सरकार ढल्ने खड्को टारेपछि प्रधानमन्त्री केपी शर्मा ओली मन्त्री हेरफेरको तयारीमा छन् । करिब आधा दर्जन मन्त्री हेरफेर र केही मालदार मन्त्रालय साटफेरकै तयारी सत्ता गठबन्धनको छ । यसैबीच सरकारलाई थप स्थिर बनाउन कांग्रेस महामन्त्री गगन थापालाई अर्थमन्त्री बनाउने चर्चासमेत चुलिएको छ ।
चीन भ्रमणसँगै केपी शर्मा ओली नेतृत्वको सरकारबारे विभिन्न संशय थिए । बीआरआई फ्रेमवर्कमा हस्ताक्षतर भइसकेपछि पनि कांग्रेस एमालेबीच निकै कलह थियो । तर, १८ महिनापछि सत्ता हस्तान्तरण गर्ने ओलीको बोली र खटपट नरहेको शेरबहादुर देउवाको सार्वजनिक अभिव्यक्तिले तत्काललाई गठबन्धन टुट्ने भय सकिएको देखिन्छ । योसँगै सत्ता साझेदार र कांग्रेस र एमाले मन्त्री फेर्ने तयारीमा जुटेका छन् ।
हुन त प्रधानमन्त्री ओलीले मधुमासमै मन्त्रीहरुको कार्यसम्पादनमा असन्तोष व्यक्त गरेका थिए । मंसिर १२ गते भएको मन्त्रीहरुको त्रैमासिक समीक्षा बैठकमा ओलीले सोचेअनुसारको काम हुन नसकेकोमा असन्तोष व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले गृहजिल्ला झापाको भ्रमण सकेलगत्तै मन्त्री हेरफेरबारे छलफल चलाउने आश्वासन दिएको बुझिएको छ । खासगरी केही मन्त्री फेर्ने र मन्त्रालय नै साटफेर गर्नेसम्मकै तहमा छलफल चलिरहेको छ । त्यसको केन्द्र भावमा कांग्रेस महामन्त्री गगन थापा देखिएका छन् । ओलीले गत असारमै गगनलाई मन्त्रीको रुपमा ल्याउन खोजे पनि असफल भएका थिए । अहिले फेरि त्यही प्रयास थालिएको छ ।
गठबन्धनमा गृह र अर्थ मन्त्रालय साटफेरको बहस चलेको छ । अर्थात अहिले कांग्रेसले सम्हालेको गृह मन्त्रालय एमाले र एमालेले सम्हालेको अर्थ मन्त्रालयको नेतृत्व कांग्रेसलाई दिने मोटामोटी तयारी छ । अर्थमा गगनलाई अघि सार्न देउवा र ओली दुबै सहमत रहेको बताइन्छ । गगन पनि उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी पाए मन्त्रिपरिषद्मा सहभागी हुने तयारीमा रहेको बुझिन्छ । ओलीको चीन भ्रमणमा बीआरआई पारित गराउन महत्वपूर्ण भूमिका खेलेका गगनलाई पुरस्कार दिने तयारीमा गठबन्धन देखिन्छ ।
एमालेमा पनि गुटको कलहका कारण विष्णु पौडेललाई अर्थ मन्त्रालयबाट हटाउन तीब्र दबाब रहेको बुझिन्छ । पार्टीमा महासचिव शंकर पोखरेल र उपाध्यक्ष पौडेलको द्वन्द्व पुरानै हो । यसअघि लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनाउनेदेखि हालै एमालेकै एक प्रदेशसभा सदस्यमाथि गरिएको कारबाहीले समेत पौडेल दबाबमा रहेको बुझिन्छ । यो पक्षले पौडेललाई यसअघि पनि अर्थमन्त्री बन्नबाट रोक्ने प्रयास गरेको थियो । तर, पृथ्वीसुब्बा गुरुङ र पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको अघोषित पक्षका कारण ठाउँ पाएका थिए । शंकर पोखरेल आफ्ना विश्वास पात्रलाई मन्त्री बनाउन चाहँदा पौडेल र ओलीबीच खटपट रहेका विषय सार्वजनिक भएका हुन् । तर, पौडेल भने यो तर्कको खण्डन गरेका छन् ।
मन्त्री फेरबदल कांग्रेस र एमाले दुबैको आन्तरिक कलह व्यवस्थापनका लागि समेत आवश्यक देखिएको छ । तर, कांग्रेसमा भने मन्त्रालय साटफेर गर्दा रमेश लेखक मन्त्रीबाट आउट हुनुपर्नेछ । अहिले विपक्षी कित्ता छोडेर गगन पनि देउवा गुटमै आएपछि, आरजु राणासहित गगन र लेखक एकै कित्तामा हुने छन् । त्यसमाथि सहकारी प्रकरणमा लेखकले गगनलाई पहिलेदेखि नै साथ दिएकाले उनको मन्त्री खुस्काएर आफू मन्त्री बन्ने रिस्क लिन गगनलाई पनि सहज भने छैन । तर, लेखकले लिएको गृह एमालेले लिए गगन अर्थमन्त्री बन्दा कसैलाई नचिढ्याई अघि बढ्ने विकल्पमासमेत छलफल चलेको छ । अहिले कांग्रेसको विपक्षी खेमाको सरकार विरोधी आवाज कमजोर भएको फाइदा उठाउँदै गगनलाई मन्त्री बनाए, सरकार झनै बलियो हुने लाइन देउवा–ओलीको पनि छ ।
यसबाहेक आधा दर्जन मन्त्रीहरु रेड जोनमा छन् । पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, उद्योगमन्त्री दामोदर भण्डारी, वनमन्त्री ऐनबहादुर शाही ठकुरी, शिक्षामन्त्री विद्या भट्टराई, भूमि व्यवस्था मन्त्री बलराम अधिकारी र सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता लगायतलाई फिर्ता बोलाउने तयारी छ । जनमतबाट सहभागी राज्यमन्त्रीलाई फिर्ता बोलाएर जसपा नेपाललाई सहभागी गराउने र मधेश प्रदेशको नेतृत्व कांग्रेसले लिने गरी समेत छलफल चलिरहेको स्रोत बताउँछ । यो सबै गरेमा १८ महिनापछि सरकार छाड्ने ओली र छटौँपटक प्रधानमन्त्री बन्ने देउवाको सौभाग्य पनि पूरा हुनेछ ।
प्रतिक्रिया