख्दै साढे सातको इकोनोमीले एक सय २९ रन दिएका छन् । काठमाण्डूविरुद्ध चार ओभरमा पाँच विकेट लिएर २१ रन खर्चेका तन्वीरको बेष्ट बलिङ फिगर हो भने पोखराविरुद्ध तीन ओभरमा मात्र १० रन खर्चेर तीनै विकेट लिनु रिजनको उत्कृष्ट प्रदर्शन रहेको छ ।

रोहित कुमार पौडलले पाँच खेलमा १८९ बलको सामना गर्दै ५२ रनको औसतले १३८ को स्ट्राइकबाट २६१ रन बनाएर सर्वाधिक रन बनाउने खेलाडीको पहिलो सूचीमा छन् । जसमा उनको पोखराविरुद्ध ९५ रनको शानदार इनिङसहितको अर्धशतक पनि सामेल छ ।


एनपीएलमा पहिले ब्याटिङ गरी सर्वाधिक योगफल बनाउने रेकर्ड तालिकाको पुछारमा रहेको लुम्बिनीको नाममा छ । लुम्बिनीले आफ्नो पहिलो खेलमा विराटनगरविरुद्ध १९१ रन बनाएको थियो । इनिङमा सबैभन्दा कम रन बनाउने टोली भने पोखरा बनेको छ । चितवनले दिएको १६२ रनको चुनौती पछ्याउने क्रममा पोखरा १३.२ ओभर खेल्दै सबै विकेट गुमाएर ७४ रनमा नै सीमित बनेको थियो ।

अहिलेसम्मको खेलाडीको ब्याटबाट एक शतकसहित १८ अर्धशतक निस्किसकेको छ । प्रतियोगिताको एकमात्र शतक पोखराका आन्द्रे गौसले लुम्बिनीविरुद्ध १०४ रन प्रहार गरेका थिए । रोहित र चितवनका रवि बोपाराले दुई अर्धशतक हिर्काइसकेका छन् भने जनकपुरका मिलन्था र कप्तान अनिल शाह, सुदूरपश्चिमका सेफ जैब, दीपेन्द्रसिंह र ब्रेन्डन म्याकमुलन, कर्णाली याक्सका शिखर धवन र देव खनाल, लुम्बिनीका विवेक यादव, विराटनगरका लोकेश र मार्टिन गप्टिल, चितवनका हसन इसाखिलले अर्धशतक प्रहार गरेका छन् । यसैबीच, एनपीएलमा सहभागीमध्ये सबैभन्दा चर्चित विदेशी अनुहार भारतीय क्रिकेटर शिखर धवन भने चारवटा खेल खेलेर स्वदेश फर्किसकेका छन् ।

कर्णाली याक्सबाट चार खेल खेल्ने सम्झौताअनुसार उनी नेपाल आएका थिए । उनले विराटनगर, काठमाण्डू, जनकपुर र चितवनविरुद्धको खेल खेले । कुल चार खेलमा उनले १३६ रन बनाए भने काठमाण्डूविरुद्ध सर्वाधिक ७२ रन बनाएका थिए । भारत फर्किनु अघि उनी सगरमाथाको बेस क्याम्प घुम्न गएका थिए । उनले आगामी मार्चमा फेरि नेपाल घुम्न आउने र घुँडाको चोटबाट मुक्ति मिले एनपीएलको अर्को सिजनसमेत खेल्न आउने बाचा गरेका छन् । एनपीएलकै बीच आफ्नो ३९ औँ जन्मदिनसमेत उनले त्रिवि मैदानमा मनाएका थिए ।

त्यसक्रममा त्रिवि मैदानमा छुट्टै माहोल सिर्जना भएको थियो । क्रिकेट खेलको जन्मदाता राष्ट्र इंल्याण्डदेखि क्रिकेटमा सर्वाधिक सफल टोली अष्ट्रेलियाका पूर्वक्रिकेटरले समेत एनपीएलको प्रशंसा गर्दै एसोसिएट राष्ट्रहरूले आयोजना गर्ने फ्रेन्चाइज लिगमध्ये पहिलो संस्करणको एनपीएल अब्बल रहेको दाबी गरिरहेका छन् । विश्व क्रिकेट जगत्का हस्तीहरू शिखर धवन, तन्वीर सोहेल, जिम्मी निशम, मार्टिन गप्टिल, बेन कटिङ, रवि बोपारा, जस्ता खेलाडीको उपस्थितिले पनि लिगको यहाँसम्मको यात्रा सफल भएको छ । कर्णाली याक्स अझ प्ले अफमा पुग्ने सम्भावना अझै पनि आठ वटै फ्रेन्चाइज टोलीको भएको हुँदा लिगका खेल थप रोमाञ्चक हुँदै गएका छन् । प्रत्येक टोलीको अङ्क तालिकामा त्यति धेरै अन्तर नहुँदा प्रतियोगिताका आगामी खेलहरू थप उत्सुकताले भरिने पक्का छ ।