Breaking

उपराष्ट्रपतिले पुगेन, पुनलाई चाहियो माओवादीको उपाध्यक्ष


प्रतिपक्षमा पुगेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब पार्टी सुधारमा ध्यान दिने बताउँदै आइरहेका छन् । तर, प्रचण्ड भने राज्यको उच्च ओहोदामा पुगेर राजनीतिबाट विश्राम लिने बाटो खुलिसकेका नन्दबहादुर पुनलाई नै पार्टीमा स्वागत गर्न आतुर देखिन्छन् ।

दुई कार्यकाल राष्ट्रपति भएर पनि पुनः पार्टीको राजनीतिमा फर्कने हुटहुटी बोकेकी विद्यादेवी भण्डारीको मनोरथको विवाद अझै सेलाइसकेको छैन । बेला बखतमा पूर्वराष्ट्रपति भण्डारी नेकपा एमाले फर्किने विषय चर्चामा आइरहन्छ । तर, धेरैले सवालजवाफ उठाइरहेको अवस्थामा उनको प्रयास सफल हुन सकेको छैन । यसैमा भण्डारीलाई पछ्याउँदै उनकै पालामा उपराष्ट्रपति भएका नन्दबहादुर पुन पासाङ दलगत राजनीति गर्न तम्सिएका छन् ।

पार्टी सदस्यता परित्याग गरी दुई कार्यकाल उपराष्ट्रपति बनेका पुनलाई नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै फेरि सक्रिय राजनीतिमा फर्काउन लागिपरेका छन् । जनयुद्धकालदेखि नै प्रचण्डनिकट रहेका पुनले उपराष्ट्रपति पदबाट हटे पनि राज्यबाट कुनै सेवा सुविधा नलिएकाले प्रचण्डकै जोडबलमा सक्रिय राजतीतिमा फर्किन तयार भएका हुन् । पुन माओवादी केन्द्रको पदाधिकारी बैठकमा निरन्तर सहभागी हुन थालेका छन् ।

गत मंसिर २० गते बिहीबारको पदाधिकारी बैठकमा पनि सहभागी भएका उनी त्यसअघि गत कात्तिक २६ गते बसेको स्थायी समिति बैठकमासमेत सहभागी भएका थिए । राजनीतिमा आउन खुट्टा उचालिरहेका पुन माओवादी निकट कार्यक्रममा स्पष्ट रुपमा देखिन थाल्दा पार्टीमा नयाँ उर्जा थप्ने काम नै उनले गरिरहेका छन् ।

पूर्व उपराष्ट्रपति पुनका पारिवारिक अपराधको लिस्ट लामै छ । उनका छोरा दीपेश पुन नक्कली भूटानी शरणार्थीदेखि सुन तस्करी र सहकारी ठगीसम्मकै अपराधमा नाम जोडिएका पात्र हुन् । तर, नक्कली शरणार्थी र सुन तस्करीमा सूक्ष्म अनुसन्धानमा तानिएका उनी सहकारी ठगीमा भने धरौटीमा रिहा भएका छन् ।

त्यस्तै उनका अर्का छोरा जितेन्द्र पुन पनि सुन तस्करीमा मुछिँदा अझैसम्म फरार नै छन् । उनकी कान्छी बुहारी सविना आलेमगरमाथि पनि आइतबार मात्रै सहकारी ठगीमा पक्राउ पुर्जी जारी भएको छ । ६० किलो सुन तस्करीमा संलग्न रहेका दावा लामासँगको सम्बन्धले पनि पुन परिवारलाई थप विवादित बनाएको छ ।

परिवारमाथि निरन्तर प्रश्न उठ्दाउठ्दै पनि पूर्व उपराष्ट्रपति पुन राजनीतिबाट टाढिनु पर्ने बेलामा फेरि फर्किने तयारीमा छन् । जसले पारिवारिक रुपमै बद्नाम पुन परिवारलाई संरक्षण गर्न उनी राजनीतिमा फेरि सक्रिय हुन लागेको त होइन ? भत्रे प्रश्न गर्ने ठाउँ दिएको छ ।

दुई पटक उपराष्ट्रपति भएर राज्यको उच्च ओहोदामध्येको एक पदमा पुगिसकेका व्यक्तिलाई उपाध्यक्ष बनाएर राजनीतिमा स्वागत गर्न प्रचण्ड रेड कार्पेट बिछ्याउन आतुर छन् । तर, अहिले नै पार्टीमा वरीयतामा मनमुटाव भइरहँदा पुनको हुन सक्ने आगमनलाई लिएर वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू असन्तुष्ट छन् । पार्टीको आन्तरिक किचलोकै कारण पार्टीमा उनलाई स्वागत गर्ने निर्णय अनुमोदन गर्न ढिलाई भइरहेको छ ।

स्वतन्त्रबाट उम्मेदवार बनेर प्रमुख भएका काठमाडौं महानगरपालिकाका बालेन्द्र शाह बालेन र धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ राईलाई गणतन्त्रको सुन्दर फूल भनेका प्रचण्डले नयाँ पुस्तालाई स्वागत गरिरहँदा, यता दुईपटक उपराष्ट्रपति भइसकेका र उमेरले पनि राजनीतिबाट विश्राम लिनु पर्नेलाई भित्र्याउन चाहनुले बोली र व्यवहारमा तारतम्यता मिलेको देखिँदैन । साथै पूर्वउपराष्ट्रपति पुनलाई राजनीतिमा फेरि फर्काउने प्रचण्डको चाहना र त्यसमा राजी भएका उनको भित्री रणनीति अहिले नै नखुले पनि केही आशंका गर्ने ठाउँ भने देखिन्छ ।।