समाचार

अवहेलनासम्बन्धी मुद्दामा रास्वपाका नेताहरूसँग लिखित जवाफ माग


काठमाडौं — सर्वोच्च अदालतले अदालतको अवहेलनासम्बन्धी मुद्दामा रास्वपाका नेताहरूसँग लिखित जवाफ माग गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले मंगलवार रास्वपाका नेताहरूसँग लिखित जवाफ माग गर्ने आदेश गरेको हो । अनुसन्धानको चरणमा रहेका रवि लामिछानेको विषयलाई जोडेर अदालतप्रति मानहानि हुने गरी सार्वजनिक रुपमा अभिव्यक्ति दिएर अदालतको मानहानि गरेको भन्दै अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए ।

सुरुमा अवहेलना निवेदन सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । दरपिठ विरुद्ध इजलासमा निवेदन दिएपछि दर्ता भएको थियो । अवहेलना निवेदनमा रास्वपाका केन्द्रीय पदाधिकारीसमेतले न्याय निरूपण प्रक्रियाको उपहास गरी सभा गर्ने, न्यायपालिका बारे तथ्यहीन र आधारहीन कुरा जनतामा फैलाउने लगायतका कार्य गरी स्वतन्त्र न्यायपालिका माथि जनमानसमा भ्रम सिर्जना गर्ने काम गरेको दाबी गरिएको छ।