सहकारी ठगीप्रकरणमा हिरासतमा रहेका रवि लामिछानेमाथि प्रहरीले गरेको व्यवहारबारे प्रश्न बलियो बन्न थालेको छ । सत्तापक्ष आफ्नो बचाउ र प्रतिपक्ष मुद्दा बनाउने बाटोमा रहँदा मानव अधिकार आयोगको इन्ट्रीले लामिछानेको घटनामा नयाँ मोड ल्याएको छ । फलतः प्रहरी महानिरीक्षकदेखि गृहमन्त्री नै जवाफ दिनै पर्ने अवस्थामा पुग्दा राजनीतिक दलका नेताहरुसमेत बोल्न बाध्य बन्दैछन् ।
प्रहरीले कम आँकेको र सरकारले पेलेरै जान्छु भन्ने सोचेको रवि लामिछाने प्रकरणमा दलका नेतादेखि सरकारसम्म तानिएका छन् । अड्डासारका नाममा उनीमाथि गरिएको अमानवीय व्यवहार कुनै पनि बहानामा छोपिने स्थिति नबनेपछि अवस्था पेचिलो बनेको छ ।
एकातर्फ यो विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिँदा विपक्षीको राजनीतिकसाथसमेत पाएको छ । आयोगले यो विषयमा बुझ्न प्रहरीका अधिकारीहरूलाई सोमबार आफ्नो कार्यालयमा बोलाएको थियो। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर राजधानी बाहिर रहेको भन्दै दुई प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ र दानबहादुर कार्की आयोगको कार्यकक्षमा पुगेका थिए। अर्थात दोहोरो बोली र अक्षमताका कारण सबैभन्दा बढी प्रश्नमा रहेका महानिरीक्षक कुँवरले आयोगलाई छल्दा आयोगले भने महानिरीक्षकबाटै उत्तर खोजेको छ ।
अहिले चितवन प्रहरीको नेतृत्वसमेत यसमा तातिने अवस्थाले गृहमन्त्री रमेश लेखकमाथि नै नैतिकताको प्रश्न छ । यसबाहेक रवि प्रतिनिधिसभाकै सदस्यसमेत हुन् । फलतः आफ्नै सभाका सदस्यमाथि प्रहरीको हर्कतबारे सभामुख किन मौन? भन्ने प्रश्न उठ्दा नैतिकताको प्रश्नमा रामहरि खतिवडासमेत परेका छन् । किनभने खतिवडा अहिले राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य हुन् ।
जुन समितिमा रास्वपा सांसदा डा.चन्दा कार्कीले रवि प्रकरणलाई उठाँउदा अदालती प्रक्रियामा रहेको विषयमा निर्देशन दिन नमिल्ने उनको तर्क थियो । खतिवडा अहिले कुनै पार्टीको नेताभन्दा संसदीय समितिका सभापति हुन् । उनले दिनुपर्ने निर्देशन कुनै आरोपितको पक्षमा नभई थुनुवामा रहेका व्यक्तिप्रति भएको मानवअधिकार हनन्को विषय हो । फलतः उनको तर्क उनीमाथि नै भारी पर्दा डा.शेखर कोइराला नै बोलेपछि कांग्रेससमेत दवावमा छ ।उसकै गृहमन्त्री रहनु र आफूलाई लोकतन्त्रको हिमायती ठान्ने गर्दा यो प्रकरणमा शेखर कोइरालाले उठाएको प्रश्न जायज बन्दै गएको छ । जसको उत्तर दिनेभन्दा प्रश्न उठाउने आवाज बन्द गर्नतर्फ लागेर कांग्रेसले आफ्नै धज्जी उडाएको छ ।
यो बीचमा नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष डा.बाबुराम भट्टराईले रविलाई भेटेर ढाडस दिइसकेका छन् । त्यस्तै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलेसमेत रविमाथि अमानवीय कार्य भएको बताउँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेतबोलेका छन् । सोमबार सामाजिक सन्जालमार्फत उनले अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा लामिछानेमाथि सरकारले गरेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गरेका छन् । त्यसप्रकारको व्यवहार रोक्न उनले आग्रह गर्दा यसमा प्रतिपक्षी ध्रुव एक ठाँउमा देखिएको छ ।
हुन त रास्वपा नेताहरुले रविकोडायरी हराएकोदेखि प्रहरी महानिरीक्षकले नै थर्काएकोसम्मको आरोप लगाएको छ । त्यस्तै मादक पदार्थ सेवन गरेका प्रहरीले उठाएको र गाडीमा नचढे बलप्रयोग गर्न नपरोस भनेर जबरजस्ती गरेकोसम्म उनीहरुको दाबी छ । यदि यो प्रमाणित भए नेतासँगै महानिरीक्षक र संगै प्रहरी संगठनको कर्तुत छर्लङ हुनेछ । तर यो प्रमाणित गर्ने दवाव अहिले माहौल तातिएपछि मख्ख परेको रास्वपा नेताहरुमाथि पनि छ ।
प्रतिक्रिया