Breaking

डोनल्ड लुले भेटे प्रचण्डलाई


काठमाडौं— अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । आजै काठमाडौं आएका लुले अध्यक्ष प्रचण्डलाई प्रचण्डकै निवास खुलमटार पुगेर भेट गरेका हुन् । भेटमा अध्यक्ष प्रचण्डले अमेरिकी सहायक विदेशमन्त्री लुको नेपाल भ्रमण फलदायी हुने विश्वास व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

त्यस्तै, नेपाल र अमेरिकाबीच लामो समयदेखिको सम्बन्ध रहेको उल्लेख गर्दै यस्ता भ्रमण र भेटवार्ताले आपसी सम्बन्धलाई थप बलियो बनाउने विश्वास प्रचण्डले व्यक्त गरेका छन् । नेपालको शान्ति प्रक्रिया राष्ट्रिय सहमतिका साथ मौलिक रुपमा सम्पन्न हुन थालेको जानकारी गराउँदै अध्यक्ष प्रचण्डले यसमा अन्तर्राष्ट्रिय समुदायको सद्भावका लागि धन्यवाद समेत दिए ।

अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएको तनावप्रति नेपालको गहिरो चासो रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसबाट नेपालमा पर्नसक्ने असरप्रति आफूहरु संवेदनशील रहेको बताए । नेपाली युवा विपिन जोशी अहिलेसम्म पनि बेपत्ता रहेको घटना नेपालका लागि चिन्ताको विषय रहेको उल्लेख गर्दै उनले हालै उनी जीवितै रहेको इजरायली पक्षबाट जानकारी आउनु सुखद भएको र जतिसक्दो चाँडो जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यान जानुपर्ने बताए ।