नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार भएको खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ । कर्णाली याक्सले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले पूरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १२६ रन मात्र बनाएपछि कर्णालीले रोमाञ्चक जित हात पारेको हो । सुरुवाती दुई खेलमा पराजित भएको कर्णालीले त्यसयता लगातार दुई खेल जितेको हो । विराटनगरका लागि निकोलस किर्टोनले सर्वाधिक ४० रन बनाए । ३९ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे । लोकेश बमले १९ तथा दिपक बोहराले १८ रन जोडे ।
बलिङमा कर्णाली याक्सका नन्दन यादवले ४ ओभरमा १९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । विपिन शर्मालेले ४ ओभरमा १ मेडन राख्दै २० रन खर्चेर २ विकेट लिए । सोमपाल कामी, विलियम बोसिस्टो र युनिश ठकुरीले समान १ विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले विलियम बोसिस्टो र देव खनालको अर्धशतक मदतमा निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १३३ रन बनाएको थियो ।
प्रतिक्रिया