विद्रोहीले राजधानी कब्जा गरेपछि सिरीयाका राष्ट्रपतिले देश छोडेकाछन् । यसअघि अफगानीस्तान, श्रीलंका र बंगलादेशका राष्ट्रप्रमुखले देश छोडेको घटना ताजै भएका बेला सीरियामा पनि त्यसको बाछिटा परेको छ ।
लामो समयदेखि गृहयुद्ध झेलिरहेको सिरियामा इस्लामिक विद्रोहीले राजधानी कब्जा गरेपछि राष्ट्रपति बसद अल असाद देश छोडेर भागेकाछन् । सेनाले असदले देश छोडेको पुष्टि गर्दै उनको शक्ति समाप्त भएको जनाएको छ। विद्रोही समूह र सेनाबीच विगत ११ दिनदेखि भिडन्त चलिरहेको थियो। विद्रोही लडाकुहरूले आइतबार बिहान राजधानी दमास्कसमा प्रवेश गरेपछि, असदले देश छोडेका हुन् । सिरियाको राजधानी दमास्कससँगै, अलेप्पो, हामा, होम्स र दारा जस्ता चार प्रमुख सहर पनि विद्रोहीहरूले कब्जा गरिसकेका छन्। जारी युद्धका कारण सिरियामा ३ लाख ७० हजार मानिस विस्थापित भएका छन्। राजधानीसहित सिरियाका मुख्य शहरमा असदको पदच्युतपछि मानिसहरू उत्सव मनाइरहेका छन्।
यसका साथै, असदको ५० वर्षे शासनको अन्त्य भएको छ। बसर अल असद सन् २००० मा राष्ट्रपति बनेका थिए । त्यसअघि उनका बुवा हाफेज अल असद सन् १९७१ देखि सन् २००० सम्म देशको राष्ट्रपति थिए। विद्रोही समूहले सिरियामा नयाँ युगको शुरुवात भएको घोषणा गरेका छन्। असदलाई रुस र इरानको पूर्ण समर्थन प्राप्त थियो। तर अमेरिका, इजरायलसहित पश्चिमा देशहरूले भने असद सरकारको विपक्षमा देखिएपछि उनको सत्ता च्यूत भएको हो ।
उता, इजरायली सेना गोलान हाइट्समा प्रवेश गरेको छ। अन्तराष्ट्रिय संचारमाध्यम सीएनएनका अनुसार विद्रोहीहरूले असदको खोजी जारी राखेका छन्। केही समाचारमा असद र उनको परिवार रुस गएको दाबी गरिएको छ। यद्यपी यसको स्वतन्त्र पुष्टि भएको छैन ।
यसअघि, अफगानिस्तान, श्रीलंका र बंगलादेशका राष्ट्रप्रमुख पनि देश छोडेर भाग्य बाध्य भएका थिए । गत अगस्टमा बंगालादेशकी प्रधानमन्त्री शेख हसिना, विद्यार्थी आन्दोलन चर्किएपछि ज्यान जागाउन देश छोडेर भागेकि थिइन् । उनि अहिले भारतको शरणमा छिन् । हसिना प्रकरण सेलाउन नपाउँदै फेरि सिरीयाका राष्ट्रपति ज्यान बचाउन भागेको विषय बाहिर आएको हो ।
किन भइरहेको छ युद्ध ?
२०११ मा राष्ट्रपति बसर अल–असदविरुद्ध शान्तिपूर्ण र लोकतन्त्र समर्थक विद्रोह गृहयुद्धमा परिणत भयो । यसले सिरियालाई ध्वस्त पा¥यो । यो विद्रोहमा क्षेत्रीय र विश्व शक्तिहरू पनि संलग्न थिए । त्यसयता यस युद्धमा पाँच लाखभन्दा बढी मानिस मारिएका छन् । एक करोड २० लाख मानिस घर छोड्न बाध्य भएका छन् । तीमध्ये करिब ५० लाख मानिस शरणार्थीछन् जो विदेशमा शरण खोजीरहेकाछन् ।
सिरियाको राजधानी दमास्कसमा विद्रोही समूहले राष्ट्रपति असदको बहिर्गमनको घोषणा गर्दै ‘हामी दमास्कस शहरलाई स्वतन्त्र घोषणा गरेका छौँ’ भन्दै सडकमा विजय उत्सव मनाइरहेका छन् ।
विद्रोही समूले राजधानी दमास्कस कब्जा गरेपछि अमेरिकाले पहिलोपटक प्रतिक्रिया दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सिरियामा भइरहेका ‘अप्रत्याशित घटना’लाई नजिकबाट नियालिरहेको भनेकाछन् ।
यसैबीच, सिरियाली प्रधानमन्त्री मोहम्मद गाजी अल जलालीले आफू दमास्कसमा रहेको र जनताको हितमा काम गर्न तयार रहेको बताएका छन् । यता विद्रोहीहरूले विगत पाँच दशकदेखि असदको शासनबाट विस्थापित भएका वा जेलमा परेका मानिसहरू अब फर्कन सक्ने बताएका छन् । विद्रोहीले भनेका छन्, “यो नयाँ सिरिया हुनेछ जहाँ सबैले शान्तिका साथ बस्न सक्नेछन् । सिरियामा कसको नेतृत्वमा सरकार बन्छ भन्ने कुराले पनि आगामी दिनको अवस्था तय गर्नेछ ।
प्रतिक्रिया