काडमाडौँ – कप्तान रोहित पौडेलले ब्याट र बलमा उत्कृष्ट प्रदर्शन गरेपछि लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ ।
रोहितले ब्याटिङ र बलिङ दुवैमा ‘कप्तान लिड फ्रम दी फ्रन्ट’ भनेजस्तै सानदार अलारउण्ड प्रदर्शन गरेपछि लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले हराउँदै पहिलो जितको स्वाद चाखेको हो । रोहितले ब्याटिङमा ८० रन बनाए भने बलिङमा ४ विकेट लिए ।पहिलो जितपछि लुम्बिनीले पाँचौ खेलमा अंक खाता खोलेको छ ।
रोहितकै ४ विकेट प्रदर्शनमा १६८ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले पूरै २० ओभर खेल्दा पनि ८ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो ।चितवनका लागि लुक बेन्केनसटाइनले सर्वाधिक ३१ रन बनाउनबाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । कप्तान कुशल मल्ल २०, रवि बोपारा १२ र सन्तोष कार्की १० रन बनाएर आउट भए ।
दशौँ नम्बरमा ब्याटिङ गरेका नरबहादुर शार्कीले १२ बल खेल्दै अविजित २२ रन बनाए । उनले एक चौका र एक छक्का प्रहार गरे । रिजन ढकालले १४ बलमा अविजित १५ रन बनाए ।
रामोन सिमोण्ड्ससँगै नयाँ बलमा बलिङ गरेका रोहितले ४ ओभरमा १७ रन मात्र खर्चेर ४ विकेट लिएका हुन् । मुख्य बलरहरुले विकेट लिन संघर्ष गरिरहँदा रोहितले पार्ट टाइम स्पीन बलिङबाट विपक्षीको विकेट झारेका हुन् ।
प्रतिक्रिया