अन्तर्राष्ट्रिय

मोदी भेटेर भुटानका राजा नेपाल किन आए ?


भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक शुक्रबार करिब ५ घण्टा काठमाडौंमा बसेर स्वदेश फर्किएका छन् । शुक्रबार बिहान भारतको दिल्लीबाट काठमाडौं ओर्लिएका नाम्ग्यालले स्वयम्भू र बौद्धनाथमा पूजाअर्चना गरे ।

अनौपचारिक रुपमा नेपाल भ्रमणमा आएका छिमेकी मुलुक भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक स्वयम्भू र बौद्धनाथको दर्शन गरेर स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार राजनीतिकभन्दा पनि तिर्थाटनका लागि शुक्रबार नेपाल आएका राजा नाम्ग्याल बिहान ९ः५५ मा त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले विमानस्थलमा उनलाई स्वागत गरेकी थिइन् ।

त्यसपछि उनी विमानस्थलबाट बिहान साढे १० बजे सिनामंगल–तिनकुने–नयाँ बानेश्वर–माइतीघर–थापाथली–त्रिपुरेश्वर–टेकु–कालिमाटी–ताहाचल–छाउनी हुँदै पौने ११ बजे स्वयम्भूनाथ पुगेका थिए । केहीबेर प्रार्थन र अवलोकन पछि तस्वीर खिचाएका राजा जिग्मे त्यहाँबाट कमडोल–भगवान पाउ–शोभा भगवती–सोह्रखुट्टे–लैनचौर–केशरमहल–नारायणहिटी संग्रहालय गेट–जयनेपाल हल–कृष्ण पाउरोटी–ल्होत्से चोक–ज्ञानेश्वर–रातोपुल–गौशाला–चाबहिल–चुच्चेपाटी हुँदै करिब सवा १२ बजे बौद्धनाथको अवलोकन गर्न पुगेका थिए ।

झन्डै एक घण्टा बौद्धस्तुपामा बिताएका राजा जिग्मेले पूजाआजा पनि गरे । त्यतैबाट उनी सिधै विमानस्थलका लागि निस्किएका उनलाई परराष्ट्र मन्त्री डा. आरजुले नै बिदाई गरेकी थिइन् । उनी दिउँसो २ः४० को फ्लाईटमा स्वदेश फर्किए ।
भुटानका राजाको काठमाडौं आगमनलाई लक्षित गरी सुरक्षा व्यवस्था चुस्त पारिएको थियो । गत बुधबार नै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उनको सुरक्षा प्रबन्धका लागि नेपाली सेनाले रिहर्सल गरेको थियो । नेपालमा रहँदा उनले कसैसँग पनि औपचारिक भेटघाट भने गरेनन् ।

राजा जिग्मे दुईदिने भारत भ्रमण सकाएर नेपाल आएका हुन् । भारतको औपचारिक भ्रमणका क्रममा उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । भेटवार्तापछि १४ बुँदे संयुक्त वक्तव्य जारी भएको थियो । मोदीका निकट मानिने उनले दुई महिनाअघि नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहलाई भुटान भ्रमणमा आमन्त्रण गर्दै अघोषित रुपमा राजकीय सम्मानका साथ स्वागत गरेका थिए । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट स्वदेश फर्किएको भोलिपल्टै भुटानका राजा सिधै भारतबाट तिर्थाटनका लागि नेपाल आउनुलाई संयोगको रुपमा लिइएको छ ।

व्यक्तिगत भ्रमणको सिलसिलामा काठमाडौं आएका उनले नेपालका कुनै पनि राजनीतिक दलका नेतासँग भेट गरेनन् । त्यसो त प्रधानमन्त्री ओली चीन भ्रमणमा रहँदै गर्दा दुई दिनअघि मंसिर १९ गते नै भुटानी राजा नेपाल आउने कार्यक्रम सार्वजनिक भएको थियो । काठमाडौंमा नै जन्मिएका जिग्मेको सम्बन्ध नेपालसँग पुरानो छ । ४५ वर्षअघि उनी थापाथलीस्थित प्रसूति गृहमा जन्मिएका थिए ।

उनका बाबु जिग्मे सिग्मे वाङचुक भुटानको राजगद्दीमा बसे पनि छिरिङ याङ्दोन औपचारिक रूपमा रानी घोषणा भइसकेकी थिइनन् । सिन्धुपाल्चोकको तार्केघ्याङका तत्कालीन औतारी लामा कुशे छेचु डुक्पा लामा वर्तमान राजा नाम्ग्यालकी आमाका मामा थिए । नाम्ग्यालकी आमा छिरिङ याङ्दोनले आफ्नो गर्भमा रहेको बच्चा छोरा होस् भत्रे कामना गर्दै खोटाङको हलेशी महादेवमा भाकलसमेत गरेकी थिइन् । खासमा भुटानी राजा काठमाडौँमा जन्मेका मात्र थिएनन्, उनको बाल्यकालसमेत यही बितेको थियो । ५–६ वर्षको उमेरसम्म काठमाडौँमै बिताएका उनलाई स्कुल पढ्ने उमेर भएपछि भुटान लगिएको थियो ।